• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

मन्त्रीविहीन मन्त्रालयमा धमाधम स्वकीय नियुक्ति गरेर कार्यकर्ता थन्क्याउँदै मुख्यमन्त्री राई


विराटनगर । प्रदेश १ का मन्त्रीविहीन मन्त्रालयमा धमाधम स्वकीय सचिवको नाममा कार्यकर्ता भर्ना सुरु भएको छ । नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार
बनेको प्रदेश १का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री नै नभएका मन्त्रालयमा स्वकीय नियुक्ति गरेर कार्यकर्ता थन्क्याउने काम थालेकाहुन्।मुख्यमन्त्री राईले मन्त्री नै नियुक्त गर्न नसकेका

मन्त्रालयहरूमा स्वकीय नियुक्त गरेका हुन् । गतकात्तिक १६ गते गठन भएको गठबन्धनको सरकारले अहिलेसम्म काम गर्न सकेको छैन । १६ गते र ९ गते गरी अहिलेसम्म २ पटक मात्र मन्त्री परिषद्को बैठक बसेको छ भने मन्त्रालयहरूमा कुनै कामको गतिविधिसमेत नदेखिएको आरोप लाग्दै आएको छ ।काम गर्न नसकेका मुख्यमन्त्री राईले स्वकीय सचिव नियुक्तिलाई भने तिव्रता दिएका छन् । मुख्यमन्त्री राईले उद्योग, पर्यटन‚ वन तथा वातावरण मन्त्रालयको प्रमुख स्वकीय सचिवमा निर्मल भण्डारी, सोही मन्त्रालयको स्वकीय सचिवमा रोहित गौतमलाई नियुक्त गरेका छन् ।

भूमि‚ व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रमुख स्वकीय सचिवमा किशन भगत र सोही मन्त्रालयको स्वकीय सचिवमा उदय यादवलाई नियुक्त गरेका छन् । यी मन्त्रालयमा दलहरूबीच भागबण्डा नमिल्दा मन्त्रीविहीन अवस्थामा मुख्यमन्त्रीले नै मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

स्वकीय सचिव मन्त्रीले नियुक्त गर्ने पद हो । तर, मन्त्री नै नभएको मन्त्रालयमा धमाधम स्वकीय सचिव नियुक्त हुँदा गठबन्धनभित्रैबाट मुख्यमन्त्रीको आलोचना हुन थालेको छ । नेकपा एकीकृत समाजवादीभित्रैका विद्यार्थी नेताहरूले पनि असन्तुष्टि जनाएका छन् । सुनसरीका नेकपा (एस) का विद्यार्थी नेता सुमन कार्कीले आफूहरूले पनि धेरै गर्न सक्ने भएपनि एयरपोर्ट दौडिने र आसेपासेलाई मात्र नियुक्त गरेको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन् ।

मुख्य मन्त्रीको सचिवालयले भने तत्काललाई नियुक्त गरिए पनि कुनै मन्त्री नियुक्त भएको अवस्थामा स्वकीय सचिवलाई हटाउन सक्ने बताएको छ । मुख्यमन्त्रीको सचिवालयले मन्त्रालयको काम कारबाहीलाई हेर्नका लागि मन्त्रालयमा स्वकीयसहितको सचिवालय बनाइएको जनाएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार