• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

ओली र प्रचण्डबीच सम्बन्ध सुध्रियो, प्रचण्डले गरे एमाले महासचिव शंकर पोखरेलको प्रशंसा


नेकपामाओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सम्बन्ध सुध्रिएकोछ।आफ्नो महाधिवेशनमा ओलीलाई निम्तो गरेको र उनले आउन चाहँदा
चाहँदै झापामा रहेकाले आउन नसकेको प्रचण्डले बताएका छन् । साथै प्रचण्डले एमालेसमक्ष यो पनि प्रस्ताव राखेका छन् कि पार्टी एकता गल्ती थिएन, फेरि एकचोटि आत्मसमीक्षा गरौँ ।

आइतबार महाधिवेशन उद्घाटन कार्यक्रममा एमाले महासचिव शंकर पोखरेललाई प्रशंसा गर्दै प्रचण्डले भने, ‘महासचिवको हैसियतले उहाँले जे कुरा राख्नुभयो, त्यो पनि हामी सबैका लागि मननयोग्य कुरा नै उहाँले राख्नुभयो । र, सबभन्दा मलाई मन परेको कुरो के हो भने हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौँ । म कमरेड शंकर पोखरेल र उहाँमार्फत् सिङ्गो नेकपा एमालेका साथीहरूलाई भन्न चाहन्छु– हामीले गल्ती गरेका थिएनौँ । फेरि एकचोटि आत्मसमीक्षा गरौँ ।’माओवादी अध्यक्ष प्रचण्डले अगाडि भने, ‘कहाँ थियो त गल्ती ? के कारणले हामी दुई ठाउँमा हुन पुग्यौँ ? के कारणले यत्रो सपना हामी आफैँले भत्कायौँ ? त्यसको समीक्षा गरौँ । हामीले गल्ती गरेका थिएनौँ । हाम्रो उद्देश्य गलत थिएन । हामीले यो देशलाई स्थायित्व र समाजवादतिर लैजाने सपना पूरा गर्ने उद्देश्य राखेका थियौँ । उहाँ (शंकर पोखरेल) ले जुन स्पिरिटमा राख्नुभएको छ, हाम्रा लागि पनि त्यो चिन्तन मनन गर्न लायक छ ।’

माओवादीको महाधिवेशनमा केपी ओली सहभागी हुन नसकेपछि शुभकामना दिन उपस्थित भएका एमाले महासचिव पोखरेलले पार्टी एकता जोगाउन नसकेकोमा पछुतो लागेको बताएका थिए । पोखरेलले भनेका थिए, ‘नेकपाको गठन गलत थिएन, त्यो ऐतिहासिक आवश्यकता थियो तर त्यसलाई जोगाउन नसकेकोमा मलाई पछुतो छ ।’एमाले महासचिव पोखरेलले कार्यक्रममा भने, ‘नेपाली वामपन्थी आन्दोलन जुन बाटोमा हिँड्दैछ, त्यो सही बाटोमा हिँड्दैछ त ? हिँड्दै छैन । लक्ष्य उद्देश्य एकातिर छ, कार्यनीतिक प्रश्नमा रहेका मतभेदका कारणले हामी बोल्न छोडेका छौँ । हेर्न छोडेका छौँ । यसप्रकारको चिन्तनले नेपाली समाजको रूपान्तरणको हाम्रो ध्येय पूरा हुन सक्छ ? किमार्थ हुन सक्दैन ।’

माओवादीको महाधिवेशनमा पाहुना बनेका पोखरेलले अगाडि भने, ‘नयाँ सोच र सङ्कल्पका साथ नेपालको कम्युनिस्ट आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने प्रश्न अगाडि नबढाइकन नेता नेताबीचका अन्तरकलहमा आधारित भएर नीति बनाउने, त्यही नीतिमा पक्षमा बहकिएर पार्टीका मान्यताहरू बनाउने खालका सोचहरूबाट आन्दोलन अगाडि बढ्छ भने यसले राष्ट्र र जनताको हित गर्न सक्दैन भन्ने प्रश्नलाई सबैले मनन गर्न जरुरी छ ।’

नेपालका कम्युनिस्ट नेताहरू क्रान्तिका नायक बनेपछि क्रान्तिपछि विकास र समृद्धिका नायक बन्न नसकेको महासचिव पोखरेलको भनाइ थियो । उनले प्रश्न गरे, ‘अधिकारका मामिलामा हामी क्रान्तिका नायक, क्रान्तिका च्याम्पियन त हुन्छौँ, तर कर्तव्यको मामिलामा, राष्ट्रको समृद्धिका मामिलामा हामीले हाम्रो कर्तव्यलाई कुन रूपमा पूरा गर्न सक्यौँ ?’

प्रकाशित मिति : २०७८ पुष ११ गते आइतवार