• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

‘प्रचण्ड’ जनयुद्धका नायक होइनन्, जनतामारा नेता हुन् : आरती भण्डारी


रौतहट ।नेकपा (एमाले) मधेस प्रदेशका उपसचिव आरती भण्डारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनयुद्धको नायक नभई जनतामारा भएको आरोप लगाएकी छिन् । रौतहटको वृन्दावन नगरपालिका–४ को नेकपा (एमाले)को वडा अधिवेशनलाई सम्बोधन गर्दै उपसचिव भण्डारीले यस्तो बताएकी हुन् ।प्रचण्डले कहिल्यै पनि जनताको

हकहितको लागि काम नगरेको भन्दै उनलाई जनयुद्धको नायक मान्न नसकिने विचार व्यक्त गरेकी छन् । उनले भनेकी छन्, ‘जनयुद्धको नाममा जनताको रगत बगाउन उत्प्रेरित गर्ने प्रचण्डलाई जनयुद्धको नाम लिने अधिकार छैन् । प्रचण्ड जनयुद्धको नायक होइनन्, जनतामारा नेता हुन् । उनले कहिल्यै पनि जनताको निम्ति काम गरेनन् ।’जनताको निम्ति लड्ने नेताहरु रामबहादुर थापा, टोप बहादुर रायमाझी, प्रभु साहलगायतका माओवादी केन्द्रका नेताहरु नेकपाको निरन्तरतासँगै एमालेमा रहेको भन्दै उनले पाँच दलमात्र नभएर देशको सारा शक्ति एक ठाउँमा उभिएपनि एमालेको जितलाई कसैले रोक्न नसक्ने ठोकुवा गरिन् ।

उनले एमालेमा प्रवेश गर्नेको लहर देशैभर उत्साहजनक रहेको र निर्वाचित जनप्रतिनिधिहरु पनि धमाधम एमालेमा प्रवेश गरिरहेकाले स्थानीय तहको निर्वाचनसम्म माओवादीमा जनप्रतिनिधिको खडेरी आउने दावी गरिन् ।उनले एमालेबाट दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकहरुले पार्टी छाडेपछि पार्टी थप लोकप्रिय हुँदै गइरहेको कुरा दिनुहँ पार्टी प्रवेश गर्नेहरुको संख्याले देखाइरहेको बताइन् । सो वडा अधिवेशनले विजय यादवको अध्यक्षतामा ६५ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा राजदेव राम, सचिवमा प्रमानन्द राय, उपसचिवमा नन्दकिशोर राम र मुकेश झा रहेका नेकपा एमाले मधेस प्रदेश सदस्य वैजनाथ सहनीले जानकारी दिए ।

कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश सदस्य अखिलेश्वर चौधरी, नेकपा एमाले रौतहट जिल्ला कमिटी उपाध्यक्ष दिपक यादव, उपसचिव पलट चौधरी, नेकपा एमाले वृन्दावन नगर कमिटी अध्यक्ष संजय पटवालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते शुक्रवार