• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

एकीकृत समाजवादीले रौतहटमा गठबन्धनका उमेद्वार बिरुद्ध उमेद्वारी दर्ता गराएपछि …..


रौतहट देशै भर गठबन्धन गर्ने निर्णय गरे पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह जिल्ला रौतहटमा सत्ता गठबन्धनमा फाटो आएको छ।
रौतहट क्षेत्र नम्बर ४ प्रदेश ‘क’ मा एकीकृत समाजवादीले आफ्नो आधिकारिक उम्मेदवार उठाएपछि गठबन्धनमा फाटो आएकोहो।केन्द्रीय सहमतीअनुसार रौतहट क्षेत्र नम्बर ४ को प्रतिनिधी

सभा नेपाली कांग्रेसलाई , प्रदेश ‘क’ नेकपा माओवादी केन्द्र र प्रदेश ‘ख’ एकिकृत समाजवादीको भागमा परेको थियो ।सोही सहमतीअनुसार आइतबार नेपाली कांंग्रेसका प्रतिनिधी सभाका उम्मेदवार देव प्रसाद तिमल्सिना, प्रदेश ‘क’ का नेकपा माओवादी केन्द्रका युवराज भट्टराई ‘समिर’ र प्रदेश ‘ख’ एकीकृत समाजवादीका शेख सतार संयुक्त रुपमा गठबन्धनको तर्फबाट जुलुससहित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।मनोनयन र्यालीमा प्रयोग गरिएको व्यानरमा तीनैजना उम्मेदवारको तस्विर राखिएका थिए । तर उनीहरुले मनोनयन दर्ता गरेको केही समय पश्चात एकीकृत समाजवादीको तर्फबाट पार्टी अध्यक्ष माधव कुमार नेपालद्वारा हस्ताक्षरित पार्टीको आधिकारिक टिकट बोकेर बालकृष्ण श्रेष्ठले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएपछि सत्ता गठबन्धनमा फाटो देखिएको हो ।

एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठले भने आफूहरुले गठबन्धनमा सहमति गरेर मित्रवत प्रतिष्पर्धा गर्नको लागि उम्मेदवारी दर्ता गरेको बताएका छन् । तर नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष टिका आचार्यले भने आफूहरुसँग कुनै सरसल्लाह नगरिकन एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दर्ता गरिएको स्पष्ट पारे ।एकीकृत समाजवादीका एक नेताका अनुसार प्रदेश ‘क’ का नेकपा माओवादी केन्द्रका उम्मेदवार भट्टराईकै कारण स्थानीय तहको निर्वाचनमा चन्द्रपुर नगरपालिकामा गठबन्धन हुन नसकेपछि आफूहरुले हार बेर्होनु परेको भन्दै उनलाई भोट हाल्न नसकिने भएकाले एकीकृत समाजवादीले तर्फबाट युवासंघ नेपालका जिल्ला अध्यक्ष समेत रहेका श्रेष्ठलाई उम्मेवादरको रुपमा अघि सारेको हो ।

यता एकीकृत समाजवादीका चन्द्रपुर नगर कमिटी अध्यक्ष बाबुराम दाहाल भने गठबन्धनमा कुरा नमिलेको ठाउँमा मित्रवत् प्रतिष्पर्धा गर्नेभन्ने केन्द्रीय निर्देशन अनुसार नै आफूहरुले उम्मेदवारी दिएको बताए । उनले आफूहरुको उम्मेदवारी कुनैपनि हालतमा फिर्ता नहुने जनाउँदै प्रतिनिधीसभामा भने गठबन्धनका उम्मेदवारलाई नै भोट हाल्ने बताए ।प्रदेश ‘क’ २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो । तर यसपटक आफूले जितेको स्थान माओवादीलाई दिएको भन्दै निवर्तमान प्रदेश सभा सदस्य धनलाल ठोकरले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उनले देशभर जसले जुन क्षेत्र जितेको हो सोही क्षेत्र लिने सहमती भएपनि आफूले जितेको क्षेत्र भने माओवादीलाई दिएर आफूमाथि अन्याय गरेको भन्दै स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
त्यसैगरी रौतहट क्षेत्र नम्बर २ प्रदेश ‘ख’ मा पनि एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको छुट्टाछुट्टै उम्मेदवार खडा भएका छन् । एकीकृत समाजवादीको तर्फबाट कनिष पटेल र माओवादी केन्द्रको तर्फबाट सुरेन्द्र प्रसाद जयसवालले उम्मेदवारी दिएका हुन् ।

प्रकाशित मिति : २०७९ असोज २४ गते सोमवार