• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

बाघ गन्न राखिएका क्यामेरा नै चोरी भएपछी …


रौतहट । रौहतटमा बाघ गणनाका लागि राखिएको क्यामेरा चोरी भएका छन् । जिल्लाका जंगलहरुमा बाघ गणना गर्न राखिएका ६ वटा क्यामेरा हराएको हो । त्यस्तै केही क्यामेरा कामै नलाग्ने गरी फुटाएको अवस्थामा भेटिएको छ ।वन्यजन्तु प्राविधिक टिकाराम थारुका अनुसार चाँदी खोलादेखि बागमती खोलाको बीचको जंगलमा राखिएका ४ वटा क्यामेरा हराएको छ ।

उनका अनुसार चोरहरुले बागमती खोला नजिकैको जंगलबाट एकसेट र पौराइको जंगलबाट एकसेट क्यामेरा चोरेर लगेका हुन् ।त्यसैगरी पौराइ नजिकै राखिएको एउटा क्यामेराबाट मेमोरी कार्डमात्र चोरेर लगेको थारुले बताए । पौराई क्षेत्रमा बढि बाघको आवतजावत हुने स्थानकै क्यामेरा चोरी भएकाले बाघ गणनालाई असर पार्ने उनले चिन्ता व्यक्त गरे ।सैगरी चाँदी खोलादेखि धन्सार खोलाको बीचमा रहेको वन क्षेत्रबाट पनि २ वटा क्यामेरा चोरी भएको वन प्राविधिक सुरेन्द्र चौधरीले जानकारी दिए ।

सो क्षेत्रको सिम्री टोल नजिकबाट एकसेट क्यामेरा तार काँटेर चोरी गरेर लगेको उनले बताए ।त्यसैगरी सोही क्षेत्रको तिलेश्वरनाथ सामुदायिक वन गैडाटारमा राखिएका एकसेट क्यामेरा कामै नलाग्ने गरी फुटाइदिएका छन् ।त्यसैगरी एकसेट क्यामेरा झाँडीमा फालेको अवस्थामा भेटिएको र एकवटा क्यामेरा भने निकालेर उल्टो पारेर बाँधिएको उनले जानकारी दिए ।राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसार रौहतटको जंगलमा मात्र बाघ गणना गर्न १ सय २२ वटा क्यामेरा जडान गरिएको थियो ।राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोग निकुञ्ज विभागको नेतृत्व एवम् डिभिजन वन कार्याल , डब्लुडब्लुएफ नेपाल, जेडएसएल नेपालको सहयोगमा रौहतटका जंगलहरुमा माघ ४ गतेदेखि क्यामेरा ट्यापिङ्गको सहयोगमा बाघ गणना सुरु गरिएको हो ।

वनमा बाघ गणनाका लागि माघ ४ गतेदेखि क्यामेरा जडान गरेको थियो । यसरी जंगलमा राखिएका क्यामेराहरु १५ दिनसम्म जंगलमा राखिने र त्यसपछि सबै संकलन गरेर तथ्याङ्क विश्लेषण गरेर बाघ गनिने राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र चितवनका प्रमख डा। बाबुराम लामिछानेले बताए ।उनले सबै क्यामेराहरुको तथ्याङ्क विश्लेषण गरेर बाघको संख्या यकिन २ देखि ३ महिनासम्म लाग्ने बताउँदै एउटा क्यामेरा चोरी हुँदा पनि तथ्याङ्कलाई असर पर्ने हुँदा सर्वसाधरणलाई क्यामेरा चोरी नगर्न र नोक्सान नपु¥याउन अनुरोध गरे ।

उनका अनुसार रौतहट , बारा तथा पर्साका जंगलहरुबाट हालसम्म २ दर्जनभन्दा बढि क्यामेरा चोरी भइसकेको छ भने शुक्रबारदेखि क्यामेरा संकलन गर्न सुरु गरिएकाले यो संख्या अझै बढ्न सक्नेछ ।‘यी क्यामेराहरु बाघ गणना तथा जंगलमा वन्यजन्तुको कृयाकलाप निगारानीको लागि बनाएको हुनाले यसको सर्वसाधरणलाई कुनै काम छैन्,’ उनले भने, ‘त्यसैले चोरी नगर्नु हुन अनुरोध गर्दछु। यदि कसैले गाउँघरतिर यस्ता क्यामेरा भेटे नजिकको वन कार्यालय वा निकुञ्जमा बुझाइदिए हामी धन्यवाद दिनेछौँ ।’

उनले सो क्यामेरा पूर्ण अटोमेटिक भएकाले सर्वसाधरणलागि फोटो, भिडियो खिच्न कुनै काम नलाग्ने भन्दै कसैले फिर्ता गरिदिए कारवाही नगर्ने बरु धन्यवाद दिने बताए ।रौतहटको जंगलमा सन् २०१८ मा बाघ गणना गरिएकोमा एकवटा बाघ पनि नदेखिएकोमा गत वर्ष भएको बाघ ४ वटा बाघ फेला परेको डिभिजन वन कार्यालयका प्रमुख अमरदेव यादवले जानकारी दिए ।रौतहटको हावापनी बाघको वासस्थानको लागि निकै सुहाउँदो रहेको र पछिल्ला वर्षहरुमा वन सरक्षण उल्लेख मात्रामा भएकाले यहाँ बाघको संख्यामा वृद्धि भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७८ माघ २२ गते शनिवार