• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

पर्दापछाडि वाम गठबन्धनको तयारी : एमाले र माओवादी केन्द्रबीच सम्भव भए एकता, नभए पनि चुनावी तालमेल


काठमाडौँ राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ उपस्थित हुनु संयोग मात्र थिएन ।उनीहरूको त्यो सहभागिता पर्दापछाडि भइरहेको वाम गठबन्धन प्रयासको एउटा पाटो पनि थियो ।ओली र श्रेष्ठले गत जेठ २९ मा राष्ट्रियता र वाम एकताबारे बालकोटमा दुई घण्टा छलफल

गरेका थिए ।त्यसको एक महिनापछि नेपाल–चीन हिमालय मैत्री समाजले गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक विमर्शमा उनीहरूले एकले अर्काको प्रस्तावलाई ससर्त समर्थन गरे । उनीहरू नेकपा विभाजनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा एकसाथ उपस्थित भएका थिए ।एमाले नेताहरूको नेतृत्वमा रहेको नेपाल–चीन हिमालय मैत्री समाजले ओली र श्रेष्ठलाई एउटै मञ्चमा सहभागी गराएर नयाँ बहसको सुरुवात गर्न खोजेको थियो । अध्यक्ष पुष्पकमल दाहाल दिल्ली भ्रमणमा रहेका बेला कार्यक्रममा सहभागी नेता श्रेष्ठले एमाले र माओवादी केन्द्रबीच एकता हुन नसके पनि चुनावी तालमेल हुनुपर्ने बताएका थिए । माओवादीभित्र अध्यक्ष दाहालसहितका नेता अहिलेकै गठबन्धन निरन्तरताको पक्षमा देखिएका बेला श्रेष्ठ भने खुलेर वाम गठबन्धन र एकताको पक्षमा उभिएका छन् ।

देश जोगाउन वामपन्थी दलबीच एकता हुनुपर्ने र सबैले आत्मसमीक्षा गर्नुपर्ने धारणा उनको थियो । ‘अहिले वामपन्थीहरू एकले अर्कोलाई सिध्याउने, तल पार्ने र एक अर्कोतर्फ सकिने दिशातर्फ गइरहेका छैनौं ? कसले एकअर्कोलाई सिध्याउने भनियो भने वामपन्थी कम्युनिस्ट आन्दोलन सकिन्छ । त्यो दिशातर्फ जानबाट बच्नुपर्‍यो,’ श्रेष्ठको आग्रह थियो, ‘नेपालबाट वामपन्थी आन्दोलन सकियो भने नेपालको राष्ट्रियता कमजोर हुन्छ । देशको अस्तित्व संकटमा पर्छ । त्यसकारण देश सिध्याउने काम हामीले नगरौं । त्यसका लागि वामपन्थीहरूबीच तालमेल, मोर्चा गर्दै अन्यत्रतिर जानुपर्ने आवश्यकता छ ।’

श्रेष्ठले ओली प्रमुख अतिथि रहेको कार्यक्रममा नेताहरूलाई ‘तु शेर तो, हम सवा शेर’ भन्ने छाडिदिनुपर्ने र घटनाक्रमको विषयवस्तुमाथि गम्भीर समीक्षा गर्नुपर्ने बताएका थिए । ‘अहिले आत्मालोचना गर्नुपर्छ भन्ने लाग्छ भने अहिले गरौंला, कति कुरा पछि गर्दा पनि हुनेछन् । पार्टी एकता जोगाउन सकिएन भनेर म आत्मालोचना गर्न तयार छु । सबै विषयमा समीक्षा गरौंला, एकता नभए पनि त्यसले तालमेल गरेर अघि बढ्ने अवस्था हुन सक्छ,’ श्रेष्ठको आग्रह थियो । श्रेष्ठले एकता नभए चुनावी तालमेल गर्नुपर्ने विषय अघि सार्दा दर्शकदीर्घाले ताली बजाएर समर्थन गरेको थियो ।

नेकपा भंगपछि माओवादी र एकीकृत समाजवादीलाई वामपन्थी शक्ति स्वीकार गर्न आनाकानी गरेका एमाले अध्यक्ष ओलीले पनि श्रेष्ठको प्रस्तावमा समर्थन गरे । उनले वामपन्थी दलहरूलाई एकतामा आउन आग्रह गरे । ‘नेपालमा वामपन्थी पार्टीहरू छन् भने कांग्रेसका पछि नलाग्न, गठबन्धन छोड्न, देशघाती काम नगर्न, अनि एसपीपी नगर्न र वामपन्थी एकतामा आउन आग्रह गर्दछु, चौंरीको पुच्छरजस्तो कांग्रेसको पुच्छर भएर हिँड्ने अनि वामपन्थी पार्टी भनेर हुन्छ ?’ ओलीले भने, ‘खै वामपन्थी पार्टी ? कम्युनिस्ट सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्छ भनेर अदालतमा धाउनेहरू वामपन्थी ? म आग्रह गर्न चाहन्छु– कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्, गल्ती भइहाल्यो छोडिदिऊँ । एमालेसँग मिलेर कांग्रेसविरोधी होइन, देशको पक्षमा, लोकतन्त्रको पक्षमा उभिएर काम गर्ने सरकार बनाऔं ।’

नेकपा विभाजनपछि माओवादी केन्द्र र एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीका शीर्ष नेताप्रति चर्को आलोचना गर्दै आएका ओली गठबन्धनको विषयमा पछिल्लो समय ‘सकारात्मक’ देखिएको निकट नेताको दाबी छ । पाँचदलीय गठबन्धनलाई एक्लै र सजिलैसँग परास्त गर्न सक्ने दाबी स्थानीय निर्वाचनमा असफल भएपछि ओली सबै विकल्पमा खुला भएको एमालेकै नेताहरू बताउँछन् ।एमाले र माओवादीका केही नेताहरूले अनौपचारिक रूपमा वाम गठबन्धनको झिनो आशासहित वार्ता गरिरहे पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमणमा रहेकै बेला वर्तमान गठबन्धन कायम रहने प्रतिबद्धता जनाए । यसले तत्काल वाम गठबन्धन हुने सम्भावनालाई खण्डित गरेको छ ।

चुनावलक्षित राजनीतिक ध्रुवीकरण गर्ने घोषणा गरेको एमालेभित्र अन्य वामपन्थी दलसँग तालमेल, मोर्चाबन्दी र एकता गरेर अघि बढ्नुपर्ने मत बढ्दै गएको छ । अहिलेको गठबन्धन जारी रहँदा आमनिर्वाचनमा आफ्नो प्रदर्शन झनै कमजोर हुने निष्कर्षमा पुगेको एमालेले अन्य वामपन्थी शक्तिसँग सहकार्य गर्ने नीति अघि सारेको हो । अहिलेको गठबन्धन कायमै रहे संघीय र प्रदेश निर्वाचन जटिल हुने एमाले नेताहरूको बुझाइ छ ।

एमालेको बुझाइ र अहिलेको गठबन्धनमा भूमिका नपाएका माओवादी नेताहरूको चासोअनुसार दुवैतर्फका नेताहरूबीच वाम गठबन्धनलाई लिएर औपचारिक–अनौपचारिक संवाद भइरहेका छन् । ‘छलफल सबै पक्षसँग हुने भइहाल्यो तर कुरा गम्भीर रूपमा अघि बढेको छैन,’ एमाले उपाध्यक्ष सुवास नेम्वाङले भने, ‘यस विषयमा खासै नयाँ विषय केही छैन । ठोस प्रगति नभई कुनै विषयमा टिप्पणी पनि हुँदैन ।’

स्थानीय चुनाव सम्पन्न भएयता माओवादी नेता श्रेष्ठले दुई पटक एमाले अध्यक्ष ओलीसँग बालकोटमा भेट गरेका छन् । जेठ २९ मा भएको भेटमा श्रेष्ठले नयाँ शिराबाट एकताको विषयलाई अघि बढाउनुपर्ने विषयमा छलफल गरेका थिए । त्यसयता ओलीका विश्वासपात्र मानिने स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटाले पनि माओवादीका नेताहरूसँग पटक–पटक छलफल गरेका छन् । ओलीले श्रेष्ठका अलावा माओवादी नेता बर्षमान पुन, शक्ति बस्नेतसहितका नेताहरूसँग पनि छलफल गरेका थिए ।एमाले उपमहासचिव प्रदीप ज्ञवाली र माओवादी नेता पुनबीच पनि छलफल भएको थियो । नेताहरूका अुनसार एमाले उपाध्यक्ष नेम्वाङ र माओवादी नेता देव गुरुङबीच छलफल भएको छ भने अर्का उपाध्यक्ष विष्णु पौडेल पनि माओवादी र एकीकृत समाजवादीका नेताहरूसँग संवादमै छन् । एमाले र माओवादी नेताहरूबीच टेलिफोनमा पनि निरन्तर कुराकानी भइरहेको छ ।

