• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

स्थानीय तह निर्वाचन : यी १० भाग्यमानी उम्मेदवार, जसले १ मतले चुनाव जिते


वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । मतपरिणाम आउने क्रममा विभिन्न रोचक आँकडाहरू पनि आइरहेका छन् । त्यसक्रममा केही स्थानीय तहमा मात्रै १ मतले चुनाव जित्नेहरू पनि छन् । यी हुन त्यस्ता १० भाग्यमानी उम्मेदवार जसले मात्रै १ मतका कारण चुनाव जितेका छन् ।

१) ताप्लेजुङको सिदिङ्वा गाउँपालिका उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्णकुमारी कडरिया १ मतले विजयी भएकी छन् । उनले २ हजार ३ सय ७६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार जीवनकुमार चाम्लिङले २ हजार ३ सय ७५ मत पाएका छन् ।

२) काभ्रेमा ३ स्थानीय तहका ३ वडामा एक–एक मतान्तरले वडाध्यक्षमा विजयी भएका छन् । तेमाल गाउँपालिका वडा नम्बर १ मा एमालेका इन्द्र अधिकारी १ मतले विजयी भएका छन् । उनले ५ सय ३१ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी काँग्रेसका कालदास तामाङले ५ सय ३० मत पाएर पराजित भएका छन् ।

३) काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका सन्तमान थिङ १ मतले विजयी भए । उनले ५ सय ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका आसाराम गोलेले ५ सय ४७ मत प्राप्त गरी पराजित भए ।

४) काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर १ मा काँग्रेसका सुशिल लामा पनि १ मतले विजयी भए । उनले ४ सय २ मत पाउँदा माओवादी केन्द्रका राजु आलेले ४ सय १ मत पाएर पराजित भए ।

५) अर्घाखाँचीको मालारानी गाउँपालिका–६ हंसपुरको वडाध्यक्षमा एमालेका नारायणप्रसाद अर्याल १ मतले विजयी भएका छन् । अर्याल ८ सय ४९ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उदयबहादुर पुन मगर ८ सय ४८ मत ल्याएर पराजित भए ।

६) पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ को अध्यक्षमा काँग्रेसका जयप्रकाश चौरसिया १ मतले विजयी भएका छन् । उनले १ हजार १ सय ८५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हनिफ मियाँ जोलाहाले १ हजार १ सय ८४ मत पाएर पराजित भएका छन् ।

७) गुल्मीको कालिगण्डकी गाउँपालिका २ मा काँग्रेसका उम्मेदवार रेशमराज न्यौपानेले एक मतले वडाध्यक्षमा विजयी भएका छन् । उनले ७ सय ५६ मत पाउँदा माओवादी–एमाले गठबन्धनका उम्मेदवार शोभाखर न्यौपाने ७ सय ५५ मत ल्याएर पराजित भए ।

८) महोत्तरीको महोत्तरी गाउँपालिका–१ मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रञ्जितकुमार चौधरी १ मतले विजयी भए । उनले ३ सय ६६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका मोहम्मद अनामुल राइनले ३ सय ६५ ल्याएर पराजित भए ।

९) महोत्तरीको बर्दिवास नगरपालिका–१४ मा स्वतन्त्र उम्मेदवार विजयकुमार महतो १ मतले विजयी भएका छन् । महतोले ५ सय ८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका भरत हमाल ५ सय सात मत ल्याएर पराजित भए ।

१०) महोत्तरीको बर्दिवास–७ मा पनि स्वतन्त्र उम्मेदवार रामस्वगारथ यादव १ मतले विजयी भएका छन् । उनले ७ सय २७ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका सुरेन्द्रकुमार सिंह कोइरी ७ सय २६ मत ल्याएर पराजित भएका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार