• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

विकास आयोजनामा भुक्तानी रोकेर सांसदहरुलाई ल्यापटप बाँडने तयारी


विराटनगर । कोशी प्रदेशसभा सचिवालयले सांसदहरुलाई ल्यापटप दिने तयारी गरेको छ । ९३ जना प्रदेशसभा सदस्यलाई वितरण गर्न सचिवालयले ल्यापटप खरिद प्रक्रिया अघि बढाएको छ ।ल्यापटप वितरणका लागि प्रदेश सरकारले प्रदेशसभा सचिवालयलाई एक करोड ५० लाख रुपैयाँ बजेट दिएको थियो । बजेट नभएको भन्दै प्रदेश सरकारले कतिपय विकास आयोजनामा भुक्तानी रोकेको छ । तर आर्थिक मामिला मन्त्रालय पनि सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट रकमान्तर गरेर सांसदलाई ल्यापटप बाँड्ने कार्यक्रमलाई बजेट दिएका छन् ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले प्रदेश सरकारले डेढ करोड रुपैयाँ उपलब्ध गराएपछि ल्यापटप खरिद प्रक्रिया अगाडि बढाएको बताए । ९३ प्रदेशसभा सदस्य र ७ संसदीय समितिका सचिवलाई पनि वितरण गर्न १०० वटा ल्यापटप खरिद गर्ने प्रक्रिया अगाडि बढेको उनले जानकारी दिए ।ल्यापटप दिएपछि प्रदेशसभा सदस्यहरुलाई चलाउन पनि सिकाउने पराजुलीले बताए । ‘हामीले ई–लेजिसलेसन (विद्युतीय संसद) को कुरा गरिरहेका छौं,’ उनले भने,‘त्यसका लागि ल्यापटप उपलब्ध गराउन लागिएको हो ।’प्रदेशसभा सदस्यहरुले ल्यापटप पाएपछि प्रदेशसभा बैठकको जानकारी, कार्यसूची र विधेयकका बारेमा अनलाइन माध्यमबाट जानकारी दिइने प्रदेशसभा सचिव पराजुलीले बताए । ‘माननीयलाई हामी तालिम दिन्छौं, तालिम लिन नसक्नेहरुका स्वकीय सचिवले चलाउनुहुन्छ’, उनले भने, ‘यो राम्रो विषय हो ।’

‘सांसदलाई बदनाम गराउने खेल’
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो भने विकास निर्माणका आयोजनाको कामको भुक्तानी हुन नसकिरहेको बेला सांसदलाई ल्यापटप वितरण गर्नु गलत भएको बताउँछन् । उनले प्रदेशसभा सचिवालयले दिने ल्यापटप नलिनेसमेत बताए ।‘हिजो म आर्थिक मामिला मन्त्री भएका बेला पटक–पटक ल्यापटप खरिद गर्ने प्रस्ताव आएको थियो, तर मैले मानिन, रोकेँ, रोक्दा विरोध पनि भयो,’ उनले भने,‘प्रदेश सांसदहरु आफैं ल्यापटप खरिद गर्न सक्षम छन् ।’

प्रदेशसभा सदस्यले एक महिनाको सुविधाले ल्यापटप खरिद गर्न सक्ने बताउँदै उनले सचिवालयले खरिद गरेर बाँड्नु बेठीक भएको बताए ।प्रदेश संरचना खर्चिलो भएको भन्दै विरोध भइरहेका बेला विरोधीको विचारलाई बल पुग्ने गरी खर्च बढाउन नहुने आङ्बोले बताए ।नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले पनि ल्यापटप बाँड्न नहुने बताए । ‘यो सांसदलाई बदनाम गराउनका लागि रचिएको योजना हो’, उनले भने, ‘ल्यापटप बाँड्यो भने म चाहिँ लिन्न ।’

उनले ल्यापटप खरिद प्रक्रिया तत्काल रोक्न पनि सरकारसँग माग गरेका छन् । ‘हामीलाई किन ल्यापटप चहियो ?’, उनले भने, ‘बजेटमा तल परिरहेका बेला सांसदलाई बदनाम गर्नका लागि बाँड्न खोजिदैछ ।’संघीयताविरोधी पक्षलाई बल पुग्नेगरी ल्यापटप खरिद गरेर नीतिगत भ्रष्टाचार गर्न खोजिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ३ गते बुधवार