• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

किन खोसियो एमालेमा खगराज र पृथ्वीसुब्बाको जिम्मेवारी ?


काठमाडौँ । नेकपा एमालेले ३३ विभागमध्ये २ वटा विभागको प्रमुख परिवर्तन गरेको छ । एमालेमा प्रदेश इन्चार्ज समेत फेरिएका छन् । कतिपय प्रदेश इन्चार्जको गतिविधिप्रति नेता कार्यकर्ताले तीव्र असन्तुष्टि जनाउँदै आएका थिए । शुक्रवार बसेको २२ औँ सचिवालय बैठकले ३३ मध्ये २ वटा विभागको प्रमुख परिवर्तन गरेको हो भने सातवटै प्रदेशका इन्चार्ज पनि परिवर्तन गरेको हो ।

परिवर्तन गरिएका विभाग प्रमुखद्वयमा संगठन विभाग प्रमुख खगराज अधिकरी र प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ छन् । सचिवालय बैठकमार्फत खगराजको ठाउँमा काशीनाथ अधिकारी र गुरुङको ठाउँमा राजेन्द्र गौतमले विभागीय प्रमुखको जिम्मेवारी पाएका हुन् । गौतम यसअघि कोशी प्रदेश इन्चार्जको जिम्मेवारीमा थिए ।काशीनाथ र राजेन्द्र दुवै नेता स्थायी कमिटी सदस्य हुन् । यसअघि प्रचार विभाग प्रमुख रहेका गुरुङ केन्द्रीय उपमहासचिव थिए भने संगठन विभाग प्रमुख रहेका खगराज स्थायी कमिटी सदस्य तथा नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहेका थिए । प्रचार विभागबाट जिम्मेवारी हेरफेरमा परेका गुरुङलाई संसदीय विभागमा पठाइएको छ भने संगठन विभागबाट हेरफेरमा परेका खगराज प्रदेश संसदीय दलको नेता समेत भएकाले प्रदेशमा नै बढी खट्नुपर्ने निष्कर्षसहित संगठन विभागबाट मुक्त गरिएको हो ।

‘पार्टीको कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन जिम्मेवारी हेरफेर गरिएको हो’, उपाध्यक्ष युवराज ज्ञवालीले भने,‘पार्टी काम अहिलेको भन्दा अझ राम्रो र प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यले यस्तो निर्णय भएको हो ।’उपाध्यक्ष ज्ञवालीले सातै उपाध्यक्षलाई विभागको संयोजन गर्नेगरी जिम्मेवारी बाँडफाँड पनि सोही उद्देश्यले गरिएको बताए । एमालेले वरिष्ठसहित सात उपाध्यक्षलाई ३३ वटा विभागको समन्वय गर्ने जिम्मा दिँदै प्रदेश, जिल्ला र पालिका तहसम्म केन्द्रीय कमिटीका नेताहरूलाई इन्चार्जका रूपमा खटाउने निर्णय गरेको छ ।

एमालेको गत वैशाख २८ देखि ३० गतेसम्म काठमाडौँमा सम्पन्न केन्द्रीय कमिटीको पाँचौँ बैठकको निर्णय बमोजिम सचिवालय बैठकले नेताहरूको कार्य विभाजन गरेको हो । तर ३३ वटा विभागमा २ वटा विभाग प्रमुख मात्रै फेरिनुलाई कतिपय एमाले कार्यकर्ताहरूले खगराज र गुरुङले पूर्ववत जिम्मेवारीमा खरो उत्रन नसकेको बताएका छन् ।

‘पार्टीले आवश्यक पर्दा जतिसुकै बेला जिम्मेवारी हेरफेर गर्न सक्छ । खगराज र गुरुङको हकमा पनि त्यही हो’, एक पदाधिकारीले भने, ‘ गुरुङलाई पहिलेदेखि नै प्रचार विभागमा खासै रुचि रहेको थिएन भने खगराजले प्रदेशमा बढी समय दिनुपर्ने अवस्था आएकाले उनीहरु दुवैलाई सहज बनाइदिएको मात्र हो ।’यद्यपि सचिवालय बैठकमा विभाग प्रमुख परिवर्तन गर्ने कारणबारे कुनै ठोस छलफल भएको थिएन । पार्टी व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको सबै नेताले बताएपछि सोही अनुसार कार्य विभाजनको प्रस्ताव गरिएको हो ।
‘सचिवालय बैठकमा यो यो कारणले विभाग प्रमुख परिवर्तन गर्नुपर्ने भयो भनेर छलफल त भएन तर निर्णय गर्दा पनि त्यसमा कसैले प्रश्न उठाएन’, ती पदाधिकारीको भनाइ छ ।

२०७८ मंसिरमा सम्पन्न एमालेको १० औ महाधिवेशनपछि सोही महिनाको अन्तिम साता भक्तपुरमा बसेको केन्द्रीय समिति बैठकले विभाग प्रमुख तोकेको थियो ।एमालेले विभागीय प्रमुखबाहेक सातै प्रदेशको इन्चार्जको जिम्मेवारी पनि हेरफेर गरेको छ ।सचिवालय बैठकले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टलाई कर्णालीमा ल्याएर लुम्बिनीका इन्चार्ज छविलाल विश्वकर्मालाई सुदूरपश्चिमको इन्चार्ज बनाएको छ । सुदूरपश्चिम इन्चार्ज लेखराजलाई बनाउँदा पूर्व उपाध्यक्ष समेत रहेका नेता भीम रावल असन्तुष्ट बनेका थिए ।

पछिल्लो कार्यविभाजन अनुसार गण्डकीका इन्चार्ज रहेकी सचिव पद्मा अर्याललाई लुम्बिनी इन्चार्जको जिम्मेवारी दिएको छ भने गण्डकीको इन्चार्जको जिम्मेवारी गोकर्ण विष्टले पाएका छन् । यसअघि मधेस प्रदेशको इन्चार्ज रहेका रघुवीरलाई कोशी प्रदेशमा सरुवा गरिएको छ । यसअघि प्रदेश इन्चार्ज नरहेका योगेश भट्टराईलाई मधेसको इन्चार्ज बनाइएको छ भने बाग्मती प्रदेशको कामको संयोजन भने केन्द्रीय कार्यालयबाट हुने एमालेले जनाएको छ । एमालेका सात सचिवमध्ये एक सचिव टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि निलम्बनमा परेका छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ २१ गते आइतवार