• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

सभामुख सापकोटाले सड्यन्त्र गर्ने गोप्य सुचना पाएपछि …..


काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग सरकारले गरेको सम्झौता संसद्मा छलफलका लागि पेस गर्दा नै मत विभाजन गर्ने बुझेपछि बिहीबारको प्रतिनिधिसभा बैठक स्थगन भएको खुलेको छ। सभामुख सापकोटाले प्रतिनिधिसभाको बिहीबारको बैठक दिउँसो १ बजेका लागि बोलाएका

थिए । बैठकका लागि बुधबारै सार्वजनिक कार्यसूचीमा एमसीसी सम्झौता छलफलका लागि संसद्मा पेस गर्ने उल्लेख थियो । बैठकमा उपस्थित हुन कांग्रेसले आफ्ना सांसद्लाई हृवीप नै जारी गरेको थियो भने प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य दलका नेताहरू पनि बैठकको निर्धारित समय अघि नै संसद् भवन पुगेका थिए । तर, अन्तिम समयमा प्रधानमन्त्री देउवाको आग्रहमा बिहीबारको बैठक नै स्थगित भयो ।कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख सापकोटाले प्रधानमन्त्री देउवाले विपक्षी दलसँग छलफलका लागि भन्दै शुक्रबारसम्म बैठक स्थगित गरिदिन आग्रह गरेको जानकारी गराएका थिए । त्यसपछि बैठक स्थगित भएको सूचना टाँसियो ।‘अन्तिम समयमा त्यसै बैठक स्थगित भएको होइन, सभामुखले छलफलको प्रस्तावमै मतविभाजन गर्न लाग्नुभएको रहेछ, छलफल नै गर्न नदिने नेकपा (माओवादी केन्द्र)को नीति रहेछ,’ प्रधानमन्त्री देउवानिकट एक नेताले ईकान्तिपुरसँग भने । प्रतिनिधिसभाको बैठकका लागि संसद् भवन पुगेका प्रधानमन्त्रीसहित नेताहरू दलगत छलफल गरेर निस्किएका थिए ।

पाँच दलको सहयोगमा गत असारमा अत्यधिक बहुमतसहित गठबन्धन सरकारको प्रधानमन्त्री बनेका देउवा सरकारले ल्याएको प्रस्तावमा गठबन्धन दलबाटै असहयोग हुने प्रष्ट भएपछि साझेदार दलहरूसँग रुष्ट बनेका छन् । ती नेताले माओवादीका अध्यक्ष पुष्पकमल दाहालको अस्थिर नीति र व्यवहारबाट प्रधानमन्त्री देउवा दिक्क बनेको सुनाए ।सभामुखले यसो गर्दैछन् भन्ने कुरा कार्यव्यवस्था परामर्श समितिमा सरकारका प्रतिनिधि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, कांग्रेस सचेतक पुष्पा भुसाललगायतलाई पनि थाहा थिएन । उनीहरूले कार्यव्यवस्था परामर्श समितिमा एमसीसीमाथिको सैद्धान्तिक छलफलमा बोल्न चाहने सांसदहरूलाई ५-५ मिनेटको समय उपलब्ध गराउन सहमति जनाएका थिए ।‘माओवादीले यसबीचमा पटक–पटक आफ्नो पोजिसन फेर्‍यो, सुरूमा यसको प्रक्रियामै उहाँहरू संलग्न हो, अस्ति प्रधानमन्त्रीसँग काँध जोडर प्रचण्डले एमसीसीलाई चार महिनाभित्र पास गर्ने भनेर चिठी लेख्नुभयो,’ ती नेताले ई-कान्तिपुरसँग अघि सुनाए,

‘अहिले प्रधानमन्त्रीले एमसीसीलाई मुल मुद्दा बनाएर अघि बढेपछि पनि उहाँहरू सुरूमा पास गर्ने पक्षमा हुनुहुन्थ्यो । पछि विपक्षमा मतदान गर्ने, तर अनुपस्थित भएर सहयोग गर्ने भन्नुभयो, अहिले हिजो बेलुकादेखि त उहाँहरू यसलाई फेल गराउने बाटोमा अघि बढ्नुभएको छ ।’बुधबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफलपछि दाहाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा दाहालले प्रधानमन्त्री देउवालाई एमसीसी सम्झौतामाथिको छलफल तत्काललाई रोकेर गठबन्धन सरकारलाई निरन्तरता दिनुपर्ने प्रस्ताव गरेका थिए । तर, देउवाले त्यही अडान दोहोर्‍याएपछि देउवा–दाहाल लगभग गठबन्धन सरकार टुट्ने निष्कर्षमा छुटेका स्रोतको भनाइ छ ।

नेताहरूका अनुसार सभामुख सापकोटाले सरकारले एमसीसीमाथिको छलफलको प्रस्ताव संसद्मा पेश गर्ने भएपछि त्यसबारे बुधबार माओवादी अध्यक्ष दाहाल र नेता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए । दाहाल र श्रेष्ठको सुझावबमोजिम प्रतिनिधिसभाको हालको अंकगणितमा सरकारले प्रस्तुत गर्ने छलफलको प्रस्तावमै मतविभाजन गर्न लगाएर बहुमतले छलफलको प्रस्ताव नै अस्वीकृत गर्ने तयारी भएको थियो । तर, दाहालको त्यो नीति थाहा पाएपछि देउवाले संसद्को बैठक नै स्थगित गराएर विपक्षीसँग छलफल थालेको ती नेताले जानकारी दिए । ‘सामान्यतः ध्वनि मतले सरकारको प्रस्ताव छलफलका लागि प्रस्तुत हुनुपर्ने हो, त्यसलाई निर्णायक रुपमा प्रस्तुत गर्दा मात्रै मत विभाजनमा जाने हो, यस्तो विश्वमै नभएको अभ्यास गरेर सभामुखले प्रस्ताव नै फेल गराउने षड्यन्त्र गर्नुभएको रहेछ,’ एक सांसदले भने । हाल प्रतिनिधिसभामा २७१ सदस्य बहाल छन् । त्यसमध्ये नेकपा एमाले ९८, नेपाली कांग्रेस ६३, नेपाल माओवादी केन्द्र ४९, नेकपा एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टी (जसपा) २१, लोकतान्त्रिक समाजवादी पार्टी १३,राप्रपा, नेमकिपा, स्वतन्त्र र राष्ट्रिय जनमोर्चा १–१ छन् ।

एमालेले विरोध जारी राख्दा संसद्मा एमसीसी सम्झौतामाथि छलफलको प्रस्तावको विपक्षमा धेरै मत हुने माओवादीको बुझाई थियो ।‘वास्तवमा संसद्मा एमसीसीका पक्षमा प्रचण्ड बहुमत छ, तर एमालेले संसद्मा आफू उपस्थित हुने वातावरण नपाएको फाइदा उठाएर सरकारको प्रस्ताव नै फेल गराउने प्रयास भएको छ, त्यसैले प्रधानमन्त्रीले एमसीसीको पक्षमा भएको त्यो मतलाई उपयोग गर्ने बाटो खोज्ने प्रयास थाल्नुभएको हो,’ ती नेताले भने।प्रधानमन्त्री देउवाले बिहीबारै एमाले अध्यक्ष केपी ओलीसहित नेताहरूसँग साढे दुई घण्टा छलफल गरेका छन् । बिहीबारै साँझसमेत देउवा–ओलीबीच संवाद हुने निर्धारित छ ।

संसद् भवनमा भएको भेटपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब संसद् सुचारू हुन्छ भन्ने विश्वास बढेको बताए । ‘विपक्षी दलको नेतासँग छलफल भयो, अझैपनि छलफल निरन्तर हुन्छ, संसद् सुचारू गर्ने र अधिकतम सहमति बनाएर एमसीसीबारे संसद्मै छलफल गरेर निष्कर्षमा पुग्ने आशा गरेका छौँ,’ उनले भने । उनले समयसीमा भित्रै एमसीसीले संसद्बाट निकास पाउने बताए । ‘समयको बारेमा हामी सबै जानकार छौँ, सकेसम्म समयसीमाभित्रै निष्कर्षमा पुग्छौँ,’ उनले भने ।

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजेकालागि बोलाइएको छ । सो बैठकमा एमसीसी सम्झौता माथि छलफलकालागि प्रस्ताव पेस गर्ने कार्यसूची सार्वजनिक भइसकेको छ । कांग्रेसका ती नेताले शुक्रबारसम्म एमालेसँगको संवाद निष्कर्षमा पुग्न सक्ने बताए ।

प्रकाशित मिति : २०७८ फाल्गुन १२ गते बिहिवार