• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

तीनै तहमा गठबन्धन गर्नुपर्छ, अनावश्यक रुपमा नचिढ्याउनुस् : देउवा


वीरगञ्ज ।प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचनमा गठबन्धनलाई बेवास्ता गर्न नमिल्ने बताएका छन् । नेपाली कांग्रेस सभापति समेत रहेका प्राधनमन्त्री देउवाले केन्द्रदेखि स्थानीय तहसम्म मिलेर जानुपर्ने बताएका हुन् ।बिहीबार कांग्रेसको पर्सा जिल्ला समितिका नवनिर्वाचित कार्यसमिति सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रममा कांग्रेस सभापतिसमेत

रहेका देउवाले भने, ‘गठबन्धनका साथीहरुको सहयोगले म प्रधानमन्त्री भएको हुँ । गठबन्धनका साथीहरुलाई बेवास्ता गर्न मिल्दैन ।’गठबन्धनमा आवद्ध दलहरुबीच स्थानीयदेखि माथिल्लो चुनावमा तालमेल गर्न छलफल हुने उनले बताए ।अहिलेको निर्वाचन प्रणालीमा कुनै पार्टीले एक्लै बहुमत ल्याउन नसक्ने भन्दै देउवाले गठबन्धन गर्नैपर्ने बाध्यता रहेको जिकिर गरे । ‘संविधान अनुसार कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन सक्दैन, कसै न कसैसँग मिल्नुपर्ने आवश्यकता छ,’ उनले भने, केही ठाउँमा समस्या होला, तर कुराकानी गरेर मिल्नुपर्छ ।’देउवाले अघि भने, ‘एक्लै लड्दा धेरै ठाउँमा हारेका थियौं । गठबन्धन गरेर स्थानीय तहदेखि प्रदेश र केन्द्रमा पनि भोलि सरकार बनाउने हिसाबले अघि बढ्न सक्छौं ।’

प्रजातन्त्र र कांग्रेसका लागि पनि अहिलेको गठबधन जोगाउनुपर्ने भन्दै देउवाले साझेदार दलहरुको आलोचना नगर्न आग्रह गरे । उनले भने, ‘त्यसकारण हाम्रो बोली भाषाले गठनबन्धनका भाषाले अन–नेसेसरीली चिढ्याउने काम गर्नु हुँदैन ।’सबै पार्टीको सहयोगले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास भएको र यसले नेपालको आर्थिक विकासमा ठूलो भूमिका निर्वाह गर्ने देउवाले बताए ।

‘एमसीसी अनुदानमा आएको पैसा हो । यसको सदुपयोग गर्न सक्यो भने भोलिका दिनमा अमेरिका लगायत अन्य देशबाट लिन सक्छौं,’ प्रधानमन्त्री देउवाले भने, ‘देशको विकास छिटो हुन्छ, विकास भएको खण्डमा रोजगारी बढ्छ । रोजगारी बढेको खण्डमा राष्ट्र सम्पन्न भएर जान्छ । विशाल छिमेकी भारत र चीनसँग मित्रता छ, यो राष्ट्रिय आवश्यकता पनि हो ।’

कांग्रेस सभापति समेत रहेका देउवाले भारत र चीनसँग राम्रो सम्बन्ध राखेर अन्य देशबाट नेपालको विकासका लागि सहयोग लिएर अगाडि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते बिहिवार