कमजोर भइसकेको भनिएको माओवादीले स्थानीय तह चुनावमा प्राप्त गरेको सफलतापछि एमालेभित्र पनि गठबन्धन गरेर अघि जानुपर्ने धारणा धेरै छ । ‘अहिले नेतृत्वले झन्डै दुई तिहाइबाट प्रतिपक्षमा आएको विषयलाई गम्भीरतासाथ लिएको छ, त्यसकारण चुनावका लागि वाम गठबन्धन बनाउने, त्यस्तो नभए पनि सबै दल एक्लाएक्लै चुनाव लड्ने परिस्थिति बनोस् भन्ने पक्षमा छ,’ एमालेका एक पदाधिकारी भन्छन्, ‘यसका अलावा एमालेको जोड विभाजित भएर गएकालाई नि:सर्त पार्टीमा फर्काउने पनि छ तर मुख्यत: माओवादीसँग चुनावी तालमेलको विषय प्राथमिकतामा छ ।’२०७४ को आमचुनावमा एमाले–माओवादी गठबन्धनले प्रतिनिधिसभा चुनावमा करिब दुई तिहाइ सिट र ७ मध्ये ६ प्रदेशमा सरकार बनाएको थियो । एमाले र माओवादीबीचको एकता अदालतको फैसलाले भंग भएपछि एमाले संघमा मात्रै नभएर प्रदेशमा पनि प्रमुख प्रतिपक्षी बन्न पुगेको थियो । वैशाख ३० मा भएको स्थानीय चुनावमा पनि एमालेले राम्रो प्रदर्शन गर्न सकेन ।

पछिल्लो समयमा एमालेभित्र माओवादीसँग एकताभन्दा पनि गठबन्धन गरेर चुनावमा जानुपर्ने धारणा बलियो बन्दै गएको छ । ‘माओवादी कांग्रेससँगको गठबन्धन तोडेर आउने हो भने २०७४ मा जस्तै ४० प्रतिशत स्थान पाउँछ, त्यसका लागि एमाले तयार नै छ,’ छलफलमा संलग्न एमालेका एक नेताले भने, ‘जिल्ला तहमा माओवादीका नेताहरू पनि एमालेसँगको गठबन्धनका लागि सकारात्मक नै छन्, एमाले र माओवादीको गठबन्धन नै प्राकृतिक हुने धारणा छ । केन्द्रले स्थानीय आवश्यकतानुसार गठबन्धन गर्न छाडिदियो भने धेरै जिल्लामा एमाले र माओवादीबीच तालमेलको सम्भावना हुन्छ ।’

एमाले अध्यक्ष ओलीले त माओवादी अध्यक्ष दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र तत्कालीन जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको अफर गरेका समाचार नेताहरूले नै सार्वजनिक गरेका थिए । संस्थागत रूपमा माओवादी वाम गठबन्धनको पक्षमा उभिएको छैन । माओवादीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले कांग्रेसले स्थानीय चुनावमा धोका दिएको निष्कर्ष निकाले पनि संघीय र प्रदेश चुनावमा यही गठबन्धनलाई प्राथमिकता दिने नीति लिएको छ । एक्लै लड्ने तयारी गरे पनि माओवादीले पहिलो प्राथमिकता गठबन्धन नै भएको बताएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यसमिति बैठकबाटै आगामी चुनावमा तालमेल गरेर जाने निर्णय गराइसकेका छन् । गठबन्धन नगरी एक्लै चुनाव लड्नुपर्छ भन्ने आवाज पनि कांग्रेसभित्र मत्थर हुँदै गएको छ ।अर्कोतर्फ एकीकृत समाजवादीबाट धेरैभन्दा धेरै नेता–कार्यकर्ता फर्काउने र चुनावी तालमेलचाहिँ माओवादीसँगै गर्ने प्रयत्न एमालेको छ । यसअघि पार्टीका विभिन्न विभागका प्रमुख तथा उपप्रमुखहरूको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीबाट ठूलो संख्यामा नेता–कार्यकर्ता फर्किने बताएका थिए ।

जिल्ला समन्वय समितिको चुनावमा सुर्खेत र सिन्धुपाल्चोकमा एमाले र माओवादी केन्द्रबीच तथा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको गृहजिल्ला इलाममा एमाले र एकीकृत समाजवादीबीच तालमेल भएको थियो । स्थानीय चुनावमा गठबन्धन प्रभावकारी नभएको भन्दै आएका नेता खनालले चर्को रूपमा वाम गठबन्धनको वकालत गर्न थालेका छन् । स्रोतका अनुसार एमालेका केही नेता खनालसँग नियमित संवादमा छन् । ‘अहिलेकै गठबन्धनमा कांग्रेस र माओवादी हावी हुने हो भने अरू विकल्प पनि छन् भन्ने अर्थमा झलनाथ कमरेड बोलेजस्तै लाग्छ,’ एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन्, ‘सिद्धान्तत: हामी अहिलेकै गठबन्धन निरन्तरताको पक्षमा छौं तर राजनीतिमा लाभहानि हेर्नुपर्छ ।’

एकीकृत समाजवादीले त संस्थागत रूपमै गठबन्धनबाट अपेक्षाकृत नतिजा नआएको निष्कर्ष निकालेको छ । अर्कोतिर एमाले, माओवादी र एकीकृत समाजवादीभित्रै वाम गठबन्धनको पक्षमा बोल्ने नेताहरूको संख्या बढ्दै छ, जसले शीर्ष नेताहरूमाथि दबाब बढाउन थालेको छ । सुरुमा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले मात्रै वाम गठबन्धनको पक्षमा मत राखे पनि स्थानीय निर्वाचन परिणामलगत्तै उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरूले पनि वाम गठबन्धनको आवश्यकता रहेको बताइरहेका छन् ।

सार्वजनिक रूपमा अभिव्यक्ति नदिए पनि एमालेमा ठूलो पंक्ति वाम गठबन्धनतर्फ जानुपर्ने पक्षमा देखिन थालेको नेताहरू नै बताउँछन् । भुसालले त नेकपा ब्युँताउन पाँचबुँदे प्रस्ताव अघि सारेका छन् । उनले ओली र दाहालबीच भएको पाँचबुँदे गोप्य सम्झौता गलत भएको स्वीकार गर्नुपर्ने, ओलीले संसद् विघटन गलत भएको स्वीकार गर्नुपर्ने, भविष्यमा सिद्धान्त अनुकूलको कार्यक्रम र संगठनात्मक संरचना बनाउने प्रतिबद्धतासहित चुनावपछि महाधिवेशन आयोजना गर्नुपर्ने, तत्काल वाममोर्चा बनाउनेसहित संघ र प्रदेशको निर्वाचनमा जानुपर्ने र पार्टी एकताप्रति विश्वास जगाउन एक साता माफी सप्ताह सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

माओवादीभित्र पनि श्रेष्ठ, पुनलगायत नेताले वर्तमान सरकारको काममाथि प्रश्न उठाउँदै वाम गठबन्धनको पक्षमा वातावरण बनाउन लागेका छन् । ‘एमाले नेताहरूसँग उनीहरूको औपचारिक–अनौपचारिक भेटवार्ताले त्यही संकेत गर्छ,’ माओवादीका एक नेता भन्छन् ।एकीकृत समाजवादीलाई राजनीतिक पार्टीको मान्यता दिन अस्वीकार गर्दै संसद् अवरोध गरेको एमालेले स्थानीय निर्वाचन आफ्नो विपक्षमा आएलगत्तै बिनासर्त संसद् खोलिसकेको छ । नेपालसहितका १४ सांसदमाथि कारबाही हुनुपर्ने उसको अडान थियो । एकीकृत समाजवादीकै कारण पनि स्थानीय निर्वाचनमा अनपेक्षित परिणाम हात परेको एमालेका केही नेताहरूको बुझाइ छ । यसले एमाले र एकीकृत समाजवादीबीच निकटता बनाउने काम गरेको नेताहरू बताउँछन् ।

अर्कोतर्फ एमसीसीपछि नेपालमा अमेरिकाको प्रभाव बढ्दै गएको भन्दै उत्तरी छिमेकीले वाम गठबन्धन बनाउन सुझाव दिएको छ । केही समयअगाडि चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा एमाले र माओवादी नेताहरू छुट्टाछुट्टै चीन भ्रमणमा गएका थिए, जहाँ वाम गठबन्धन र एकताबारे चिनियाँ पक्षले चासो राखेका थियो । केही दिनअघि मात्रै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानछाओको नेतृत्वमा नेताहरूले चारदिने नेपाल भ्रमण गरेका थिए । त्यतिबेला उनीहरूले एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष दाहाल, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, वरिष्ठ नेता खनाललगायतसँग लामै छलफल गरेका थिए । नेताहरूका अनुसार यी भेटमा पनि चिनियाँको चासो कम्युनिस्टहरू एक हुन् भन्ने थियो ।

कांग्रेस र माओवादीबीच आगामी निर्वाचनमा खासगरी संघको निर्वाचनमा सिट बाँडफाँट चित्तबुझ्दो भएन, आलोपालो प्रधानमन्त्रीमा कुरा मिलेन भने माओवादी एमालेसँग निकट हुने सम्भावना रहन्छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि यही गठबन्धन कायम गरेर सरकारको नेतृत्व गर्न चाहन्छन् । जसका कारण एमाले–माओवादी गठबन्धन वार्तामै सीमित हुने सम्भावना बढी देखिन्छ ।

प्रकाशित मिति : २०७९ साउन ३ गते मङ्गलवार