• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

निर्मला हत्याकाण्ड : शंकास्पद एकजना भारतीय नागरिक पक्राउ


काठमाडौंकञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एकजना शंकास्पद भारतिय नागरिकलाई पक्राउ गरेर नेपाल ल्याएको छ।१० साउन २०७५ मा कञ्चनपुरको
भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो।१३ बर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले भारतिय नागरिक निकार अलीलाई पक्राउ

गरेको छ । १५ दिनअघि उनलाई पक्राउ गरेपनि डिएनए रिपोर्ट आउन बाँकी रहेकाले प्रहरीले गोप्य राखेको छ । शंकास्पद अलीलाई नेपाल ल्याएपछि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका एआईजी प्रद्युम्न कार्की गत साता कञ्चनपुर गएका थिए । विधि विज्ञान प्रयोगशालामा डिएनए परिक्षणका लागी स्याम्पल पठाइएको तर, रिपोर्ट आउन बाँकी रहेको प्रहरीका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । निकार अलि कञ्चनपुर स्थित निर्मला पन्तको हत्या भएको ठाउँ नजिकै तरकारी खेती गर्थे । जग्गा भाडामा लिएर तरकारी खेती गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । डिएनए नमिलेसम्म उनलाई सार्वजनिक नगरिने बताइएको छ । कञ्चनपुरका एसपी उमा प्रसाद चतुर्वेदीले अनुसन्धान जारी रहेको र आधिकारीक प्रमाण आइनसकेको बताए । उनले भने–‘सोधपुछका लागी ल्याउने लैजाने कुरा भइरहन्छ, हामी गहिरो अनुसन्धान गरिरहेका छौं ।’ यसअघि पक्राउ गरिएका दिलीपसिंह विष्टको डिएनए नमिलेपछि उनलाई रिहा गरिएको थियो ।


जनमत पार्टीका १२ जना कार्यकर्ता पक्राउ

भैरहवा — सीके राउत नेतृत्वको जनमत पार्टीका १२ जना नेता तथा कार्यकर्तालाई रुपन्देही प्रहरीले आइतबार पक्राउ गरेको छ । उनीहरुले भैरहवा लुम्बिनी सडक खण्ड र भैरहवा परासी सडक खण्ड अवरुद्ध पारेपछि प्रहरीले पक्राउ गरेको हो ।

किसान आन्दोलन संघर्ष समितिको नाममा उक्त पार्टीका कार्यकर्ता रुपन्देहीको बनगाइ र धकधहीमा सडक अवरुद्ध गर्दै आएका छन् । विगत चार दिनदेखि सडक अवरुद्ध गर्दै आएका जनमत पार्टीका कार्यकर्ता लाठी–भाटा बोकेर प्रदर्शनमा उत्रिने गरेका छन् ।आइतबार भैरहवा–लुम्बिनी सडकखण्डअन्तर्गत बनगाई चोकमा चक्काजाम गर्न आएका कार्यकर्तालाई प्रहरीले हटाएपछि उनीहरुले भैरहवा परासी खण्डको धकधही चोकमा चक्काजाम गरेका थिए ।सडक अवरोध गराएका १२ जना पार्टीका नेता–कार्यकतालाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिए । चक्काजाम नगर्न आग्रह गर्दा नमानेपछि सामान्य बल प्रयोग गरेर सडकको अवरोध हटाएको र उनीहरुलाई नियन्त्रणमा लिइएको केसीले बताए ।

पक्राउ पर्नेमा पार्टीको रुपन्देही उपाध्यक्ष शम्भुप्रसाद यादव, कार्यकारी सदस्य विजय यादव, जिल्ला सदस्य सुदीप चौधरी, रोहिणी पार्टी कमिटी अध्यक्ष, विष्णु चौधरी, राजकुमार कोइरी, प्रमोद गुप्ता, हिरामन हरिजन, राजेन्द्र यादव, धर्मेन्द्र यादव, सुनिल गुप्ता, राजप्रसाद मुराउ, भरतकुमार यादव छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए ।जनमत पार्टीका केन्द्रीय सचिव भूपेन्द्रप्रसाद यादवले १२ जना नेता–कार्यकर्ता पक्राउ परेको पुष्टि गरे । उनले किसानको समस्या राखेर शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले दमन गरेको आरोप लगाए । पक्राउ परेका नेता–कार्यकर्ता रिहा नभए रुपन्देही बन्द गर्ने चेतावनी उनले दिए ।

जनमत पार्टीले किसानमाथिको दमन बन्द गर्नु पर्ने, किसान र आन्दोलनकारीमाथि लगाइएका झुटा मुद्दा फिर्ता गर्नु पर्ने, समयमा मलखाद र बीउविजनको व्यवस्था, सिँचाईको व्यवस्था, सिँचाईको बिजुली निःशुल्क, हावाहुरी र वर्षाले भएको बालीनाली क्षतिबापत तत्काल राहत, किसानको समस्या समाधानका लागि मन्त्रीस्तरीय वार्ता समिति गठन गर्नुपर्ने लगायतका माग गरेको छ ।

प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार