• २०८१ मङ्सिर १० गते सोमवार
  • Preeti To Unicode

संखुवासभाको हेवा खोलामा बाढी, १७ जना बेपत्ता तीन जनाको उद्धार


काठमाडौं । संखुवासभाको हेवा खोलामा आएको बाढीमा परेर १७ जना बेपत्ता भएका छन् ।चैनपुर नगरपालिका-४ स्थित हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनाका १७ जना कामदार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।

निर्माणाधीन सुपर हेवा हाइड्रोमा १९ जना कार्यरत रहेकोमा १६ जना बेपत्ता भएको र तीनको उद्धार गरिएको डीएसपी गोदारले बताए । ‘निर्माणाधीन हाइड्रोमा १९ जना कार्यरत थिए, १६ जना बेपत्ता भएका छन् । तीन जनाको उद्धार भएको छ,’ डीएसपी गोदारले भने, ‘अरुको अवस्था थाहा हुनसकेको छैन ।’

उद्धार गरिएका तीन जनालाई उपचारका लागि चैनपुर लगिएको छ ।बाढीको क्षतीको थप विवरण आउन बाँकी छ ।शनिबार राति नै हेवा खोलामै आएको बाढीले पाँचथरको फिदिममा पाँच जना बेपत्ता भएका छन् भने पुलहरू बगेका छन् ।

हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका–५ मा एक जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।बाढीमा परेर बेपत्ता १८ जना बेपत्ता भएका थिए । त्यसमध्ये २ जना प्रहरीको सम्पर्कमा आएका छन् । १६ जना अझै सम्पर्कविहीन छन् । भेटिएको शवको पहिचान हुन बाँकी रहेको छ । चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि बाढी आएको हो ।

बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोपावरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले बताए । हेवा हाइड्रोपावर काम गर्ने १६ मजदुरहरू सम्पर्कविहीन रहेको गोदारले बताए । खोलामा बाढी आएपछि उनीहरू अन्यत्र भागेको वा बाढीमा परेको भनेर यकिन हुन बाँकी रहेको उनले बताए ।बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ । खोला किनार क्षेत्रमा–४ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

पाँचथरको बाढीमा ५ जना बेपत्ता, ५ वटा पुल बगे
शनिबार राति हेवा खोलामा आएको बाढीमा परी पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हरि खतिवडाले जानकारी दिए ।बेपत्ता हुनेहरूमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम-१० का सन्जोग लोवा, फिदिम-४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष, एलिसा माझी र फिदिम-४ हेवा खोलाबाट एक जना रहेका छन् ।

यस्तै, फालेलुङ-३ खोलाघारी सेपीमा पहिराले पुरेका एक बालकको सकुशल उद्धार भएको वडाध्यक्ष शक्ति केरुङले जानकारी दिए ।बाढीले ठूलो भौतिक क्षति भएको हुनसक्ने प्रहरीको अनुमान छ । तर, पूरै विवरण आउन बाँकी रहेको डीएसपी खतिवडाले बताए ।बाढीले जिल्लाका पाँच वटा पुल बगाएको छ । मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ जोड्ने हेवाखोला पुलसमेत बगेको छ ।पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको डीएसपी खतिवडाले बताए ।

तमोर करिडोरको ‘बेलीब्रिज’ पनि बाढीले बगाएको छ ।फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको छ ।बाढीले याङ्वरक गाउँपालिका-३ र २ लगायत विभिन्न ठाउँमा ९ वटा घर बगेको जानकारी आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार ३ गते आइतवार