• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

जबरा नजरबन्दमा : निवासमा पुग्यो मानवअधिकार आयोगको टोली


काठमाडौं ।राष्ट्रिय मानवअधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराको निवासमा पुगेकोछ।जबराले सञ्चारमाध्यमहरुमा आफूलाई नजरबन्दमा राखेको बताएपछि आयोगले अनुगमनका लागि सहसचिवको नेतृत्वमा टोली पठाएको हो । आयोगका प्रवक्ता टीकाराम पोखरेलले सर्वोच्च अदालत र जबराको निवासमा टोली गएको पुष्टि गरे ।

आयोगकी सदस्य लिली थापाका अनुसार जबरालाई नजरबन्दमा राखिएको समाचार आएपछि आयोगका सहसचिव डा. टीकाराम पोखरेलको नेतृत्वमा आयोगले अनुगमनका लागि टोली पठाएको हो । थापाका अनुसार टोलीले सर्वोच्च र जबरा निवासमा पुगेर अनुगमन सुरु गरेको छ । अनुगमन टोली फर्किएपछि जबराको अवस्थाबारे आयोगले धारणा सार्वजनिक गर्ने पनि थापाले बताइन् ।

१ फागुन २०७८ मा महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका थिए । महाभियोगबारे निर्णय नगरी १ असोजको मध्यरातबाट प्रतिनिधिसभा सदस्यहरुको कार्यकाल सकिएपछि जबराले सर्वोच्चमा फर्किने भन्दै प्रशासनमा खबर पठाएका थिए ।

चोलेन्द्रको निवासमा प्रहरीको निगरानी
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको निवासमा प्रहरीले निगरानी गरेको छ । बालुवाटारस्थित उनको निवास अगाडि प्रहरीको तैनाथी बढाइएको छ । ती प्रहरीहरुले निवासबाट निस्कने प्रत्येक सवारी साधन जाँच गरेका छन् ।

संसदको कार्यकाल सकिएसँगै आफूमाथिको महाअभियोग प्रस्ताव पनि स्वतः निष्कृय भएको तर्क गर्दै उनी आज सर्वोच्च अदालतमा उपस्थित हुने तयारीमा छन् । तर निवासबाट निस्किनै नसक्ने गरी प्रहरीले आफ्नो निवासमा घेरा हालेको उनले बताएका छन् ।

जबराले भनेका छन्, ‘सर्वोच्चको ढोकामा र म बस्ने क्वाटरको ढोकामा प्रहरी राखेर प्रधानन्यायाधीशलाई बाहिर निस्कनै नदिने योजना बनाएर सरकारले अराजकता प्रदर्शन गर्यो ।’ आफूलाई रोक्दा हुने दुर्घटनाको जिम्मा सरकारले नै लिनुपर्ने धम्की पनि उनले दिएका छन् ।

प्रकाशित मिति : २०७९ असोज २ गते आइतवार