• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

भारतले खोलिदियो गण्डक बाँधका सबै ढोका, नवलपरासीका ४० बढी गाउँ डुबानको जोखिममा


बुटवल । नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि भारतले गण्डक बाँधको सबै ढोका खोलिदिँदा पूर्वी र पश्चिम नवलपरासीका ४० बढी गाउँ डुबानको जोखिममा परेका छन् ।दुई दिनको लगातारको वर्षापछि भारतले पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधका सबै ३६ वटै ढोका (फाटक) खोलेको हो । बाँधको ढोकाको चाबी सधैं भारतले

राख्ने गरेको छ । भारतले ढोका खोलेसँगै नेपालका वस्ती डुबानको जोखिममा पर्ने गर्दछन् ।देवघाटस्थित जलमापन केन्द्रले नारायणी नदीको पानीका सतह खतरा नजिक पुगेको जनाएपछि तल्लो क्षेत्र (तटीय क्षेत्र)मा समेत खतरा बढ्न सक्ने भन्दै भारतले ढोका खोलेको हो । पानीको सतह बढेर खतरा बढ्न थालेपछि भारतले यसरी नै ढोका खोलिदिने गरेको छ ।

साढे ८ लाख क्यूसेक बेगको पानी धान्ने गण्डक बाँधको क्षमता छ । पुरानो बाँध भएका कारण संरचनाहरु जीर्ण हुँदा अहिले ब्यारेजले साढे ४ लाख क्यूसेकभन्दा बढी पानी धान्न नसक्ने भूआर्जन तथा जनसम्पर्क कार्यालय भैंसालोटनका अमित खड्काले बताए ।पानीको सतह ३ लाख ६७ हजार क्‍युसेक पुगेपछि खतरा मानिन्छ । अहिले २ लाख ९७ हजार प्रतिसेकेण्डको बेगले पानी बगेको छ । पानी परिरहेकाले कुनै पनि समय खतरा नजिक पुग्न सक्ने उनले बताए ।

पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रका वासिन्दालाई उच्च सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

सम्भावित जोखिममा पर्न सक्ने स्थानीयहरुको व्यवस्थापन र उद्दारका लागि सुरक्षाकर्मीहरुलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार