• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

बालकोट वार्ताको भित्रीकथा : प्रचण्डलाई शनिबार तीन बजेको ‘टाइमलाइन’


सत्तासीन नेपाली काँग्रेसले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेको साथ खोजेको छ।फागुन १६ गते एमसीसी पास
गर्ने तयारीमा जुटेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेलाई साथमै उभ्याउने भगीरथ प्रयास गरिरहेकाछन्।सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको विपक्षमा

उभिएपछि प्रधानमन्त्री देउवाले एमालेसँग सहकार्यको हात अगाडि बढाएका हुन् । देउवाले पुस २४ गतेदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद सुरु गरे पनि परिणाम निस्किन सकेको छैन ।यस​बीच प्रधानमन्त्री देउवाले तीन पटक ओली निवास बालकोट गएर छलफल गरेका थिए । एकपटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित ओलीसँग बालुवाटारमा छलफल पनि गरे । तर, एमसीसीबारे सत्ता गठबन्धन र एमालेको साथ जुटाउन देउवा अहिलेसम्म असमर्थ छन् ।बिहीबार दिउँसो संसद भवनमा ओलीसहित एमालेका नेतासँग संवाद गरेमा देउवाले सोही साँझ पुनः संवाद गरेका थिए । शुक्रबार माधव नेपाल र प्रचण्डसँगको छलफलपछि काँग्रेसका नेताहरुसँग आन्तरिक संवाद गरेका देउवा साँझ ओली निवास बालकोट पुगेका थिए । काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई साथमा लिएर देउवाले ओलीसँग करिब २ घण्टा संवाद गरेका थिए ।

ओलीसँगको छलफलको सुरुमा प्रधानमन्त्री देउवाले प्रचण्ड र माधव नेपाल एमसीसी पास गर्न अलिकति सकारात्मक कुरा गरेको सुनाए । प्रचण्ड र माधव नेपालले भोट हालेर एमसीसी हुने भए आफूलाई कुनै आपत्ति नभएको जवाफ दिए । ओलीले भने, ‘हामी त एमसीसी पास नै होस् भन्न चाहन्छौं । तर हाम्रो माग पूरा नभई हामी त भाग लिग पाउँदैनौँ । हामीलाई संसद प्रवेशमा सभामुखले रोक्नुभएको छ ।’कुराकानी हुँदै जाँदा ओलीले प्रचण्डको विश्वास भने गरि नहाल्न सुझाएका थिए । ‘तपाईले एमसीसीको पक्षमा मत हाल्छ भनेर पत्याउनु भएको छ ? भोलि कुरा फेर्नुहुन्छ,’ ओलीले भने ।

प्रधानमन्त्री देउवालाई पनि प्रचण्डले भोलि कुरा फेर्छन् कि भन्ने आशंका रहेको जवाफ फर्काए । ‘मलाई पनि छ त्यो आशंका । त्यसैले त तपाईं सहयोग गर्नुस् न त । तपाईं र हामी मिलौँ, एमसीसी पास गरौं । किन यसमा अल्मलिइराख्ने ?,’ देउवाले ओलीलाई भने ।त्यसका लागि काँग्रेसले वातावरण बनाए आफू तयार रहेको ओलीको भनाइ थियो । त्यसपछि सभामुख अग्नि सापकोटाको राजीनामा र १४ सांसदको कारबाहीका विषयमा लामो छलफल भयो ।

एमाले नेताहरुले यी दुई विषयमा एमसीसी पास नहुनु पूर्व छिनोफानो हुनुपर्नेमा जोड दिए । तर, ओलीले सभामुख नहटाइ एमसीसीमा एमालेले भाग लिन नसक्ने अडान राखे । काँग्रेस नेताहरुले भने फागुन १६ गतेभित्र एमसीसी पास गर्नुपर्ने भन्दै यी विषयमा त्यसपछि जान सकिने बताए ।‘सभामुख हटाउन संख्या पुग्यो भने हामीलाई त्यसका लागि पनि १५–२० दिन समय लाग्छ । एमसीसी पास गर्न दुई दिन बाँकी छ,’ देउवाले बैठकमा भने, ‘आइतबार एमसीसीको पक्षमा मत दिनुस् । त्यसपछि कहाँ के गरेर जानुपर्छ, म सबै कुराका लागि तयार छु ।’

आइतबार एमसीसीमा साथ दिए एमालेसँग बाँकी जे जे डिल हुन्छ, पूरा गरौंला भन्ने काँग्रेसको चाहना छ । काँग्रेसका एक नेताले रातोपाटीसँग भने, ‘आइतबार संसदमा आएर एमालेले एमसीसीको पक्षमा भोट हालिदियोस् । एमसीसी पास होस् । संसद चलोस् । त्यसपछि एमालेले बाँकी जे जे डिल हुन्छ, पूरा गरौंला भन्ने काँग्रेसको चाहना छ ।’एमालेले भने सभामुख हटाउने कुरालाई बटमलाइन बनाइरहेको छ । त्यसैले ओली र देउवाको छलफल टुंगोमा पुग्न यी कुरामा रोकिएको एक नेताले बताए । अहिलेसम्म छलफलको प्रकृति हेर्दा दुवै पक्षले एक अर्कालाई नाप्ने र जाँच्ने काम गरिरहेको देखिन्छ ।

बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने काँग्रेस र एमाले एक ठाउँमा रहनुपर्नेमा ओलीले जोड दिएको बताएका थिए ।‘समुन्नत लोकतन्त्रलाई अगाडि बढाउने हो भने वृहत छलफल जरुरी छ । हाम्रो भेटघाटको क्रम जारी रहन्छ,’ उनले भने । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवाले अलिकति फराकिलो ढंगले लोकतन्त्रका लागि लडेका शक्ति मिल्नुपर्ने संकेत गरेको बताए ।काँग्रेसबाट सहमतिका लागि कुनै ठोस प्रस्ताव भने नआएको उनको भनाइ छ । ‘आज ठोस प्रस्ताव आएन, अर्को बैठकमा आउँछ कि ?’ ज्ञवालीले भने ।

प्रचण्डलाई शनिबार तीन बजेको टाइमलाइन
एमालेसँगको छलफलपछि काँग्रेसले सत्ता साझेदार माओवादी केन्द्रलाई एमसीसीको पक्षमा उभिन शनिबार तीन बजेसम्मको टाइमलाइन दिएको छ ।काँग्रेसका एक नेताले भने, ‘भोलि तीन बजेसम्म प्रचण्डले पार्टीमा बैठक गराएर एमसीसी पास गर्ने ठाउँमा पुग्नुभयो भने गठबन्धन जोगिन्छ । किनभने प्रचण्ड युर्टन गर्न माहिर हुनुहुन्छ । उहाँले युर्टन गर्नुभयो भने गठबन्धनको बाटोबाट अगाडि जान्छ ।’ त्यसैका लागि शनिबार अपरान्ह तीन—चार बजेपछि मात्र एमालेसँग काँग्रेसले छलफलको समय राखेको छ । ती नेताले भने,

‘त्यो बेलासम्म एमसीसीमा म भोट हाल्छु भनेर प्रचण्डसँग सहमति भइसक्नुपर्यो । त्यो भएन भने काँग्रेस र एमालेबीच भोलि नै नयाँ घटनाक्रमको विकास हुन्छ ।’ती नेताका अनुसार शनिबार प्रचण्डले एमसीसी पक्षमा भोट हाल्ने ठाउँमा नपुगे काँग्रेस र एमालेले कुनै हालतमा उपाय निकाल्ने छन् । त्यसका लागि शनिबार अपरान्ह ओली निवास बालकोटमै छलफल हुनेछ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १४ गते शनिवार