• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्ड भित्रबाट बच्चा चोरी, दैलेखकी महिला पक्राउ


काठमाडौँ । काठमाडौँ महानगरपालिका ११ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्ड भित्रबाट बच्चा चोरेको आरोपमा दैलेखकी मनकुमारी सिंहलाई प्रहरीले पक्राउ गरेको छ । जन्मेको २६ दिन भएकी नवजात शिशु चोरी गरि भाग्ने क्रममा गएराति काँडाघारीबाट शिशुसहित सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शुक्रबार दिउँसो प्रसूति गृहबाट काभ्रेकी सविना श्रेष्ठले जन्मदिएको २६ दिनको शिशु लिएर मनकुमारी सम्पर्कविहीन भएकी थिइन् । आफ्नो बच्चा चोरी भएपछि श्रेष्ठले प्रहरीमा सूचना दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौँको टिमले खोजतलास सुरु गरेको थियो । लगत्तै क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा खोजीमा जुटेको प्रहरीले उनलाई काँडाघारीमा फेला पारेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेपछि सुरुमा सिंहले आरोप अस्वीकार गरेको प्रहरीले जानकारी दिएको छ । तर, सीसी टीभी फुटेज, त्यसबेला लगाएको लुगा लगायतका आधारमा उनले शिशुलाई प्रसूति गृहबाट ल्याएको पुष्टि हुने प्रहरी बताउछ । प्रहरीले प्रसुति गृहमा देखिँदाको हुलिया अनुसारको उनको कपडा पनि बरामद गरेको छ ।

चोरीमा संलग्न आरोपमा मनकुमारी र अर्की एक जना महिला अहिले टेकुस्थित काठमाडौँ प्रहरीको कस्टडीमा छन् । प्रारम्भिक अनुसन्धानबाट लामो समय बच्चा नभएपछि मनकुमारीले बच्चा चोरेको थाहा भएको छ । यसअघि ३ पटक सम्म बच्चा खेर गएको उनीहरूले प्रहरीसँग स्वीकार गरेका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन १२ गते शनिवार