• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

प्रदेश १ को नामाकरणको तयारी, सुरक्षा व्यवस्था कडा पार्न मुख्यमन्त्री राईको निर्देशन


विराटनगरप्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुने सम्भावना रहेको बताएका छन्।साउन ८ गतेबाट प्रदेशसभा बैठक सुरु भई त्यसको एक हप्तापछि नामकरणको प्रक्रिया सुरु हुने सम्भावना आफूले देखेको उनले उल्लेख गरे । मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज

आयोजित सुरक्षा प्रमुखहरूको बैठकलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले नामकरणका बेला हुनसक्ने सुरक्षा चुनौतीबारे सजग रहन पनि आग्रह गरे। प्रदेश नामकरणका लागि प्रदेश सभाका सभामुखले साउन ६ गते बोलाएको सर्वदलीय बैठकबाट एउटा खाका आउनसक्ने उनले उल्लेख गरे।‘साउन ६ गते सभामुखज्यूले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ,’ मुख्यमन्त्री राईले भने, ‘मलाई लाग्छ त्यो बैठकबाट मोटामोटी एउटा चित्र बन्ला।’ उनले उक्त सर्वदलीय बैठकपछि साउन ८ गतेबाट प्रदेशसभाको बैठक सुरु हुने र साउन १५ गतेको आसपासमा नामकरणको प्रक्रिया सुरु हुने कुरालाई दोहोर्‍याए। उनले प्रदेशको नामकरण गर्ने विषय र जिम्मेवारी प्रदेशसभाको भएको उल्लेख गर्दै सरकारले यसमा सहजीकरणमात्रै गर्ने बताए।

यसैबीच मुख्यमन्त्री राईले कोरोना संक्रमण बढ्दै जान थालेकोमा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका उपाय अपनाउनेतर्फको रणनीति बनाउन निर्देशन पनि दिए। उनले जुनसुकै प्रकारका सुरक्षा चुनौती सामना गर्नेगरी तयारी अवस्थामा रहन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिए।

बैठकमा प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, सचिवहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रदेश प्रमुखसहित नेपाली सेना भैरव गणका गणपति, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०७९ साउन २ गते सोमवार