• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

एमालेसँग चुनावी तालमेलको ढोका खुलै छ : वर्षमान पुन


कपिलवस्तु, २ चैत : नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले आफूहरूले एमालेसँग चुनावी सहकार्यको ढोका बन्द नगरेको बताएका छन् ।पुनले संघ, प्रदेश र स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धनआवद्ध काँग्रेस, एकीकृत समाजवादी र संघीय समाजवादीसँग तालमेलमा जोड दिने तर, एमालेसँग पनि ढोका बन्द नराख्ने नीति आफूहरूको

रहेको बताए ।सत्ता गठबन्धनका दलहरू बीचमै चुनावी तालमेल गर्नेमा हाम्रो जोड रहन्छ’, पार्टीको लुम्बिनी प्रदेश बैठकलाई बुधबार सम्बोधन गर्दै पुनले भने, ‘एमालेसँग पनि ढोका बन्द छैन ।’ यद्यपि माओवादी एक्लै निर्वाचन लड्न सक्षम रहेको उनको दावी छ ।‘चुनावी तालमेल र सहकार्यलाई अस्वीकार गर्दैनौं, तर आफ्नै बलमा चुनाव लड्न सक्षम छौं’, पुनले भने । उनले बहुमत स्थानीय तह जितेका कांग्रेस एमालेका जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । तर, माओवादीले जितेका स्थानीय तहमा राम्रो र नमुना योग्य काम भएको उनको भनाइ छ ।कार्यसम्पादनमा उत्कृष्ट पाँच पालिकामध्ये तीन पालिका माओवादीले जितेका भएबाट पनि माओवादीले स्थानीय तहमा राम्रो गरेको प्रमाणित हुने उनले बताए ।‘देशभर उत्कृष्ट ठहरिएका पाँचमध्ये तीन हामीले जितेका पालिका भएका छन्, यसले पनि हाम्रो क्षमता दर्शाउँछ’, उनले भने । माओवादीले जितेका ११६ वटै पालिकामा अन्य दलले जितेकाभन्दा राम्रो काम भएको दाबी उनले गरे ।

‘दुई पार्टी सिस्टम लागू गर्ने षड्यन्त्र हुँदैछ, यो चुनाव जीवन मरणको लडाइँ’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक प्रशिक्षणका लागि देश दौडाहामा छन् । एमसीसीका कारण दुई ध्रुवमा बाँडिएको पार्टी पङ्क्तिलाई एक ढिक्का बनाएर चुनावमा केन्द्रित गर्ने प्रयासमा प्रचण्ड रहेका छन् । पार्टीको निर्णयानुसार प्रदेश १, बागमती, कर्णालीदेखि सुदूरपश्चिम प्रदेशमा विशेष प्रशिक्षण दिइसकेका प्रचण्डले बुधबार काठमाडौँमा गैरभौगोलिक ३ प्रदेशको संयुक्त प्रशिक्षण कार्यक्रममा पार्टीका नेता कार्यकर्तामा देखिएको विचलन, चुनावी रणनीतिदेखि विविध विषयमा आफ्नो धारणा राखे । प्रशिक्षणमा बोल्दै प्रचण्डले हिजो युद्धको समयमा मर्नका लागि तँछाडमछाड गर्दै झगडा गर्ने नेताहरू नै आज पदका लागि मरिहत्ते गर्ने अवस्थामा पुगेको भन्दै असन्तुष्टि पोखे ।

‘पार्टीभित्र वैचारिक अस्पष्टता बढ्दो छ । अराजकता, गुटबन्दी बढ्दो छ । पदलोलुपता बढ्दो छ’, आक्रोशित भावमा प्रचण्डले भने, ‘यही पार्टी हो, हिजो युद्धको समयमा मर्न जान पाइएन भनेर झगडा गर्नेको जमात हुन्थ्यो । अहिले पद पाइएन भनेर रुने कराउने र भाग्नेको जमात भयो ।’नेता कार्यकर्तामा देखिएको अवसरवादी प्रवृत्तिप्रति पनि प्रचण्डले आक्रोश पोखेका थिए । ‘अनौठो लाग्छ, अस्ति शहीद बन्नका लागि झगडा गर्ने तिनै साथीहरू अहिले पद र पैसा नपाउँदा अर्कै हुन्छौँ,’ प्रचण्डको भनाइ थियो ।

क्रान्तिकारी पार्टी निर्माण र रूपान्तरणको प्रक्रिया सुरु भयो भनिए पनि वास्तवमा त्यस्तो हुन नसकेको प्रचण्डको भनाइ थियो । क्रान्ति र रूपान्तरणको कुरा फगत उपदेशजस्तो भएको उनको जिकिर थियो । ‘क्रान्ति र रूपान्तरणका निम्ति कुनै उल्लेख्य सुधार नभएर औपचारिकताका लागि थेगे जस्तो भएको छ’, प्रचण्डको भनाइ थियो । संगठनको स्थिति र नेता कार्यकर्ताको वैचारिक स्तर तथा आचरण हेर्दा दिनप्रतिनिदन कम्युनिस्ट आन्दोलनबाट विचलनतर्फ गएको महसुस भएको प्रचण्डको भनाइ थियो । क्रान्तिको गरिरहेपनि पार्टी बिस्तारै बुर्जुवाकरण भइरहेको र अराजकता बढिराखेकाले समस्या पैदा भएको प्रचण्डको भनाइ थियो ।

सुरुमा चिनियाँ कम्युनिस्ट पार्टीमा पनि यस्तो समस्या देखिएका उल्लेख गर्दै प्रचण्डले पछि माओले फरक ढङ्गले क्रान्तिलाई अगाडि बढाउँदा सफलता मिलेको र माओवादी पनि सच्चिन जरुरी रहेको धारणा राखे ।

प्रकाशित मिति : २०७८ चैत्र २ गते बुधवार