• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

अन्ततः प्रचण्डको धम्कि पछि ‘ब्याक’ भए देउवा एमसीसी संसदमा आज टेबल नहुने


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमसीसी टेबल हुनबाट रोक्न अन्तिम प्रयासमा जुटेका छन् । त्यसका लागि अध्यक्ष प्रचण्ड पार्टी संसदीय दलको बैठक लगत्तै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् । बालुवाटार पुगेर प्रचण्डले गठबन्धनमै सहमति नजुटेकाले एमसीसी टेबल नगर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्ने दलको बैठकमा आफ्ना सांसदलाई जानकारी गराएका छन् ।

यदि प्रधानमन्त्री देउवाले प्रचण्डको आग्रह अस्वीकार गरी एमसीसी टेबल गरिए गठबन्धन र सरकार छाड्ने माओवादीको तयारी छ । माओवादी संसदीय दलको बैठकले यथास्थितिमा एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ । सोही निर्णय सुनाउन र देउवालाई मनाउन प्रचण्ड अन्तिम प्रयासस्वरुप बालुवाटार पुगेको माओवादी केन्द्रका सांसद रामेश्वर राय यादवले बताए । अर्का सांसद तथा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले गठबन्धनमै सहमति नभई एमसीसी अघि बढे माओवादीले गठबन्धन र सरकार दुवै छोड्ने निर्णय भएको जानकारी दिए ।
अन्ततः एमसीसी टेबल गर्नबाट ‘ब्याक’ भए देउवा
सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्ने तयारीबाट अन्ततः ब्याक भएका छन् । बुधबार एमसीसी टेबल नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग बालुवाटारमा भेट गरेपछि देउवा आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्न सहमत भएका हुन् ।

सत्ता साझेदार दल माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले संशोधन बिना एमसीसी पारित हुन नसक्ने निर्णय गरेको थियो । जबरजस्ती एमसीसी टेबुल गरिए सरकारबाटै बाहिरिने माओवादीले निष्कर्ष निकालेसँगै प्रधानमन्त्री देउवा ब्याक भएका हुन् । संसदीय दलको बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । बालुवाटार पुगेर प्रचण्डले संशोधन बिना अहिलेको अवस्थामा एमसीसीका अघि नबढाउन तथा बढाइए सरकारबाट बाहिरिने सम्मको पार्टीको निर्णय सुनाएका थिए ।

उसो त प्रचण्डले पार्टीको बैठकमा नेकपा एकीकृत समाजवादी पार्टी पनि एमसीसीको पक्षमा नरहेको बताएका थिए । एकीकृत समाजवादीले एमसीसीबारे मौनता साँधिरहेका बेला प्रचण्डले पार्टीको बैठकमा यस्तो बताएका हुन् । तथापि बुधबार बिहानसम्म एकीकृत समाजवादी पार्टीको स्पष्ट धारणा बाहिर आइसकेको छैन ।

सत्ता गठबन्धनमै रहेको जनता समाजवादी पार्टीले भने एमसीसीको पक्षमा मतदान गर्ने दाबी काँग्रेस नेताहरुको छ । प्रतिनिधिसभामा १९ मत रहेको जसपाका नेता डा बाबुराम भट्टराई खुलेर एमसीसीको पक्षमा लागेका छन् भने अध्यक्ष उपेन्द्र यादव मौन छन् । भट्टराईको पक्षमा ११ र यादवको पक्षमा ८ सांसद रहेको जसपाका नेताहरु बताउँछन् ।
गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा भने सुरुदेखि एमसीसीको विपक्षमा छ । गठबन्धनमा विवाद भएपछि केही दिनयता काँग्रेसले एमसीसीबारे माहोल बनाउन लबिङ थालेको थियो । सोही क्रममा मंगलबार बसेको काँग्रेस संसदीय दलको बैठकले एमसीसी टेबल गराउने निर्णय गरेको थियो भने यसबारे सहयोग गर्न सबै दलहरूलाई आग्रह पनि गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाकै आग्रहमा सभामुखले बुधबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएका थिए । दिउँसो १ बजे बस्ने संसद बैठकका लागि मंगलबार सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा एमसीसी राखिएपनि कार्यव्यवस्था परामर्श समितिको बैठकबाट एजेण्डा राख्ने प्रयास गरिएको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार