• २०८१ कार्तिक १४ गते बुधवार
  • Preeti To Unicode

भीम रावलको गृह जिल्लामा कस्तो छ एमालेको हालत ?


अछाममा १० पालिकामध्ये सात पालिकाको नजिता आएको छ । जसमा नेपाली काँग्रेसले एक नगरपालिका र चार गाउँपालिकामा जित हासिल गरेको छ । काँग्रेस कमलबजार नगरपालिका, रामारोशन, ढकारी, चौरपाटी र बान्नीगढी गाउँपालिकामा निर्वाचित भएको छ ।

काँग्रेसले यसपटक एमालेबाट चौरपाटी र माओवादीबाट रामारोशन गाउँपालिकामा खोसेको छ । यद्यपि तुर्माखाद गाउँपालिका भने गुमाएको छ । कमल बजार नगरपालिकाको मेयरमा काँग्रेसका यज्ञ प्रसाद ढकाल निर्वाचित भएका छन् । ढकाल ४ हजार २८८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कटक बहादुर साउदले ४ हजार ६५ मत पाएका थिए । उपप्रमुखमा भने एमाले उम्मेदवार सुश्री शारदा कुमारी बिष्टले विजयी भएकी छिन् । उनले ४५२८ मत पाएकी छन् । काँग्रेसकी गौरी भण्डारीले ३६४८ मत मात्र प्राप्त गरिन् ।

यस्तै बान्‍नीगढी जयगढ गाउँपालिकामा काँग्रेसका टेकबहादुर साउँद विजयी भएका छन् । टेकबहादुरले एमालेका लोकबहादुर साउँदलाई ४ सय ९८ मतान्तरले पराजित गरेका हुन् । टेकबहादुरले ३ हजार ११२ मतसहित विजयी हुँदा लोकले २ हजार ६१४ मत मात्र पाए । उपाध्यक्षमा भने एमालेका विन्दु रावल निर्वाचित भएकी छन् । रावल २ हजार ७ सय ३१ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्र उम्मेदवार निर्मला साउँदले २ हजार ७ सय १७ मत पाइन् ।

यस्तै ढकारी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका प्रकाशबहादुर साउँद विजयी भएका छन् । उनले ३ हजार १८१ मतका साथ विजयी हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका धर्मबहादुर शाहीले २ हजार ५५५ मत पाए । उपाध्यक्षमा पनि काँग्रेसकै नेत्रकला देवी शाही ३ हजार १०० मतका साथ विजयी भइन् । उनकी निकटतम प्रतिस्पर्धी माया देबी बुढाले २ हजार ५७३ मत पाइन् । चौरपाटी गाउँपालिकामा पनि काँग्रेस विजयी भएको छ । अध्यक्षमा काँग्रेसका भीमबहादुर साउद ३ हजार ९ सय ८२ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका राम आउजीले २५०६ मत पाएका थिए ।

उपाध्यक्षमा पनि काँग्रेसकै सरदेजी खड्का विजयी भएका छन् । खड्का ३ हजार ७ सय ३४ मत प्राप्त गरे । एमालेकी खनिता खड्काले २४९१ मत पाएकी थिइन् । गत निर्वाचनमा एमालेले एक मतले जितेको चौरपाटी यसपटक काँग्रेसले हात पारेको छ । यस्तै काँग्रेसले माओवादी केन्द्रबाट रामारोशन गाउँपालिका खोसेको छ । अध्यक्षमा काँग्रेसका मानबहादुर साउँद निर्वाचित भएका छन् । साउँदले ३ हजार १२७ मत ल्याउँदा माओवादी केन्द्रका पहलबहादुर साउँदले २ हजार ८९७ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा भने माओवादी केन्द्रका सिर्जना बुढा ३ हजार २८ मतले विजयी भएकी थिइन् । उपाध्यक्षमा एमालेका उम्मेदवार वसन्ती साउँदले २ हजार २२८ मत ल्याएकी थिइन् । नेकपा एमालेका नेता भीम रावलको गृह जिल्ला अछाम एमाले भने एक गाउँपालिकामा सीमित छ । ०७४ मा काँग्रेसले जितेको तुर्माखाद गाउँपालिका भने यस पटक एमालेले जितेको छ । अछामको तुर्माखाँद गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका डम्बरबहादुर बिसी ३ हजार ५२३ मतसहित विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कर्णबहादुर बुढाले ३ हजार ४९३ मत पाए । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका मन बहादुर वयकले ३ हजार ९१ मत पाएका छन् ।

उपाध्यक्षमा एमालेकै विमलाकुमारी शाही निर्वाचित भएकी छन् । उनले ३ हजार ५०१ मत पाएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी अनुजाकुमारी सिंजापतीले ३ हजार ४५२ मत पाइन् ।

यस्तै माओवादी केन्द्रले पनि मेल्लेख गाउँपालिका जितेको छ । मतगणना जारी रहेको मंगलसेन नगरपालिकामा एमालेको अग्रता छ । मेल्लेख गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका ज्वाला साउद र उपाध्यक्षमा काँग्रेसका नृपबहादुर खड्का निर्वाचित भएका छन् । एमालेबाट उम्मेदवार भीमबहादुर खड्कालाई ९ सय ६० मतान्तरले पराजित गर्दै साउद निर्वाचित भएका हुन् । निर्वाचित साउँदले ५ हजार १ सय ४४ मत पाउँदा एमालेका खड्काले ४ हजार १ सय ८४ मत पाए ।

गाउँपालिका उपाध्यक्षमा निर्वाचित काँग्रेसका खड्काले ४ हजार ४ सय ८४ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका समिता महरले ३ हजार ८ सय ६५ मत पाइन् । रामारोशन गाउँपालिका गुमाएको माओवादीले मेल्लख गाउँपालिका भने जोगाएको छ । पञ्चदेवल विनायक नगरपालिकाको मतगणना आज साँझबाट हुने छ भने साँफेबगर नगरपालिकामा मतगणना ६ गतेपछि हुने छ । जेठ ६ गते वाब्लामा पुनः मतदान भएपछि मात्र साफेबगरको मतगणना सुरु हुने छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार