• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

रंगेलीमा एमालेको शक्ति प्रदर्शन : दुई पटक दुर्घटना भोगेको एमालेले गर्‍यो त्यो क्षतिको भर्पाई


मोरङकोरंगेलीमा पछिल्लो ६ वर्षभित्र दुई वटा ‘दुर्घटना’ मा परेर ठूलो राजनीतिक क्षति ब्यहोरेको नेकपा एमालेले बुधबार त्यसको भपाई हुने गरी शक्ति प्रदर्शन गरेको छ। रंगेली नगरपालिकाका प्रमुख र उपप्रमुखसहित‘पाँच हजारभन्दा बढीलाई पार्टी प्रवेश गराएको’ घोषणा गरिरहँदा रंगेलीमा जारी आमसभामा सहभागी एमाले नेताहरू उत्साही देखिए।२०७४

को स्थानीय चुनावमा माओवादीबाट नगर प्रमुखमा निर्वाचित बनेका दिलिप बगडिया र उपप्रमुख केशवकुमारी खरालसहितका स्थानीय नेतालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन्। बुधबारको यो घटनालाई एमाले नेताहरूले अघिल्ला दुई दुर्घटनाको क्षतिपूर्ति ठानेका छन्। एमालेले रंगेलीमा भोगेको पहिलो दुर्घटना २०७२ माघ ७ मा व्यहोरेको थियो। जसले उसलाई दोस्रो दुर्घटना अर्थात २०७४ को स्थानीय चुनावमा रंगेलीमा तेस्रो स्थानमा खुम्च्याइदिएको थियो। यसलाई एमालेले आफ्नो ठूलो सफलताको रूपमा लिएको छ। प्रमुख, उपप्रमुख र दुई जना वडाध्यक्षसहित विभिन्न सात वटा पालिकाबाट पाँच जारभन्दा बढीलाई पार्टीमा प्रवेश गराएको एमाले नेताहरुले बताएका छन्। एमालेले २०७२ मा सामना गरेको पहिलो दुर्घटना थियो, तत्कालीन मधेशी मोर्चासितको झडप थियो। त्यसबेला जसरी पनि कार्यक्रम गर्ने एमालेको जबरजस्ती र त्यसलाई कसैगरी रोक्ने तत्कालीन मधेशी मोर्चाको हठले ६ वर्षअघि मोरङको रंगेलीलाई रणमैदान बनाएको थियो। त्यही घटनामा तीन जना सर्वसाधारण मारिएको ठ्याक्कै ६ वर्षपछि बुधबार रंगेलीमा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेर सम्बोधन गरिरहेका छन्।

त्यसो त त्यसबेला पनि रंगेलीको एमालेसभामा ओली नै आउने तयारी थियो। २०७२ माघ ७ गते बिहीबार ओली रंगेली आएनन्। तत्कालीन महासचिव ईश्वर पोखरेल मात्रै आए। त्यही कार्यक्रमको निहुँमा झडप भयो। प्रहरीले गोली चलाउँदा तीन जना सर्वसाधारण मारिए। आन्दोलनकारी मारिएका कारण मुलुकभर आक्रोश बढिरहेको थियो। ठीक त्यहीबेला मधेश आन्दोलनलाई सबैभन्दा बढी दुर्वचन प्रयोग गर्ने नेता थिए एमाले अध्यक्ष ओली। ‘कुहिएका आँप झर्छन्,’ भनेर मधेश आन्दोलनको अपमान गरेको भन्दै ओलीसँग आन्दोलनकारी क्रुद्ध थिए। ओली तथा एमालेका नेताहरुको निरन्तरको मधेशविरोधी अभिव्यक्तिकै कारण रंगेलीमा एमाले–मोर्चा झडप निम्त्याएको थियो।

२०७२ माघ ७ को त्यो घटनापछि मुलुकमा धेरै परिवर्तन आइसकेको छ। यद्यपि त्यो घटनाका पीडित र प्रभावितहरुलाई भने अझै पनि त्यो दिनले झस्काउँछ। त्यसयता एमाले र माओवादी मिलेर चुनाव लडे। दुई तिहाई नजिकको बहुमत ल्याए। उनीहरूलाई नै सघाएर मधेशवादी दलहरु सत्तासीन भए। दुई पटकको संसद् विघटनको प्रयास विफल भएपछि अहिले ओली सत्ताबाहिर छन्। मुलुकको राजनीतिमा आएको यो तीव्र बद्लावका बीच पनि रंगेलीबासीले ६ वर्ष अघिको त्यो घटना चाहेर पनि भुल्न सकेका छैनन्।

२०७२ साल माघ ७ गते एमाले भ्रातृसंस्था युवा संघले रंगेलीमा शक्ति प्रदर्शनको तयारी गरेको थियो। मधेश आन्दोलन उत्कर्षमा रहेका कारण मधेशी बाहुल्य रंगेली पनि आन्दोलनको तापमा थियो। त्यहीबेला युवा संघले ‘मधेशी मोर्चालाई देखाइदिने’ भन्दै रंगेलीमा सभाको आयोजना गरेको थियो। मोर्चाले भने कार्यक्रम नगर्न आग्रह गरेको थियो । मधेश आन्दोलनप्रति सधैं नकारात्मक रहेका एमाले नेताहरु मानेनन् । एमालेले इलाका प्रहरी कार्यालय नजिकै मञ्च बनाएर कार्यक्रम गर्ने तयारी गर्‍यो भने मधेसी मोर्चाले पनि काली मन्दिर नजिकै सभा गर्ने तयारी गर्‍यो। एक्कासी मधेशी मोर्चाले एमाले कार्यक्रम बिथोल्ने प्रयास गरेपछि झडप सुरु भयो। प्रहरीले चलाएको गोली लागेर सुनवर्षी– ७ का महादेब ऋषीदेब, सुनवर्षी –९ कै शिवु माझी र रंगेली – ६ की द्रौपदीदेवी चौधरीको मृत्यु भयो।

त्यसअघि पनि एमालेका स्थानीय नेताको घरमा ढुंगा हान्ने काम आन्दोलनकारीले गरेका थिए। तीन जनाको ज्यान जाने गरी घटना भएपछि तनाव झनै उत्कर्षमा पुग्यो। ‘त्यसको असर हामीले स्थानीय निर्वाचनमा भोग्नुपर्‍यो,’ एमाले मोरङका एक नेता भन्छन्, ‘एमाले पूरै मधेश विरोधी दलजस्तो भयो। अब रंगेलीमा अवस्था बद्लिएको दृश्य आजबाट सुरू भयो।’ रंगेली माओवादीको बलियो पकड भएको नगरपालिका मानिन्छ। युवा नेता शिवकुमार मण्डलको निर्वाचन क्षेत्रमा पर्ने रंगेलीका स्थानीय तहका प्रमुख र उपप्रमुख नै स्थानीय चुनाव नजिकै आउँदा एमाले प्रवेश गरेपछि माओवादीले धक्का व्यहोरेको छ ।

माओवादीबाट निर्वाचित प्रमुख र उपप्रमुखसहितका जनप्रतिनिधिलाई पार्टीमा भित्र्याउन पाएको सफलतालाई एमालेले आउँदो निर्वाचनमा मतपत्रमा पनि अनुवाद गराउला ? त्यसका लागि भने वैशाख ३० को स्थानीय चुनाव कुर्नुपर्नेछ।

प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते बुधवार