• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

‘हामीलाई कांग्रेसले नि हेप्यो, माओवादीले नि हेप्यो’


काठमाडौँ — एमाले र माओवादीबीच सत्ता गठबन्धन भएपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी विलखबन्दमा परेको छ । एमालेबाट विद्रोह गरेर बनेको यो पार्टीले माओवादीसहित कांग्रेससँग मिलेर अघि बढिरहेको थियो । सत्ता भागबन्डामा कुरा नमिल्दा माओवादी पुरानो गठबन्धन छोडेर एमालेसँग नयाँ समीकरण बनाउन पुग्यो ।यो आफूसँगको सहयात्री वामपन्थ दल एमाले कित्तामा पुगेपछि नेकपा एस अब कसरी अघि बढ्ने भन्ने निष्कर्षमा पुगिसकेको छैन । यसै सन्दर्भमा गत आइतबार कसरी सत्तागठबन्धन भत्कियो र माओवादी कसरी एमाले कित्तामा पुग्यो भन्नेबारे नेकपा एसका अध्यक्ष माधव नेपालले पार्टीको बैठकमा विस्तृत रुपमा घटनाक्रमको व्याख्या गरेका छन् ।

अध्यक्ष नेपालले पार्टी बैठकमा राखेको भनाई जस्ताको तस्तै:
केही केही मानिसको बानी के छ भने, भोलि के हुन्छ भनेर ठोकुवा गरिदिन्छन् । आगामी १५ वर्षसम्म पनि गठबन्धन रहन्छ भन्ने वाणी सुन्यौं । यस्ता कुराको पक्षमा म कहिले पनि थिइनँ ।
चुनावमा जाँदा हामीले यो गठबन्धन कायम राख्छौं भनेका थियौं । चुनावी परिणामले शक्ति सन्तुलनमा अलिकति परिवर्तन ल्यायो । पहिलो दल भएपछि कांग्रेसलाई के के भयो, के-के न पायौं भनेर खुट्टा भुईमा न भाँडामा रह्यो । त्यस्तो भएपछि कांग्रेसलाई छोइसक्नु भएन । कांग्रेसको रवैयाबाट पीडित हौं, पहिले पनि पीडित थियौं अहिले पनि पीडित हौं । माओवादीको रवैयाबाट पनि हामी पीडित हौं । हाम्रो विभिन्न ठाउँमा आ- आफ्नो अनुभव होला । कांग्रेसले पनि हामीलाई हेप्यो र माओवादीले पनि हामीलाई हेप्यो । हाम्रो शक्तिलाई अन्डरमाइन्ड गर्‍यो । बेवास्ता गर्‍यो ।

अर्कोतर्फ कांग्रेसले पनि सहयोग गर्‍यो र माओवादीले पनि सहयोग गर्‍यो । हिजो माओवादीले सहयोग नगरेको भए प्रकाश ज्वाला जित्न सक्नु हुन्नथ्यो, कांग्रेसले साथ नदिएको भए भानुभक्त जोशीले जित्न सक्नु हुन्नथ्यो ।चुनाव सम्पन्न भएपछि को प्रधानमन्त्री हुने भन्ने कुरा आयो । सामान्य अवस्थामा भन्ने हो कांग्रेसले हाम्रै शक्तिबाट सरकार चलाएको हो नी ! हामीले नै सरकारमा जाने आधार बनाइदिएकाले पाएको हो । त्यो गुणलाई कांग्रेसले त्यति बुझेको पाइएन ।

मेरो र प्रचण्डबीच कुराकानी के भयो भने परिस्थिति जटिल छ, रवि लामिछानेले नयाँ र क्रान्तिकारी कुरा गरेर जितेर आएका छन् । जनताको एउटा पक्षले ठूलो आशा र अपेक्षा गरेको छ । भोलि जनताको असन्तुष्टि कतिखेर सडकमा पोखिने हो त्यो कुरा विद्यमान छ । संसारका विभिन्न देशमा आर्थिक संकट आएपछि मानिसहरु सडकमा उत्रेको हामीले देखिरहेका छौं । यो सबै अवस्थामा शेरबहादुर देउवाबाट हुनसक्दैन भनेर त्यसैले प्रचण्डजी तपाईंले अघि बढ्नुपर्छ भनेर मैले भनेको हो । तर प्रचण्डजीले शेरबहादुर देउवासँग एक्लै कुरा गरेर प्रधानमन्त्री बन्ने कुरा लिइहाल्नु भयो ।हामीसँग भनेर गएको भए विश्वास जितिन्थ्यो । सुटुक्क जाने खुसुखुसु कुरा गर्ने कामले अविश्वास फैलाउँछ । त्यसपछि म दुईटा पार्टीका नेताले खुसुखुसु कुरा गरेर हुन्छ ? भनेर कड्किएको हो । प्रचण्डजीले होइन-होइन, तपाईंलाई भन्नेवाला थिएँ भन्नुभयो । पछि शेरबहादुरजीसँग कुरा बिग्रन लाग्यो तपाईंले कुरा गरिदिनुहोस् भन्नुभयो ।

