• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

सत्ता गठबन्धन अघि जाँदैन, धरापमा परिसक्यो : गगन थापा


नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन धरापमा परेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि महामन्त्री नजाने बताए । ‘यो गठबन्धन अघि जाँदैन । धरापमा पुगिसक्यो,’ थापाले भने। गठबन्धनबाट एमसिसी पार नलाग्ने थापाको भनाइ थियो । ‘अब गठबन्धनबाट पार लाग्दैन। एमसिसीका विषयमा गठबन्धनसँग छलफल गर्न आवश्यक नै छैन,’ थापाले भने। प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच साँझ ७ बजे पु्नः छलफल हुने थापाले जानकारी दिए। ‘दल सरकार र गठबन्धनको विषय होइन। राष्ट्रको विषय हो। तपाईंहरुले दर्ता गर्नुभएको विषय हो। सदनको अवरोध हटाउने सबै विकल्पमा छलफल गरौं भन्ने कुरा प्रधामन्त्रीज्यूले राख्नुभयो,’ थापाले भने।

फुटतिर गठबन्धन, काँग्रेस–माओवादी आ–आफ्नो बाटो लाग्ने

देउवा ओलीसँगको छलफलमा, माओवादीले सरकार छाड्ने
एमसीसीको विषयले सत्ता गठबन्धन फुटतिर गएको छ । माओवादी केन्द्र कुनैपनि हालतमा संशोधनबिना एमसीसी पास गर्न तयार नभएपछि गठबन्धन फुटतर्फ गएको हो । यद्यपि फुटको औपचारिक घोषणा भने हुन बाँकी छ । माओवादी केन्द्रका एक नेताले बिहीबार भएको नेताहरुबीचको एकपक्षीय र बहुपक्षीय छलफलपछि आ–आफ्नो बाटो लाग्ने निष्कर्षमा पुगेको बताए ।

बिहीबार बिहान माओवादी र एकीकृत समाजवादी पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच संशोधनबिना एमसीसी कुनै हालतमा स्वीकार गर्न नसक्ने निचोडमा पुगेका थिए । यो निष्कर्षपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । त्यसक्रममा पनि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच एमसीसीमा सहमति जुटेन । त्यसपछि दुवै नेता आ आफ्नो बाटो लाग्ने निष्कर्षमा पुगेका हुन् ।

माओवादी केन्द्रका नेता गिरीराजमणी पोखरेलले बिहीबार देउवा प्रचण्डको छलफलपछि गठबन्धनमा रहेका दलहरु आआफ्नो बाटो लाग्ने निश्कर्षमा पुगेको रातोपाटीलाई बताए । ‘आज बिहान प्रधानमन्त्री र हाम्रो अध्यक्षबीच भएको छलफलपछि सौहार्दपुर्ण बातावरणमै आआफ्नो बाटो लाग्ने कुरा बुझेको छु’, नेता पोखरेलले भने, ‘एमसीसी पारित गराएरै छोड्ने देउवाको अडान र हामी संशोधनबिना सहमति जनाउन नसक्ने अवस्थामा पुगेपछि त्यो अवस्था आएको हो ।’

सोही निष्कर्षपछि प्रधानमन्त्री देउवाकै आग्रहमा बिहीबारका लागि तय भएको प्रतिनिधि सभा बैठक एक दिनका लागि स्थगित गरिएको थियो । लगत्तै देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग संवाद गरेका थिए । संसद भवनमै भएको छलफलमा देउवाले पछिल्लो बस्तुस्थितिको बारेमा एमाले नेताहरुलाई जानकारी गराएका थिए ।यसैबीच प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचपनि बिहीबार अपराह्न भेटवार्ता भएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १२ गते बिहिवार