• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

समाजवादी केन्द्र बनाउन बाबुरामको पनि सहमति, साझा घोषणापत्रका लागि समिति बन्दै


समाजवादी केन्द्रबनाउन बाबुराम भट्टराई पनि सहमत भएपछि सत्ता गठबन्धनका वाम घटक समाजवादी केन्द्र निर्माणतर्फ अग्रसर बनेका छन्।समाजवादी केन्द्र निर्माणमा पहिले सकरात्मक नदेखिएका भट्टराईले मंगलबार ट्विटमार्फत् आफ्नो सहमति रहेको संकेत गरेका छन्।आफू ले उठान गरेको मोडालिटी कै आधारमा समाजवादी केन्द्र बन्न लागेको भट्टराईको

दाबी छ।शुक्रबार ट्विट गर्दै उनले भनेका छन्, ‘वैकल्पिक शक्ति निर्माणका लागि २ वा ३ बाटा बताएको थिएँ। एक, पुरानै पार्टीहरूको रूपान्तरण। दुई, विभिन्न पार्टीहरूबाट विचार मिल्नेहरूको ध्रुवीकरण। तीन, शुन्यबाट नयाँको जन्म। अहिलेको समाजवादी केन्द्रको चर्चा पहिलो र दोस्रोको संयोजन हो है।’नयाँ पार्टी निर्माण गर्ने प्रतिवद्धता जनाएका भट्टराईले समाजवादी केन्द्रमा सहमति जनाएपछि उनीनिकट नेताहरूले भटराईको कदमलाई धोका किन नभन्ने भन्दै प्रश्न गरेका थिए। आफूहरूको प्रश्नबारे भट्टराई मौन रहेको उनीनिकट एक नेताले सेतोपाटीलाई बताए।‘नयाँ पार्टी निर्माण गर्ने भनेर हामीसँग प्रतिवद्धता जनाउनुभयो। तर समाजवादी केन्द्रमा सहमति जनाएर तपाईंले धोका दिनुभएन र? भनी सोध्दा उहाँले कुनै जवाफ दिनुभएन,’ ती नेताले भने।सत्ता गठबन्धनमा रहेका वामपन्थी घटकलाई समावेश गरेर नेकपा समाजवादी केन्द्र निर्माण गर्ने प्रस्ताव भट्टराईसमक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार राखेका थिए।

त्यस छलफलमा भट्टराईले नेकपा शब्दप्रति सहमति जनाएका थिएनन्। असार २ मा भट्टराईलाई समेत समावेश गरेर गठबन्धनमा रहेका वाम शक्तिबीच एकीकरण गरेर नयाँ दल बनाउने प्रस्तावसमेत राखिएको थियो। भट्टराईले आफू कम्युनिष्ट पार्टीमा नरहने जवाफ दिएका थिए।३ असारमा गोरखा पुगेका भट्टराईलाई मनाउन माओवादी केन्द्रका नेता वर्षमान पुन गोरखा पुगेका थिए। समाजवादी केन्द्र निर्माणमा भट्टराईसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय सभा सांसद वामदेव गौतम सकारात्मक रहेको नेता पुनले बताए। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि मोर्चा बनाउन तयार भएको उनको भनाइ छ।‘समाजवादी केन्द्र निर्माणका विषयमा माधव नेपाल, बाबुराम भट्टराई, वामदेव गौतम सकारात्मक हुनुहुन्छ। उपेन्द्र यादवसँग छलफल गर्दा उहाँ मोर्चामा बस्ने कुरा भएको छ। साझा घोषणापत्र र अन्य विषय संयोजन समितिमार्फत् टुंगो लगाउने तयारी छ,’ पुनले भने।

आफ्नो बहुमत र आफ्नै नेतृत्वमा स्थिर सरकार सुनिश्चित गर्ने रणनीति सहित नेपाली कांग्रेसअघि बढेपछि समाजवादी केन्द्र निर्माण गर्नुपर्ने निष्कर्षमा वाम घटक पुगेको नेताहरूले बताएका छन्।नेकपा एमालेले आफूहरूलाई वामपन्थी शक्ति नरहेको भन्दै प्रचारबाजी जारी राखेकाले आफ्नो शक्ति देखाउन समाजवादी केन्द्र निर्माणमा गृहकार्य भइरहेको उनीहरूको भनाइ छ।एमालेले आफूहरू वामपन्थी शक्ति नै नरहेको भनेर होच्याउन थालेपछि आफूहरू यस दिशामा अघि बढेको पुनको भनाइ छ।‘यतिबेला ओलीजी हामीलाई वामपन्थी शक्ति नै नरहेको भनेर स्थापित गर्न लागिपरिरहनु भएको छ। असली वामपन्थीको शक्ति कस्तो हुन्छ भन्ने देखाउन नै हामीले समाजवादी केन्द्र निर्माण गर्न लागेका हौं,’ पुनले सेतोपाटीसँग भने।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस केन्द्रीय समितिको निर्णयबाट झस्किने परिस्थिति निर्माण भएकाले नयाँ ढंगले अघि बढ्न खोजिएको बताए।‘कांग्रेसले सबैको सहअस्तित्व स्वीकार गर्छ भन्ने थियो। उसको निर्णयबाट झस्किनुपर्ने बेला भयो। कम्युनिष्ट आन्दोलनलाई नयाँ ढाँचामा अघि बढाउन पनि वामपन्थी शक्तिबीच सहकार्यको आवश्यकता भएकाले हामीले पार्टी गठन गर्ने वा मोर्चा बनाएर अघि बढ्ने भन्ने छलफल सुरू गरेका हौं,’ उनले भने।मन र विचार मिल्ने पार्टीहरूबीच एकता, सिद्धान्तमा सहमत हुनेहरूसँग मोर्चा र सहकार्य गर्न चाहनेहरूलाई गठबन्धनमा समावेश गरेर अघि बढ्ने मोडालिटीअनुसार समाजवादी केन्द्र निर्माणको गृहकार्य तीव्र भइरहेको छ।

समाजवादी केन्द्र बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरू नारायणकाजी श्रेष्ठ र वर्षमान पुन, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राष्ट्रिय सभा सदस्य वामदेव गौतमबीच विभिन्न चरणमा छलफल भएका छन्। यो विषयमा उपेन्द्र यादवसँग समेत परामर्श भएको छ।राष्ट्रिय राजनीतिमा समान धारणा, अन्तर्राष्ट्रिय मामलामा साझा दृष्टिकोण, पाँच वर्ष स्थिर सरकारको प्रतिवद्धतासहित साझा घोषणापत्र र साझा चुनाव चिन्ह लिएर जनतामा जानेगरी उनीहरूले गृहकार्य गरिरहेका हुन्। सत्ता गठबन्धनका वामपन्थी घटकबीच सबै एजेन्डामा एकरूपता र अवसरको बाँडफाँटमा समानताबारे सैद्धान्तिक सहमति जुटिसकेको छ। यसको व्यवहारिक कार्यान्वयनका निम्ति संयोजन समिति बनाएर अघि बढ्ने माओवादी केन्द्रका नेता पुनले बताए।‘समाजवादी केन्द्र निर्माणका विषयमा माधव नेपाल, बाबुराम भट्टराई, वामदेव गौतम सकारात्मक हुनुहुन्छ। उपेन्द्र यादवसँग छलफल गर्दा उहाँ मोर्चामा बस्ने कुरा भएको छ। साझा घोषणापत्र र अन्य विषय संयोजन समितिमार्फत् टुंगो लगाउने तयारी छ,’ पुनले भने।

समाजवादी केन्द्र बनाउन कसको, के बाध्यता ?
समाजवादी केन्द्र बनाउन अग्रसर दलहरूको आ-आफ्ना बाध्यता छन्। उनीहरूको प्रमुख उद्देश्य भनेको कांग्रेसलाई दबाबमा राखेर बढीभन्दा बढी सिट संख्या खोज्नु रहेको छ। माओवादी केन्द्रका अध्यक्षले फेरि प्रधानमन्त्री बन्ने चाहना प्रकट गरेका छन्। त्यो स्वार्थ हासिल गर्न समाजवादी केन्द्रको नेता बन्ने चाहना उनको छ। माओवादी नेता पुन कम्युनिष्ट शक्तिलाई बलियो बनाउन समाजवादी केन्द्र निर्माणको अभियानमा अध्यक्ष अघि बढेको बताउँछन्।

‘को, के बन्ने विषय सहायक हुन्। प्रमुख कुरा कम्युनिष्ट शक्तिलाई बलियो बनाउने हो। यसकै निम्ति अध्यक्ष अघि बढ्नुभएको छ,’ उनले भने।एकीकृत समाजवादी पहिलोपटक संसदीय निर्वाचनको सामना गर्दैछ। स्थानीय चुनावमा समाजवादीका कारण घाटा व्यहोरेको एमालेले त्यहाँका नेता-कार्यकर्तालाई फर्काउन संवाद र छलफलाई निरन्तरता दिइरहेको छ। आगामी चुनावमा हुन सक्ने क्षति रोक्न पनि समाजवादी केन्द्र निर्माणमा एकीकृत समाजवादी सकरात्मक देखिन्छ।‘हामीले केही आन्तरिक विश्लेषण गरेका छौं। हामी नयाँ दल भएकोबारे सचेत नै छौं। सम्भावित स्थितिको आँकलन गरेर सिट बाँडफाँटमा लाग्छौं,’ एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले भने, ‘संयुक्त घोषणापत्रको प्रत्याभूति र अवसरको समान बाँडफाँटमा चुनावअघि नै सहमति गरेर सबैलाई समेट्दै बलियो कम्युनिष्ट शक्ति निर्माणमा हामी सकरात्मक छौ ।’

जसपाले कारबाही गरेपछि भट्टराई दलविहीन छन्। आफूसँग रहेका कार्यकर्ताको राजनीतिक यात्रालाई अलपत्र नपार्ने प्रतिवद्धता भट्टराईको थियो। उनले आफूनिकटसँग भनेका थिए,‘मलाई विश्वास गरेर आउनुभएका कार्यकर्ता पंक्तिलाई बिचल्ली बनाउने छुट मलाई छैन। उहाँहरूको राजनीतिक यात्रा नयाँ रूपमा अघि बढाउन सहयोग गर्ने जिम्मेवारी मेरो हो।’

स्थापित नेताहरू रहने केन्द्रबाट आफू र कार्यकर्ता दुबै अघि बढ्न सक्ने निष्कर्षसहित भट्टराई समाजवादी केन्द्रमा सहमत बनेका हुन्।माओवादी नेता पुनका अनुसार समाजवादी केन्द्रको साझा घोषणापत्र, चुनाव चिन्ह, राजनीतिक एजेन्डाका तय गर्न छिट्टै संयोजन समितिलाई पूर्णता दिइने छ।

प्रकाशित मिति : २०७९ साउन ६ गते शुक्रवार