• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

नक्कली विवाह, सक्कली दुर्घटना : बीमाको साढे २ करोड हत्याउन यस्तो योजना


काठमाडौंनक्कली विवाह दर्ता गरी बीमाको साढे २ करोड रुपैयाँ हत्याउन सवारी दुर्घटना गराएको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरुमा सपना मल्ल, सञ्जिव अर्याल, सरदार अहमखा, तोपबहादुर राना क्षेत्री, दीपक केसी र ललिता सापकोटा रहेका छन्।उनीहरुले २०७८ बैशाख २ गते बाँकेको कोहलपुर

नगरपालिकामा २१ वर्षीय सर्जन विकको योजनाबद्ध दुर्घटना गराई साढे २ करोड बराबरको बीमा रकम लिएको खुलेको छ। उनीहरुले सपना मल्लसँग सर्जनको विवाह दर्ता गराएका थिए। जुन सवारी दुर्घटना र बीमा रकम दावी गर्ने उद्देश्यले गराएको खुलेको छ।सपना र सर्जनको विवाह भएपछि एक पटक मात्रै भेट भएको थियो। उनीहरुले सर्जनको सावादिक जीवन बीमा र म्यादी जीवन बीमा गराएका थिए।

उनीहरुले २०७७ चैत २८ गते १ करोड २० लाख र ७० लाख रुपैयाँको दुर्घटना बीमा गराएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।दुर्घटना भइसकेपछि २०७८ साउन १४ गते रिलायन्स लाइफ इन्स्युरेन्सबाट सपनाले बीमा रकम बुझेर कामना सेवा विकास बैंक कोहलपुरको खातामा जम्मा गरेको देखिएको छ। त्यस्तै, २०७८ पुस ३० गते पुनर्बीमा कम्पनीले सर्जन विकको सवारी दुर्घटना शंकास्पद देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लाई खबर गरेको थियो।

दुर्घटना हुनुभन्दा दुई महिना अघि मात्रै मृतकको नाममा बैंक खाता खोलिनु, विवाहअघि नै सपनालाई इच्छाएको व्यक्ति भनेर राखिनु, दुर्घटनाभन्दा एक महिना अघिमात्रै उनीहरुको विवाह भएको खुल्नु तथा मृतकको त्यति ठूलो बीमा गर्ने आर्थिक हैसियत नहुनु लगायत शंकाका आधारहरु देखिएको बताइएको छ।

प्रकाशित मिति : २०७९ साउन १३ गते शुक्रवार