शेरबहादुरजीसँग कुरा गर्दा उहाँले प्रचण्डजी भएपनि ठिकै छ केही फरक पर्दैन भनेर भन्नुभयो । तर कुरा फेरेको देखें । शेरबहादुरजीले बोलि फेर्नु भएको थियो उहाँलाई कसले उचालेको थियो । उहाँ प्रधानमन्त्री बन्न फेरि तत्पर देखिनुभयो । २ वर्ष कांग्रेस, २ वर्ष माओवादी र १ वर्ष हाम्रो पार्टी प्रधानमन्त्री बन्ने कुरा पनि आयो । राष्ट्रपति हामीले पाउने कुरा पनि आयो । सुरुमा पहल राष्ट्रपतिका लागि गरेका थियौं, पछिल्लो समयमा परिस्थितिमा परिवर्तन भयो । कहिले राष्ट्रपति हुन्छ भन्ने कहिले नहुने भन्ने भयो । पछि कांग्रेसबाट प्रधानमन्त्री र राष्ट्रपति पनि आफू लिने भन्ने आयो । त्यसले वातावरण फेरि बिग्रन थाल्यो । यो सबै अवस्था भित्र के भयो भने प्रचण्डजी अत्यन्तै विक्षिप्त हुनुभयो र भन्नुभयो,-अब यो गठबन्धन चल्नेवाला छैन । कांग्रेसको दादागिरी सहेर बसिँदैन र मैले पनि कांग्रेसको दादागिरी सहिँदैन भनेर भनिसकेको थिएँ ।

हामी पनि पीडित उहाँहरु पनि पीडित, हामी पनि केपी शर्मा ओली पीडित उहाँहरु पनि पीडित । पीडित पीडित एकै स्थानमा भएपनि विद्रोह गरिहाल्नुपर्छ भन्नेभयो । बालुवाटारमा बसेर एकछिन कसरी अघि जाने भन्ने विषयमा कुराकानी भयो । उहाँले के भन्नुभयो भने,’तपाईं, म र केपी ओली छुट्टै बसेर कुराकानी गरौं, कुरा गरेर नयाँ ढंगले अघि बढौं।’ मैले हुन्छ भनें । मिलेर फेरि केपी शर्मा ओलीसँग कुरा गरौं भनेको हो । उहाँले हुन्छ भन्नुभयो । त्यो भनेर म पार्टी अफिसमा आएँ, कुरा गर्नुपर्‍यो भनेर तुरुन्तै अपर्झट बैठक बोलाएँ । तुरुन्तै रवि लामिछानेलाई फोन गरे, राजेन्द्र लिङदेनलाई फोन गरे, उपेन्द्र यादवलाई फोन गरेर भने‌ं- बसेर कुरा गरौं । यादवजीले म आउँछु भन्नुभयो । राजेन्द्रजीको फोन उठेन, रवि लामिछानेले म बालकोट लाग्दैछु कमरेड भन्नुभयो, बालकोटले तानिहालेछ भन्ने लाग्यो मलाई, ठिकै छ बस्नुस् भनेँ ।

प्रचण्डजी बालकोट लाग्नु भएछ भन्ने कुरा आयो । उहाँ खुमलाटारबाट बालकोट जानु भएछ । पछि हस्ताक्षर सबै पुगिसक्यो भन्ने कुरा आएछ, अशोक राई पुग्नुभएको पनि सूचना आयो, सीके राउत पुगिसकेको खबर आएछ, सबैसँग कुरा गर्दा उहाँहरु बालकोट पुगेको खबर आयो । ठ्याक्क चार बजे शेरबहादुरजीको फोन आयो । ‘माधवजी, तपाईंले प्रचण्डजीलाई तुरुन्त फोनगरेर पहिलो प्रधानमन्त्री तपाईं हो भनिदिनुपर्‍यो’ भन्नुभयो ।समय बितिसकेपछि, घर्की सकेपछि, हस्ताक्षर गरिसकेपछि राष्ट्रपतिकहाँ हिँड्ने बेलामा तपाईंले भनेर के हुन्छ ? समयमा बुद्धि पुर्‍याउनुछैन’ भनेर मैले भने ।

प्रकाशित मिति : २०७९ पुष १२ गते मङ्गलवार