• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

नेम्वाङले धरानमा गरेको अन्तिम भाषण : जाति, भाषा, धर्म, संस्कृतिलाई एक ठाउँमा उभ्याए कसैको षड्यन्त्र सफल हुँदैन


काठमाडौँ — संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ गत शनिबार युवा संघ नेपालको कार्यक्रममा भाग लिन धरान पुगेका थिए । त्यहाँ उनले संविधान निर्माण र नेपालमा पछिल्लो समय चलिरहेको विद्वेषका विषयमा पनि आफ्ना धारणा राखेका थिए । उनले सबै जाति, धर्म, भाषा, संस्कृतिलाई एकताबद्ध राखेमा देशविरुद्ध हुने षड्यन्त्र पराजित हुने बताएका थिए । उनको त्यो कार्यक्रममा दिएको भाषण नै अन्तिम सार्वजनिक अभिव्यक्ति हुनपुग्यो ।

नेम्वाङ भदौ २३ गते धरानमा बोलेपछि सार्वजनिक कार्यक्रममा गएनन् । २४ गते बिहान प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले गठन गरेको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुंगो लगाउन बनेको उपसमितिको अनौपचारिक बैठकमा सहभागी भए । एमाले संसदीय दलका उपनेतासमेत रहेका उनले उक्त दिन दिउँसोभर पार्टी नेता तथा सञ्चारकर्मीहरूसँग सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा विविध विषयमा छलफल गरेका थिए । त्यसको भोलिपल्ट सोमबार भने उनी बिरामी सञ्चो नभएको भन्दै बालुवाटारस्थित घरमै आराम गर्ने भनी कार्यालय आएनन् । मंगलबार बिहान १ बजे भने उनको हृदयघातबाट निधन भयो ।

धरानमा गरेको अन्तिम भाषणको सारसंक्षेप यस्तो थियोः
नेम्वाङले आफ्नो अन्तिम सार्वजनिक अभिव्यक्तिमा संविधान निर्माणदेखि मुलुकलाई आगामी दिनमा कसरी एकताबद्ध गरेर अघि बढ्ने भन्नेबारे युवाहरूलाई आह्वान गरेका थिए । जातिय राज्य माग्नेदेखि धार्मिक विषयमा समाजमा षड्यन्त्र भइरहेको हो कि भन्ने उनको आशंका थियो । गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा धर्मनिरपेक्ष राज्य घोषणा गर्ने संसद्को सभामुख भएको हुनाले भारतबाट आफूलाई पराजित गर्न भनी इलाममा मानिसहरू परिचालित भएको पनि उनले स्मरण गरेका थिए ।

हामीले राम्रो संविधान बनायौं । हाम्रो नेतृत्व, पहल र प्रयासमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षतासहितको समाजवाद उन्मुख संविधान हामीले बनायौं । त्यो जनताले जनताको लागि बनाएको संविधान हो । त्यो संविधान पहिलोपटक नेपालको इतिहासमा विश्वकै सन्दर्भमा हामीले समावेशी संविधान बनायौं । समावेशी संविधानसभाबाट, शून्यबाटमाथि उठ्दै सहभागितामूलक ढंगले जनताले जनताको लागि संविधान बनायौं । हाम्रो नेतृत्व, पहल र प्रयासमा हामीले बनाएको संविधान हो ।

यो लिम्बु, राई, ब्राह्मण, क्षेत्री, दलित महिलाले तराई मधेसदेखि हिमालसम्म सबै जाति भाषा धर्मले बनाएको संविधान हो । पहिलोपटक नेपालको इतिहासमा समावेशी संविधान बन्यो । संविधान समावेशी बनाउने पार्टीलाई तँ समावेशी भइनस् भनेर कोही मित्रले भन्छ भने तपाईं हामीले त्यसलाई कसरी लिनुपर्छ होला ?

पहिचानको, समावेशिताको सन्दर्भमा यो देशमा हामीले जति काम गरेका छौं त्यति अरुले गरेका छैनन् । धर्मनिरपेक्षता कसको नेतृत्वमा भयो ? २०६३ जेठ ४ गते धर्मनिरपेक्षता घोषणा भयो । त्यो संसद्को सर्वसम्म सभामुख म थिए । त्यहाँबाट धर्मनिरपेक्षता घोषणा भयो । सुवासले खुसुक्क धर्मनिरपेक्षता घुसाइदियो पनि भने । त्यसताका केही साथीहरू चुनावमा पनि पुगेका थिएँ । यसपालि त दक्षिणबाट पनि आउनुभएको थियो रे- धर्मनिरपेक्षता भन्ने सुवासलाई हराउनुपर्छ भनेर । को साथी हुन् ? के हुन् ? कुनै दिन तपाईंहरूसँग समय लिएर अलिक व्यापक रूपमा भनौंला ।

म कहिले रिस नउठ्ने मान्छे त्यसैले रिसाइनँ, अलिअलि भित्र रिस उठ्यो होला मैले त्यो प्रक्रियाको जम्मै कुरा सुनाएर के भने भन्दा यी साथीहरू जसले ममाथि यस्तो आरोप लगाइरहेका छन्, यिनीहरू म त कम्युनिस्ट परेँ, एमालेको इमानदार कार्यकर्ता मलाई त स्वर्ग-नर्कमा विश्वास छैन, तर यी साथीहरू त विश्वास गर्छन् होला । नर्क छ भने यी साथीहरू चाहिँ सोझै नर्क जान्छन् भनिदिए । हामीले घोषणा गरेका हौं धर्मनिरपेक्षता । समावेशिता हामीले बनाएका हौं । अनि यो ठाउँमा शीर ठाडो पारेर, छाती फुकाएर, विनम्रतापूर्वक म आग्रह गर्न चाहन्छु किराँतहरूका महागुरु फाल्गुनन्दलाई यो देशको राष्ट्रिय विभूति मेरो पहलमा, हाम्रो पार्टीको पहलमा, हाम्रो पार्टीको नेतृत्वको पहलमा हामीले घोषणा गरेका हौं । अब फाल्गुनन्द किराँतीहरूको मात्रै रहेनन्, उनी सिंगो देशको, सबै जाति, धर्म, भाषा, संस्कृतिका जनताको महागुरु भए ।

यति काम गर्ने पार्टीलाई पहिचानविरोधी भन्न मिल्छ ? हिँड्ने क्रममा कहिँ कतै अलिकति कमजोरी भयो कि भन्नु, छलफल गर्नु एउटा कुरा हो । तर, पहिचानविरोधी भन्ने अनि को-को साथीहरूले ढुंगा हान्ने । म त कसले हाने त्यो पनि बिर्सिइसके । ढुंगा चाहिँ हानेका हुन् है । किनभने बुधबारेमा ढुंगा खाँदाखेरि मपनि सँगै थिए, अध्यक्षसँग । पाँच-सातदिनपछाडि एउटा भाइले फोन गरे मलाई । ‘दाइ तपाईं पनि हुनुहुँदो रहेछ, तपाईंलाई चाहिँ हिर्काएको होइन है ढुंगा’ रे ! मलाई यो तरिका खुबै मन पर्‍यो । सँगै गाडीमा हिँडेको छ अध्यक्षसँग, असिनाजस्तो ढुंगा बर्सिएको छ, त्यो चाहिँ केपी ओलीमाथि मात्रै हो, तपाईंलाई चाहिँ होइन है भनेपछि ! भन्नेले भनिगए । म पनि सोझो, पत्याइगए ।

एकजना ताप्लेजुङतिरको लिम्बु बल्लबल्ल डीएसपी भएका थिए । त्यो ढुंगाले धेरै होइन, उनको टाउकोमा १७ टाँका लाग्यो । अर्को एकजना हवल्दार विचरा राजवंशी परेछन् । उनको च्यापु नै भत्कियो । प्लेट लगाएर उनलाई उपचार गर्न राखिराखेको थियो । म उनलाई भेट्न गएको थिए । मैले यतिमात्रै मेरो मुखबाट फुत्त निस्कियो- हैन यो पहिचानको ढुंगा त खतरानाक हुँदो रहेछ । मलाई विश्वास छैन यो पहिचानको ढुंगा भनेर । तर, यो पहिचानको ढुंगा त खतरानाक हुँदो रहेछ । ठ्याक्कै ताप्लेजुङको लिम्बु डीएसपीलाई लाग्ने, झापाको राजवंशी हवल्दारलाई लाग्ने कस्तो खालको कस्तो खालको ढुंगा हो यो ? यो कसैको लागि पनि हितमा छैन । यो ढुंगा हान्ने कुरा गलत हो ।

