• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमालेमा प्रवेश


काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् ।पार्टीबाट असन्तुष्ट शर्माले दुई दिन अगाडि माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका थिए ।काठमाडौंमा आज बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले शर्मा र उनकी पत्नी सीतालाई पार्टीमा स्वागत गरे ।

शर्मा नेकपा माओवादी केन्द्रको घोराही उपमहानगर कमिटीको अध्यक्ष थिए । अघिल्लो स्थानीय तह निर्वाचनमा उनकी पत्नी सीता घोराही उपमहानगरपालिकामा उपमेयरको उम्मेदवार थिइन् तर पराजित भएकी थिइन् ।
प्रमोद शर्मा को हुन् ?
प्रमोद शर्माले लामो समयसम्म कृष्ण बहादुर महराको स्वकीय सचिव भएर काम गरेका थिए । महरा जतिपटक मन्त्री बने त्यति नै पटक उनी स्वकीय सचिव बनेका थिए ।प्रमोद शर्माको पूरै परिवार माओवादी आन्दोलनमा थियो । पुरानो घर रुकुम भए पनि उनका बुवा हरिप्रसाद शर्मा दाङको घोराहीमा बसाइँ सरेर आएका थिए । बुवा हरिप्रसाद माओवादी सरकारको पालामा गुठी संस्थानको अध्यक्ष नियुक्त भएका थिए ।

प्रमोदकी आमा माओवादी केन्द्र दाङको जिल्ला सल्लाहकार छिन् । प्रमोदको ठूल्दाइ प्रदीप शर्मा माओवादी आन्दोलनमा मारिएका थिए । उनलाई पार्टीले शहीदको सम्मान दिंदै आएको छ ।
उनका माहिलो दाइ प्रकाश शर्मा अहिले पनि माओवादी केन्द्रमै छन् । प्रकाश घोराही उपमहानगरपालिका वडा नम्बर १५ को सचिवालय सदस्य छन् । उनका कान्छो भाइ प्रवीण शर्मा माओवादी केन्द्रको दाङ जिल्ला समन्वय समितिको सदस्य छन् । अखिल क्रान्तिकारीका नेतासमेत रहेका प्रवीण घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति बनेका थिए ।

प्रमोदकी पत्नी सीता चौधरी पनि शहीद परिवारकी सदस्य हुन् । सीताका दाजु माओवादी केन्द्र घोराही नगर कमिटीका सचिव छन् ।प्रमोद घोराही नगरकमिटी अध्यक्ष थिए । उनी लुम्बिनी प्रदेश कमिटी सदस्यको आकांक्षी थिए । तर प्रदेश कमिटीमा नपरेपछि चर्को असन्तुष्टि व्यक्त गर्दै माओवादी केन्द्र छाडेको घोषणा गरेका थिए । उनले असन्तुष्टि जनाउँदै फेसबुकमा अस्वाभाविक ढंगले श्रृंखलाबद्ध स्टाटसहरु राखेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र १० गते बिहिवार