• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

रौतहटको ईशनाथ नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी

सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप

गौर । रौतहटको ईशनाथ नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

शनिबार बेलुका ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप भएको थियो । झडपमा केही स्थानीय घाइते भएका छन् । दुई पक्षबीच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।

पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ । घिउरा गाउँका स्थानीयले सरस्वतीको पूजा गरेर शुक्रवार नजिकको पोखरीमा मूर्ति सेलाउन लैजान लागेपछि अर्को पक्षले डिजे बाजा बजाएको भन्दै अवरोध सिर्जना गरेको थियो । त्यसपछि मूर्ति सेलाउन जानेहरुले बाटोमै मूर्ति राखेर बसेका थिए । हिजो स्थानीय प्रशासनको रोहवरमा दुवै पक्षलाई राखेर साम्प्रदायिक सद्भाव कायम राख्न अनुरोध गर्दै मूर्ति सेलाउन दिने सहमति भएको थियो ।

सरस्वतीको मूर्ति सेलाउन लैजान दिने र डिजे बाजा अर्को बाटोबाट लैजान दिने सहमति भए पनि केही उच्छृङ्खल व्यक्तिहरुले ढुङ्गामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको प्रशासनको भनाइ छ । सो गाउँमा पछिल्लो ५ वर्षदेखि मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप हुँदै आएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ६ गते आइतवार