• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

मर्यादाक्रममा समस्या छ, तर यसैले मन्त्रालय नगएको होइन : उपप्रधानमन्त्री श्रेष्ठ


काठमाडौँ — उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायाणकाजी श्रेष्ठले मर्यादाक्रममा समस्या रहे पनि यसै कारण आफू मन्त्रालय नगएको कुरा गलत रहेको बताएका छन् ।

‘मर्यादाक्रमको विवादले मन्त्रालय नगएको भनेर फिजाइएको हल्ला गलत छ,’ शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘मन्त्री भएकै दिन मन्त्रालय गएको हो, नजाने भए पहिलो दिन नै मन्त्रालय जान्नथेँ ।’ मन्त्री भएकै दिन मन्त्रालय गएर कर्मचारीसँग भेटी आवश्यक निर्देशन दिइसकेको उनले बताए ।

‘त्यसपछि सञ्चो नभएर मन्त्रालय जान सकिनँ, अहिले पनि घाँटी ठीक भइसकेको छैन,’ उनले भने, ‘तर मर्यादाक्रममा समस्यै नभएको भने होइन, समस्या छ, क्याविनेटको सिस्टम हुन्छ, न यो मेरो र अर्थमन्त्री विष्णु पौडेलबीच सम्बन्धको कुरा हो, न त्यो कारणले म मन्त्रालय नगएको हो ।’

यो सरकारलाई सफल बनाउने र त्यसका लागि आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो । उनले आइतबारबाट मन्त्रालय गएर काम सुरु गर्नेसमेत बताए ।

‘तर ७/८ वर्ष पहिले उप्रधानमन्त्री भइसकेको र अर्को उप्रधानमन्त्री छ भने त्यसमा मर्यादा क्रम हुनुपर्छ, एउटै पार्टीमा हुँदा पनि म छैठौं नम्बरमा थिएँ, उहाँ (विष्णु पौडेल) नवौं नम्बरमा हुनुहुन्थ्यो,’ उनले भने, ‘८ वर्ष पहिले उप्रधानमन्त्री थिएँ, तर उहाँ ८ वर्षपछि हुनुभएको हो, यस्ता केही समस्या छन्, तर काम गर्नका लागि यी मुख्य समस्या भने होइनन् ।’ आइतबार मन्त्रालय गएर यातायात व्यवस्था विभागबाट त्यहाँ के के समस्या छन् बुझेर समाधानको उपाय खोज्ने पनि उनले बताएका थिए ।

प्रकाशित मिति : २०७९ पुष १६ गते शनिवार