• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयको पहिलो ‘डेमो’ उडान


काठमाडौँ — आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्न लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलायन्सले एयरबस–३२० मार्फत पहिलो डेमो उडान गर्ने भएको छ ।

नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, अन्तर्राष्ट्रिय जेट विमान उडाउने राष्ट्रिय ध्वजावाहक वायुसेवा नेपाल एयरलायन्स र यति एयरलायन्ससँग चिनियाँ साझेदारीमा स्थापना भएको हिमालय एयरलायन्सलाई प्राधिकरणले प्रस्ताव गरेको थियो ।

यी दुईमध्ये हिमालयले पोखरामा एयरबसमार्फत पहिलो डेमो उडान गर्ने इच्छा देखाएपछि प्राधिकरणले शुक्रबार हिमालयलाई पहिलो डेमो उडानका लागि अनुमति दिएको हो । उसको अल्फा लिमा भिक्टर कल साइन भएको एयरबस ३२० विमानलाई आइतबार बिहान सवा १० बजे काठमाडौंबाट पोखराका लागि पहिलो उडानको अनुमति दिइएको छ । उक्त विमान पोखरामा अवतरण भएपछि फेरि काठमाडौं नै फर्किने छ ।

७ वर्षअघि स्थापना भएको हिमालयसँग १ सय ८० सिट क्षमताका तीन (एयरबस–३२०) र १ सय २८ सिट क्षमताको एक (एयरबस–३१९) गरी ४ वटा जेट विमान छन् । उसले पोखराबाट चीनका विभिन्न सहरमा उडान भर्ने योजना बनाएको छ ।

यसैबीच नेपाल वायुसेवा निगमका एक निर्देशकले पोखरामा पहिलो डेमो उडान गर्ने तयारी गरिएको तर अन्तिम समयमा व्यवस्थापनले रद्द गरेको बताए ।प्रधानमन्त्री जाने वा नजाने भन्ने टुंगो नलागेकाले अध्यक्षले उडान नगर्ने निर्णय गर्नुभयो,’ निगमका एक अधिकारीले भने,‘पाइलट र जहाज स्ट्यान्डबाई राखेका थियौं तर जहाज नै नजाने भएपछि पोखरा विमानस्थलको उद्घाटन कार्यक्रममा भाग लिन अध्यक्ष युवराज अधिकारीसहित केही निर्देशक बस चढेर शनिबारै पोखरा जानु भयो ।’

ती अधिकारीका अनुसार, नयाँ वर्षका कारण शनिबार र आइतबार पोखराका लागि जहाजमा टिकट नपाइएपछि निगमका अधिकारीहरु बस चढेर पोखरा जानु परेको हो ।

प्रकाशित मिति : २०७९ पुष १६ गते शनिवार