• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

पार्टी अध्यक्षमा ओली नै सर्वसम्मत : योगेश भट्टराई


नेकपा (एमाले)का सचिव एवम् प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको १४ औं महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मत चयन गर्ने
बताएका छन्।सचिव भट्टराईले पार्टीको नेतृत्व चयन सर्वसम्मतिले भए अध्यक्षमा ओली नै चयन हुने बताएका हुन् ।शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले

विगतका आठौं र नवौं महाधिवेशनमा भएको खुला चुनावले पार्टीलाई विभाजनको तहसम्म पुर्‍याएकोले दशौं महाधिवेशनमा पार्टीको नेतृत्व सर्वसम्मत ढंगले चयन गर्नुपर्नेमा आफूहरु जोड रहेको तर्क समेत गरे ।सचिव भट्टराईले पार्टीमा समूह बन्दीको अवस्था आउन नदिन पनि सहमतिमै नेतृत्व चयन गर्न उपयुक्त हुने बताए । सहमतिमा नेतृत्व चयन नभए प्रतिनिधिहरू जो कोहीले पनि नेतृत्वको दावी गर्न पाउने उनले स्पष्ट पारे ।सचिव भट्टराईले भने, ‘पार्टीको नेतृत्व सर्वसम्मत हुन्छ । त्यो सर्वसम्मत हुने अवस्थामा केपी ओली पार्टीको अध्यक्ष हुनुहुन्छ । मिसन के छ भने एमाले यसपटक सर्वसम्मत ढंगले नेतृत्व चयन गर्ने । किनकि हामीले आठौं महाधिवेशनमा खुला चुनाव गर्यौं । नवौंमा पनि खुला चुनाव गर्याैं । त्यो चुनावको अनेकौं असल पक्षहरू पनि थिए, नेतृत्वको चुनाव हुँदा । तर त्यसको कमजोरी पक्ष के रह्यो भने त्यसले पार्टीमा तलदेखि माथिसम्म समानान्तर विभाजनको अवस्था ल्यायो ।

समूह बन्दीको अवस्था ल्यायो । पार्टी विभाजनसम्म हामी भोगी राखेका छौं । यो तितो अनुभवबाट शिक्षा लिँदै यसपटक हाम्रो जोड छ कि–पार्टीमा सहमतिका साथ नेतृत्व चयन गर्ने । एसो गर्दा ए, बी, सी जो पनि हुनसक्छ । त्यो हाम्रो कोसिस छ । र त्यो भएन भने हरेक मान्छेले आफूले चाहेको ठाउँमा प्रतिस्पर्धा गर्न पाउँछ । त्यसको निम्ति कुनै बन्देज छैन ।’सचिव भट्टराईले पार्टीभित्र विभिन्न विचार समूहबाट आएका नेताहरु रहेको उल्लेख गर्दै महाधिवेशनले उनीहरु सबैको सम्मानजनक ढंगले व्यवस्थापन गर्ने पनि बताए ।

महाधिवेशनमा एमालेले दियो प्रधानमन्त्री देउवालाई निम्तो

नेकपा एमालेले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीको १० औं महाधिवेशनमा आमन्त्रण गरेको छ । एमाले नेता सुवास नेम्वाङ र राजन भट्टराईले प्रधानमन्त्रीको निवास बालुवाटार पुगेर देउवालाई महाधिवेशनमा अतिथिका रूपमा निम्तो दिएका हुन् ।

एमालेको निम्तो स्वीकार गर्दै देउवाले आफू एमाले महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुने बताएका छन् । देउवाले महाधिवेशनका लागि शुभकामना दिएको नेम्वाङले बताए । ‘तपाईहरुलाई महाधिवेशनका लागि शुभकामना छ । तपाईंहरूको महाधिवेशनमा म आइहाल्छु नि । म नआएर हुन्छ ?,’ देउवाले भनेका थिए । एमालेको १० औं महाधिवेशन मंसिर १०–१२ गते चितवनमा हुँदै छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ३ गते शुक्रवार