• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

लालबाबु पण्डितले अस्वीकार गरे केन्द्रीय सदस्य पद, संगठित सदस्य बाहेक सबै जिम्मेवारी परित्याग


चितवन । नेकपा एमालेका नेता लालबाबु पण्डितले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।पदाधिकारीमा दाबी गर्दै आएका पण्डितलाई केन्द्रीय कमिटी सदस्यहरुको
सूचीमा राखिएको थियो । त्यसप्रति असन्तुष्टि जनाउँदै पण्डितले सम्पूर्ण कार्यकारी पदबाट विदा लिएको घोषणा गरेका छन् ।सोमबार सामाजिक सन्जालमा पूर्वमन्त्री पण्डितले लेखेका छन्

‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’ कुराकानीमा नेता पण्डितले अब पार्टीको संगठित सदस्य मात्र भएर बस्ने बताए ।आफूले केन्द्रीय सदस्यमा पहिले नै उठ्दिन भने पनि अहिले केन्द्रीय सदस्यमा राखेकाले अस्वीकार गरेको बताए । ‘केन्द्रीय सदस्यमा उठ्दिन भनेकै थिएँ । अब पदाधिकारीमा बागी उठ्दिन । अब म पार्टीको कार्यकारी भूमिकामा नरहेर संगठित सदस्य भएर काम गर्छु’ उनले भने ।

केन्द्रीय सदस्य नबने पनि सामान्य रुपमा लिएको छु : विशाल भट्टराई

नेकपा एमालेका सचेतक विशाल भट्टराईले केन्द्रीय सदस्यहरुको सूचीमा आफ्नो नाम नपरे पनि त्यसलाई सामान्य रुपमा लिएको बताएका छन् । उनले पार्टी नेतृत्वले आफूलाई कुनै महत्वपूर्ण जिम्मेवारीका लागि रिजर्भ गरेर राखेको हुन सक्ने अनुमान उनले गरे ।

‘केन्द्रीय सदस्य दोहोरिन्छु होला भन्ने अनुमान गरिरहेको बेला मेरो नाम आएन । यसलाई मैले सामान्य रुपमै लिएको छु,’ उनले अनलाइनखबरसँगको कुराकानीमा भने ।चितवनको सौराहस्थित एमाले महाधिवेशनको बन्दसत्र परिसरमा कुरा गर्दै भट्टराईले, पार्टी नेतृत्वले जुन जिम्मेवारी दिए पनि इमान्दारीपूर्वक निर्वाह गर्ने बताए । आफूले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरेको र त्यसको लागि अभियानसमेत चलाएको बताउँदै उनले त्यसैको कारण आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी नदिएको बताए ।

कहिलेकाहिँ राजनीतिमा एक कदम पछाडि दुई कदम अगाडि पनि हुने बताउँदै उनले भने, ‘थप कुनै महत्वपूर्ण जिम्मेवारीका लागि पार्टी नेतृत्वले मलाई रिजर्भको रुपमा राख्या हो कि, त्यो हो भने पनि ठिकै छ । त्यो नहुँदा पनि संसदमा प्रमुख सचेतकको भूमिका निर्वाह गरिरहेको छु । खोटाङको जनप्रतिनिधि छु, म पार्टीको काम अनवरत रुपमा जारी राख्छु ।’

प्रकाशित मिति : २०७८ मङ्सिर १३ गते सोमवार