लोकतन्त्रिक मूल्य र मान्यताविपरीतका कामकारबाही जहाँबाट भएको हो त्यसलाई रोकौं । लोकतान्त्रिक विधि अनुसारका कामकारबाही गर्नुस् । कुनै कुरा मेरो बारेमा चित्त बुझेन विरोध गर्नुस् । हाम्रो पार्टीको बारेमा चित्त बुझेन विरोध गर्नुस् । तर, लोकतन्त्रको मूल्य र मान्यतालाई तपाईं हामीले बलियो बनाएर जानुपर्दछ । यो नै देश र जनताको हितमा छ ।

हाम्रो छिमेको भारत दास बन्यो । हामी पटक-पटक चर्चा गर्छौं तर नेपाल कहिले पनि दासतामा परेन, स्वतन्त्र रह्यौं । ८ वर्ष अगाडि जनताले जनताका लागि संविधान बनायौं । राष्ट्रिय झन्डा पास गर्‍यौं । कुनै बेलामा यसको बारेमा तपाईंहरूसँग बसेर छुट्टै छलफल गरौंला ।

चन्द्रमा र सूर्य अंकित झन्डाबारे त्यतिबेला छलफल चलेको मलाई सम्झना छ । यो तीनकुने झन्डा भएन फेर्नुपर्छ, चन्द्रमा र सूर्य भएन । चन्द्रवंशी र सूर्यवंशी कुनै राजाको पसिना गन्हाउँछ, संविधानसभामा छलफल चलेको थियो । कसले उठायो भन्नुहोला, म साह्रै बिर्सने, धुमधाम बहस चलेको थियो कसले उठायो उठायो ! धुमधाम छलफल चलेपछि मैले नै प्रस्ताव राखे- जबसम्म आकाशमा चन्द्रमा र सूर्य रहन्छ तबसम्म नेपालको अस्तित्वलाई सकैले केही गर्न सक्दैन भनेर यसलाई पास गरौं न ! नेपालको राष्ट्रिय झन्डा पास भयो । अहिले हामी राष्ट्रिय झन्डा बोकेर हिँडिरहेका छौं ।

नेपालको नामै परिवर्तन गरौं भन्ने पनि छलफल चल्यो । कुनै दिन यसको बारेमा पनि तपाईंहरूसँग बसेर सल्लाह गरौंला, छलफल गरौंला । मैले भन्न खोजेको के हो भन्दा हाम्रा छिमेकका त्यत्रा ठूला देश दास बन्न पुगे तर नेपाल कहिले कसैको दास बनेन । सदासर्वदा स्वतन्त्र रह्यो किन थाहा छ ? यसको एउटै कारण हो तराई मधेशदेखि हिमालसम्मका सबै जाति भाषा धर्म संस्कृतिका जनता एक ठाउँमा एकजुट भएर उभिएका छन्, त्यसैले नेपालले कसैको पनि दास बन्न परेन । तर, त्यसको विरुद्धमा कता-कता कहिलेकाँही षडयन्त्र भइरहेको छ कि भन्ने देखिन्छ । यसको दवाइ पनि हाम्रा युवाहरू हुनुहुन्छ, तपाईंहरूले यो कुरा लिएर जनताको बीचमा पुग्नुपर्छ । जनतालाई एकजुट बनाउनुपर्छ । तराई मधेसदेखि हिमालसम्मका विविध जाति, भाषा, धर्म, संस्कृतिलाई एक ठाउँमा उभ्याउने हो भने कसैको पनि षडयन्त्र सफल हुँदैन ।

प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार