• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

चितवनमा एमालेको उम्मेदवारी फिर्ता, कांग्रेसका बागीलाई समर्थन, टीकापुरमा रेशम चौधरीको उम्मेदवारी खारेज


चितवन । चितवन क्षेत्र नं. ३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनबाट बागी बनेका उम्मेदवारलाई समर्थन गरेको छ।एमालेले रामप्रसाद
न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेकोछ।चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष

केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर न्यौपानेको उम्मेदवारी फिर्ता लिइएको छ ।जिल्लाका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले न्यौपानेको उम्मेदवारी फिर्ताको पत्र आएको तर आयोगको निर्णय भने बाँकी रहेको बताए । न्यौपाने भने अहिले सम्पर्कमा छैनन् ।‘मलाई एमाले अध्यक्ष केपी ओलीबाट आर्शिवाद प्राप्त भयो,’ कोइरालाले भने, ‘म आधिकारिक रुपमा एमालेको समर्थनमा उम्मेदवार बन्ने तय भयो ।’कोइराला एमाले अध्यक्ष ओलीलाई भेट्न मंगलबार बेलुकी बालकोट गएका थिए । नेकपा एमाले चितवन जिल्ला अध्यक्षसमेत रहेका न्यौपाने पनि टिकट फिर्ता नलिने भन्दै ओलीलाई भेट्न काठमाडौं गएका छन् ।चितवन ३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् ।

रेशम चौधरीको ठाउँमा उनकै पिता लालवीर र लक्ष्मण थारुको ठाउँमा जगदीशलाई नागरिक उन्मुक्तिको समर्थन
निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका रेशमलाल चौधरी र लक्ष्मण चौधरी (थारु) को उम्मेदवारी खारेज गरेपछि सो पार्टीले ती क्षेत्रमा वैकल्पिक उम्मेदवारका रुपमा दुई जनालाई अघि सार्ने भएको छ ।

प्रतिनिधिसभा सदस्य पदका लागि बर्दिया क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका रेशम र कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका लक्ष्मणको उम्मेदवारी आयोगले सोमबार खारेज गरेपछि तिनीहरुको ठाउँमा नागरिक उन्मुक्ति पार्टीले आफू निकट स्वतन्त्र उम्मेदवारलाई सघाउने रणनीति बनाएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले टीकापुर घटना मुद्दामा रेशम र लक्ष्मण थारूलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले दोषी ठहर गरेको र रेशम २०७४ फागुन १४ गतेदेखि निरन्तर कैदमा रहेको तथा लक्ष्मण थारु उच्च अदालतले जन्मकैद फैसला सुनाए पनि फरार सूचीमा रहेकाले दुवैको उम्मेदवारी खारेज गरेको हो ।

रेशमको उम्मेदवारी खारेजपछि सो क्षेत्रमा उनकै पिता लालवीर चौधरीलाई नागरिक उन्मुक्ति पार्टीले आधिकारिक उम्मेदवारका रुपमा अघि सार्ने भएको हो । लालवीरले बर्दिया–२ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । रेशम उम्मेदवार बन्न नपाएपछि सो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले उनकै पिता लालवीरलाई आधिकारिक उम्मेदवारका रुपमा अघि सार्ने भएको नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय कोषाध्यक्ष कोमल ज्ञवाली सुवेदीले जनाइन् ।

लालवीर चौधरी २०७४ को निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका थिए । उनी टीकापुरका स्थानीय बुद्धिजीवीको रुपमा परिचित छन् । त्यस्तै, लक्ष्मण थारुले आफ्नो उम्मेदवारी खारेज गरिएपछि आफ्नो स्थानमा स्वतन्त्र उम्मेदवारी दिएका धनगढी उपमहानगरपालिका ४ का जगदीश चौधरीलाई पार्टीको आधिकारिक उम्मेदवार बनाइने जानकारी दिए । स्थानीय स्तरमा राम्रो छवि बनाएका जगदीश चौधरी अवकाशप्राप्त कर्मचारी हुन् ।

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार