• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

एमालेको सबै मागमा छलफल गर्न देउवा तयार : साँझ पुनः छलफल हुने


काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच संसद भवन नयाँ बानेश्वरमा भएको छलफल सकिएकोछ।प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच अमेरिकी सहयोग परियोजना एमसीसी र संसद सञ्चालनका विषयमा बिहीबार साँझ पुन छलफल गर्ने तय भएको कांग्रेस महामन्त्री गगन थापाले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।


एमालेको सबै मागमा छलफल गर्न देउवा तयार
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न एमालेको सहयोग माग्दै त्यसका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको बताएका छन् ।

प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग संसद भवन नयाँ बानेश्वरमा भएको छलफलमा उनले एमसीसी पारित गर्न संसदमा आएर मत जाहेर गर्न सजिलो बनाउनका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको बताएका छन् ।‘तपाईंले गरेको निर्णयलाई निर्णयार्थ पेश गरेको छु, यसमा मद्दत माग्ने कुरा स्वाभाविक हो, तपाईको मद्दतका लागि संसदमा आएर मत जाहेर गर्नका लागि सजिलो बनाउन हामीले गर्न सक्ने सबै प्रबन्धमा छलफल गरौं, एकै ठाउँमा उभिएर यो विषय अगाडि बढाऔं’ देउवाले ओलीसँग गरेको प्रस्तावबारे कांग्रेस महामन्त्री गगन थापाले भने ।

उनका अनुसार एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको प्रस्तावबारे पार्टीमा छलफल गरेर पुन: कुराकानी गर्ने जवाफ दिएका छन् ।२३ भदौदेखि संसद अवरोध गर्दै आएको एमालेले माधवकुमार नेपालसहितका १४ सांसदलाई पार्टीको केन्द्रीय समितिले गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै संसद अवरोध गर्दै आएको छ । १४ सांसदलाई कारबाही गर्नुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने माग एमालेले राखेको छ ।

एमालेसँग वार्तापछि सञ्चारमन्त्रीले भने : संसद सञ्चालन हुने विश्वास छ
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदको अवरोध हट्ने र एमसीसी पनि पास हुने विश्वास व्यक्त गरेका छन् ।संसद बैठक रोकेर बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले नेताहरुसँग छलफल गरेका थिए ।छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘संसदलाई सुचारु गर्न प्रधानमन्त्रीले अधिकतम सहमति बनाउन सबैसँग छलफल प्रारम्भ गर्नुभएको छ ।

यो छलफलले संसद सञ्चालन हुने विश्वास छ । एमसीसी सार्वभौम संसदमा गहन रुपले छलफल भएर एउटा निष्कर्ष पुग्ने वातावरण तयार हुन्छ भन्ने विश्वास छ ।’सबैको सहमतिमा संसद सञ्चालन हुने र एमसीसीबारे छलफल गर्ने वातावरण बनाउन प्रधानमन्त्रीले प्रयास गरिरहेको उनले बताए ।

प्रकाशित मिति : २०७८ फाल्गुन १२ गते बिहिवार