• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

‘यौन श्रमलाई प्रतिबन्ध होइन व्यवस्थापन गर्नुपर्छ’


सुनसरी । नेपालमा पनि यौन श्रमलाई वैधानिकता दिएर व्यवस्थापनको पाटो तर्फ लाग्नुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् । मङ्गलबार महिला सहयोगी समूह सुनसरीले धरानमा आयोजना गरेको महिला यौनश्रमिकहरुसँग मानव अधिकारको सवालमा समन्वय बैठकमा आफ्नो धारणा राख्दै सरोकारवालाहरुले व्यवस्थापन नै अहिलेको आवश्यक्ता रहेको बताए ।

कार्यक्रममा बोल्दै अधिवक्ता मौसम राईले यौन मानव जीवनको अभिछिन्न पाटो रहेकाले प्रतिबन्ध भन्दा राज्यले कानून निर्माण गरेर स्वइच्छाले यौनलाई पेशा बनाउने व्यक्तिका लागि श्रमको रुपमा मान्यता दिनु उचित हुने बताइन् । रेड अम्ब्रेला फण्डको सहयोगमा सम्पन्न कार्यक्रममा नेपालको संविधानले नागरिकलाई स्वतन्त्रता पूर्वक बाच्न पाउने अधिकार प्रत्यायोजन गरेकाले यौन श्रमिकहरुमाथि समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने अधिवक्ता राईको भनाई थियो । मानवअधिकारको अवधारणालाई आत्मसाथ गर्दै यौन श्रमिकहरुमाथि व्यक्ति, समाज र राज्यबाट हुने गरेको शारिरिक, मानसिक तथा सामाजिक हिंसाको विरुद्धमा समेत समाजले आवाज उठाउनुपर्ने उनले बताइन् ।


कार्यक्रममा अन्य सहभागिहरुले यौन श्रम परापर्वूकाल देखिनै प्रचलनमा रहेकाले यसलाई व्यवस्थापन गरेर अघि बढे समाजमा हुने कैयन हिंसा न्यूनिकरण हुने र राज्यले पनि आर्थिक लाभ लिन सक्ने बताए । यौन श्रमबाट अन्य श्रम तर्फ रुपान्तरण हुन चाहने व्यक्तिका लागि जीविको पार्जनको व्यवस्था राज्यले गर्नुपर्ने बताए । उनिहरुका लागि शिक्षा, स्वास्थ्य लगायत राज्यबाट प्राप्त हुने सेवा सुविधामा समतामूलक पहुँच विस्तार गरे दिगो विकासका लक्ष्य हासिल गर्न राज्यलाई सहयोग पुग्ने उनिहरुको भनाइ थियो ।

प्रकाशित मिति : २०८१ बैशाख ५ गते बुधवार