• २०८१ भाद्र २३ गते आइतवार
  • Preeti To Unicode

वडाध्यक्ष जसले विद्यालयको जग्गा जोगाउन आफैं हलो जोतेर धान छरे


दाङकोतुलसीपुर उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष शंकर खड्का दिनभर खेतमा हलो जोत्न व्यस्तथिए।उनले हलो जोत्नुको एउटै उद्धेश्य थियो, विद्यालयको जग्गा को संरक्षण गर्नु। स्थानीय बाल मितेरी माध्यमिक विद्यालय को झन्डै १५ कठ्ठा बढी जग्गा संरक्षण गर्नका लागि विद्यालय परिवारको सामूहिक निर्णय अनुसार वडाध्यक्ष खड्काले सोमबार

दिनभर खेतमा काम गरेका हुन्। ‘विद्यालयको नाममा दर्ता स्रेस्ता रहेको खेतमा स्थानीय चित्रबहादुर रेग्मीले धान रोप्न नदिने भनेर उर्दी जारी गरेपछि विद्यालय र अभिभावकको संयुक्त भेलाको निर्णय अनुसार खेतमा मेरै नेतृत्वमा काम गरेका हौं,’ अध्यक्ष खड्काले भने, ‘हामीले जोत्दै गर्दा पनि रेग्मी परिवारका कराउन आउनु भएको थियो। त्यतिखेर मैले तपाईंको जग्गाको प्रमाण देखाएर जग्गा उपभोग गर्नुस् भनेर जवाफ दिएको थिएँ।’नेपाली कांग्रेसका नेतासमेत रहेका वडाध्यक्ष खड्का बाल मितेरी माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन्।
अरू खेतमा जाँदा रेग्मी परिवारले हप्काउने, कुटपिट गर्ने खोज्ने र काम गर्न नदिने भएपछि विद्यालय परिवारको संयुक्त निर्णयपछि आफैं हलो जोतेर धान छर्ने काम सोमबार नै पूरा भएको वडाध्यक्ष खड्काले बताए।

‘हामीले ब्याड पनि राखेका थिएनौं र सिँचाइको उति राम्रो सुविधा पनि नभएको हुँदा खेत खनजोतपछि धान छरेर विद्यालयको जग्गा संरक्षण गर्ने कार्य गरेका हौं,’ अध्यक्ष खड्काले प्रश्न गरे, ‘स्थानीय बालबालिकालाई ज्ञानको ज्योति छर्ने विद्यालयजस्तो पवित्र संस्थाको जग्गा एउटा व्यक्ति विशेषले हड्प्न कसरी मिल्छ?’ केही वर्ष पहिलेदेखि विद्यालयले भोगचलन गर्दै आएको जग्गामा यो वर्ष रेग्मी परिवारले किसानलाई खेती गर्न रोक लगाएपछि विद्यालय परिवारले आफैं निर्णय गरेर वडाध्यक्षको नेतृत्वमा खेतमा काम गरेर धान लगाउने काम भएको शिक्षक जंगवीर केसीले जानकारी दिए।

वडा नम्बर १५ मा पर्ने नक्सा नम्बर ७ (क) कित्ता नम्बर ३०४ र वडा नम्बर १४ को नक्सा ९ (छ) कित्ता नम्बर १७ को सीमा क्षेत्रमा पर्ने करिब पौने विगाह जग्गामा धान रोपिएको केसीले जानकारी दिए। रेग्मी परिवार विश्वास रेग्मीले भने विद्यालयले भन्दा पहिला आफ्नो परिवारले उक्त जग्गा भोगचलन गरेको हुँदा वडाध्यक्षलगायत विद्यालय परिवारले ज्यादती गरेको बताए।
रेग्मीले जग्गाको दर्ता प्रमाणपत्र समेत आफूहरूसँग रहेको हुँदा त्यो जग्गा आफूहरूको भएको दाबी गरे।

खोतभोगचलनको निर्णय एकल नभएर विद्यालय तथा अभिभावकले गरेको हुँदा जग्गा आफ्नो भएको प्रमाणसहित रेग्मी परिवार आए विद्यालय मान्न तयार रहने अध्यक्ष खड्काले तर्क गरे।
खेत जोत्न तथा धान छर्ने क्रममा विद्यालयका प्रधानाध्यपक ओमप्रकाश वली, लेखापाल चुर्णबहादुर वस्नेत, हिमलाल चौधरी, शिक्षक सन्तोष परियार, स्थानीय अग्रज महावीर चौधरीलगायत स्थानियवासीको सहभागिता थियो।

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार