• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

मोरङको बूढीगंगामा बोक्सीको आरोप लगाएर मलमूत्र खुवाइयो, एक पक्राउ


विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–७ की एक महिलालाई बोक्सीको आरोप लगाएर मलमूत्र खुवाइएको छ । बिहीबार दिउँसो ५५ वर्षीय महिलालाई छिमेकीले नै यातना दिंदै बोक्सी आरोपमा मलमूत्र खुवाएका हुन् ।

बोक्सीको आरोपमा मलमूत्र खुवाउने अर्की महिलालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार गाउँ घरमा धामी झाँक्रीको काम गर्दै आएकी बूढीगंगा–७ की ५० वर्षीया पारो माझीलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो । हराएको दियो जोखाना हेर्दा पीडितले चोरेको भन्दै माझीले कुटपिट गरिन् । पूजामा बोक्सी प्रवेश गरेको भन्दै लछारपछार पारेर मलमूत्र खुवाउँदै अमानवीय व्यवहार पनि गरेको पीडितको भनाइ छ ।

पीडित महिलाले बिहीबार साँझ इलाका प्रहरी कार्यालय हरैँचा पुगेर प्रहरीलाई घटनाको जानकारी गराएकी थिइन्। लगत्तै बोक्सीको आरोप लगाएर अमानवीय हर्कत गर्ने माझीलाई पक्राउ गरेको दाहालले बताए ।

पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेकी माझीविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनामा अरु व्यक्तिको संलग्नता नदेखिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ४ गते शुक्रवार