• २०८१ भाद्र ३१ गते सोमवार
  • Preeti To Unicode

काठमाडौंमा मेयर बन्न ७० हजार मत चाहिन्छ, दुई/तीन हजार ल्याएर कसैले जितिहाल्ने होइन


काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह जारी मतगणनामा तेस्रो स्थानमा छिन्। पहिलो स्थानमा स्वतन्त्र उम्मेदवार बालेन शाह छन् भने दोस्रो स्थानमा नेकपा एमालेका केशव स्थापित छन्। राजनीतिक दलका प्रतिनिधिहरूसँगै स्वतन्त्र उम्मेदवार बालेन शाह पनि मतगणनाबारे टिप्पणी गर्न अहिल्यै तयार छैनन्। एमाले उम्मेदवार केशव स्थापितले काठमाडौंको भित्री नेवार बस्तीको गणनापछि मात्रै राय बनाउनु उपयुक्त हुने बताएका छन्।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहसँग निकट रहेकी काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी अहिले नै मतगणनाको परिदृश्य आकलन गर्न नसकिने बताउँछिन्। ‘१ लाख ८० हजार बढी मत गन्नै बाँकी छ। भर्खर ५–६ हजार मतगणना भयो। तुरून्त यही हुन्छ भन्न सकिन्न,’ खड्गीले सेतोपाटीसँग भनिन्, ‘२–३ हजार मत ल्याएर कसैले जितिहाल्छ भन्ने होइन।’बालेन शाहले ल्याएको मतले काठमाडौंमा युवाहरूले परिवर्तन खोजेको अनुभव भएको खड्गीले बताइन्।’युवाहरूले परिवर्तन खोजेको अनुभव गरेको छु। युवाहरूले बालेन शाहलाई मत दिएकाले अगाडि आएको देखिन्छ,’ खड्गीले भनिन्, ‘परिदृश्य दुई तीन दिनपछि मात्र थाहा हुन्छ। अहिले तुरून्तै भन्न सकिन्न।’

उनले सिर्जना सिंह तेस्रो स्थानमा रहनुको कारण वडा नं ३२ को मतपरिणाम भएको बताइन्।’वडा नं ३२ को गणना अझै सकिएको छैन। त्यहाँ गठबन्धन भएका कारण कांग्रेसले वडा अध्यक्ष पाएको छैन। दुई जना सदस्य मात्र पाएको छ’, खड्गीले भने, ‘त्यो बालेन शाहको क्षेत्र भएकाले त्यहाँ प्रभाव परेकाले अघि लागेको देखिन्छ।’तर वडा नं ३२ को मत गणनामा दोस्रो र तेस्रो स्थानमा रहेका उम्मेदवारले लगातार मत प्राप्त गरिरहेको तर्फ पनि ध्यान दिनुपर्ने उनले उल्लेख गरिन्।

‘एक जना उम्मेदवारको १५ देखि २० हजार मत गणना गरेपछि परिदृश्य देखिन्छ,’ खड्गीले भनिन्, ‘अघिल्लो पटकको गणनामा पनि परिदृश्य देखिन ७ देखि ८ दिन लाग्यो।’खड्गीले अहिले सुनिता डंगोलले मत पाएजस्तै ७४ सालमा पनि सुरूआतदेखि एकनासले मत आइरहेको उल्लेख गरिन्।उनले सिर्जना सिंहको पक्षमा वडा नं १६, १४, १५ र १८ बाट असर देखिने दाबी गरिन्।

‘कोर एरिया नछिरेसम्म भन्न सकिन्न,’ खड्गीले भनिन्, ‘मेयर जित्न विद्या सुन्दरलाई ६४ हजार चाहिएको थियो। अहिले पनि त्यति नै अथवा ७० हजार आउनुपर्छ। एक जनाको २० हजार जति एउटा मान्छेको कटेपछि बल्ल थाहा हुन्छ। १ लाख ९१ हजार त भोट खसेको छ।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार