• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

घाइतेको उद्धारका लागि हेलिकोप्टर संखुवासभा जाँदै


गृहमन्त्री बालकृष्ण खाणले संखुवासभाको मादी नगरपालिका वडा नं ६ पुलुङस्थित सात घुम्तीमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूलाई उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिएका छन् । बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएकाले मृतकहरुको उद्धार गर्न हेलिकोप्टर पठाउन लागिएको गृहमन्त्रालयले जनाएको छ ।

उनले गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टर प्रयोग गरेर यथाशिघ्र उद्धार गर्न निर्देशन दिएका हुन् । ‘मन्त्रीन्यूबाट घाइतेहरूको हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन भएको छ । हामीले नेपाली सेनासँग सम्पर्क गरेर हेलिकोप्टर उद्धारका लागि संखुवासभाको चैनपुरमा पठाउने तयारी गरिरहेका छौँ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । संखुवासभाका प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार मादीबाट धरान जान लागेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने पाँच जना गम्भीर घाइते छन् । गम्भीर घाइते ५ जनालाई चैनपुरबाट हेलिकोप्टरमा धरान लैजाने तयारी भइरहेको प्रजिअ खतिवडाले जानकारी दिए । घटनास्थल जिल्ला सदरमुकामबाट ६० किलोमिटर टाढा छ ।

संखुवासभा दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो

सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । बिहीबार बिहान मादी नगरपालिका–६ को पुलुड्ड स्थित सात घुम्तीमा दुर्घटना दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो । ना ४ ख ७३५ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको संखुवासभा प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । ​

अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १४ जनाको शव निकालिएको डिएसपी सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान भने भएको छैन । दुर्घटनामा पाँच जनाको जिवितै उद्धार गरिएको छ ।

स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ । दुर्घटनामा कति जनाको ज्यान गयो भन्ने विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए । घाइतेहरुको चैनपुर अस्पतालमा उपचार भइरहेको छ । क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुवेदीले बताए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते बिहिवार