लुम्बिनी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुगेका छन्। मोदी भारतको बौद्ध सहर कुसीनगरबाट सोमबार हेलिकोप्टरमार्फत् लुम्बिनी आइपुगेका हुन्। मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका छन्। मोदीको स्वागतका लागि प्रधानमन्त्री देउवा आइतबार नै लुम्बिनी पुगिसकेका थिए।
उनको भ्रमण टोलीमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्रसचिव विनयमोहन क्वात्रासहित ११ सदस्यीय रहेका छन्। मोदी लुम्बिनीमा करिब ६ घन्टा बिताएर आजै स्वदेश फर्किने कार्यक्रम छ।मोदीले मायादेवी मन्दिरमा पूजाआजा गर्नेछन्। पूजामा समकक्षी देउवा पनि सहभागी हुनेछन्। त्यसपछि मोदीले भारत सरकारले निर्माण गर्ने इन्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिस्ट कल्चर एन्ड हेरिटेज शिलान्यास गर्नेछन्। करिब ३ अर्ब लागतमा जर्मन मन्दिरनजिकै भारतले यो बिहार बनाउन लागेको हो। लुम्बिनीमा भारतले नै निर्माण गरेको अर्का बिहारसमेत छ।
मोदी भ्रमणकै क्रममा सांस्कृतिक, शैक्षिक एवं प्राविधिक विषयमा सहकार्यका लागि पाँचवटा सम्झौतापत्रमा दुई देशबीच हस्ताक्षरसमेत हुनेछ। लुम्बिनी बौद्ध विश्वविद्यालय र इन्डियन काउन्सिल फर कल्चरल रिलेसन (आईसीसीआर) बीच सम्झौता हुन लागेको हो। दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्झौतापत्र आदानप्रदान हुनेछ।
काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सेन्टर फर नेपाल एन्ड एसियन स्टडिजको सहकार्य सम्झौता हुनेछ। काठमाडौं विश्वविद्यालयसँग नेपाल एन्ड इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मदरासबीच सम्झौता हुनेछ। लुम्बिनीमा प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच दुईपक्षीय वार्ता हुनेछ। त्यसअघि परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटघाट हुनेछ।
मोदीले मायादेवी मन्दिरमा पूजाआजा गर्ने भएकाले झकिझकाउ बनाइएको छ। मायादेवी मन्दिर, बुद्धजयन्तीको मूल समारोह हुने ५ हजार क्षमताका ध्यान केन्द्रलाई झकिझकाउ पारिएको छ। लुम्बिनीको २ नम्बरदेखि ९ नम्बर गेटतर्फको बाटोलाई दुई देश र बौद्ध झन्डा राखेर सजाइएको छ। विभिन्न स्थानमा प्रवेशद्वारहरू निर्माण गरिएको छ।