• २०८१ कार्तिक ९ गते शुक्रवार
  • Preeti To Unicode

फेसबुकमा थपियो नयाँ ट्याब, अब आफूले चाहे अनुसारका पोस्ट हेर्न पाइने


काठमाडौंअब फेसबुकको न्युज फिड दुई भागमा देखिनेछ । फेसबुकले यो फिचर आईओएस र एन्ड्रोइड दवै प्लेटफर्ममा उपलब्ध गराउने घोषणा गरेकोछ। यसअन्तर्गत फेसबुकमा होम सेक्सनलाई दुई भागमा विभाजन गरिएकाेछ।अहिले हामीले सबै पोस्ट देखिरहेको होम सेक्सनमा फेसबुकको एल्गोरिदमले हाम्रो चाहना अनुसारको रिल,स्टोरी तथा अन्य कन्टेन्ट

देखाउनेछ भने अर्को फिड ट्याब बिल्कुलै फरक हुनेछ ।जसमा प्रयोगकर्ताले आफ्नो अकाउन्टमा एड गरेका साथीको पोस्ट, उनीहरू जोडिएको ग्रुप, उनीहरूले लाइक गरेको फेसबुक पेज र अन्य कन्टेन्ट देख्न सक्नेछन् । यसमा सजेस्टेड फर यु (तपाईंलाई सुझाव गरिएका पोस्ट) देखिने छैन ।मेटाले जारी गरेकाे विज्ञप्तिमा यो फिडलाई पिन गर्न सकिने जानकारी दिएको छ । यो अपडेट आगामी हप्तासम्म विश्वभरका प्रयाेगकर्ताका लागि उपलब्ध हुने कम्पनीले बताएकाे छ ।यद्यपि यो फिचर केही प्रयोगकर्ताले पाइसकेको समाचारमा जनाइएको छ ।

“फेसबुकका लागि सबैभन्दा अनुरोध गरिएको फिचरमध्ये एक भनेको मानिसले आफ्ना साथीको पोष्ट नछुटाउन सुनिश्चित गर्नु हो,” फेसबुक पोस्टमार्फत मेटाका संस्थापक मार्क जुकरबर्गले लेखेका छन्, “त्यसैले आज हामी फिड ट्याब सार्वजनिक गर्दै छौं, जहाँ तपाईँहरूले आफ्ना साथी, ग्रुप, पेजका पोस्टहरू देख्न सक्नुहुनेछ । त्यसमा होम फिड पनि समावेश हुनेछ, जहाँ तपाईंलाई आवश्यक परेका पोस्ट एल्गोरिदमले त्यहाँ देखाउँछ ।”

यसरी होम फिडलाई टुक्राएर फिड ट्याब छुट्टै ल्याउनुले मेटाले फेसबुक टिकटक जस्तो बनाउन खोजेको बुझिन्छ । टिकटकले विशेषगरी सुझावमा रहेका कन्टेन्ट एउटा फिडमा देखाउँछ भने आफ्नो साथीले पोस्ट गरेका कन्टेन्ट अर्को फिडमा हेर्न सक्ने बनाएको छ । यसमा फेरि होम ट्याबमा साथीहरूको पोस्ट नदेखिने भन्ने हुँदैन ।होम फिड अहिले जस्तो छ त्यस्तै नै रहिरहनेछ । तर, नयाँ थपिन लागेको फिडमा भने विशेषतः आफ्ना साथीको पोस्ट, आफू जोडिएको ग्रुप र आफूले फलो गरेका पेजको पोस्ट छुट्टै देखिनेछ ।

होम फिडमा विशेषगरी प्रयोजित (स्पोन्सर्ड) पोस्ट, सुझाव (सजेस्टेड) पोस्ट बढी देखिनेछन् । यो भनिरहँदा फेरि फिड ट्याब (नयाँ थपिन लागेको ट्याब) मा स्पोन्सर्ड पोस्ट नदेखिने भन्ने हुँदैन ।फिडमा पनि स्पोन्सर्ड पोस्ट देखिने मेटाले उक्त प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । पछिल्ला दिनहरूमा फेसबुक टिकटक जस्तै बन्न खोजिरहेको छ । प्रयोगकर्तालाई आफ्नो प्लेटफर्ममा व्यस्त राख्न फेसबुक आकर्षक फिचर परीक्षण गरिरहेको हुन्छ ।

पछिल्लो पटक फेसबुकले रिल अप्सन समावेश गरेको थियो । फेसबुकका प्रयोगकर्ता लगातार घटिरहनु र त्यसको प्रतिद्वन्दी टिकटकका प्रयोगकर्ता बढ्नुले फेसबुकलाई भयको अवस्था सिर्जना गरेको छ ।

प्रकाशित मिति : २०७९ साउन ७ गते शनिवार