• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

काठमाडौं उड्नु अघि दिल्लीमा नेपालबारे चिनियाँ विदेशमन्त्री वाङले के कुरा गरे ?


काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यीले पुन : भारत–चीन प्लस अर्थात टु प्लस वानको अवधारणा अघि बढाएका छन्। भारतीय राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभलसँग शुक्रबार भएको भेटमा उनले सो प्रस्ताव गरेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन्। सो अवधारणाको मुख्य उद्देश्य दक्षिण एसियाली मुलुकहरुमा ठूला विकासका परियोजनासहित अन्य विषयमा चीन–भारत मिलेर जाने हो।

साथै, दक्षिण एसियामा बढ्दो अमेरिकी प्रभाव कम गर्नु चीन–भारत सहकार्यको अर्को उद्देश्य हो। सो अवधारणा सबैभन्दा पहिला सन् २०१७ मा चिनियाँ राष्ट्रपति सी जिङपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटमा यो विषयले प्रवेश पाएको थियो।

त्यसैगरी सन २०१९ मा नेपाल आउनुअघि चिनियाँ राष्ट्रपति सीले मोदीसँग यही विषयमा कुरा गरेका थिए। सो सहकार्य नेपालबाट सुरु गर्ने र अन्य मुलुकमा पनि विस्तार गर्ने चिनियाँ प्रस्ताव छ। यस विषयमा सन् २०१८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बेइजिङ भ्रमणको समयमा राष्ट्रपति सीले ओलीलाई जानकारी गराएका थिए। यस विषयमा भारतले केही ठोस प्रतिक्रिया दिएको छैन। भारत–चीन प्लस सहकार्य यस अगाडि अफगानिस्तानमा आशिंक रुपमा कार्यान्वयन भएको छ।

सन् २०१७ मा भारत र चीनले अफगानिस्तानका सुरक्षाकर्मीलाई संयुक्त तालिम दिएका थिए। अहिले नेपालमा रहेका चिनियाँ विदेशमन्त्री वाङले टु प्लस वानको अवधारणाबारे कुरा उठाउने तयारी गरेका छन्। चिनियाँ विदेशमन्त्री वाङले शनिबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दैछन्।

विदेशमन्त्री वाङले आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्दैछन्। विदेशमन्त्री वाङले देउवा, ओली र प्रचण्डसँगको भेटका क्रममा नेपाल मामिलामा भारत–चीन प्लस अर्थात टु प्लस वानको अवधारणामा छलफल गर्ने तयारी गरेको स्रोतले बताएको छ।

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार