• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

‘स्टेप बाइ स्टेप’ रणनीतिमा अघि बढेका ओली किन एकाएक देखिए पर्ख र हेरको रणनीतिमा ?


काठमाडौं : प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको बुझाइ थियो – प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा गर्छन्। त्यसपछि सत्ता समीकरणको नयाँ अध्याय सुरु हुनेछ। तर, त्यसो भएन।

उनीहरुका लागि राजनीति चर्चित गीत झै भयो – सोचे झै जिन्दगी रै’नछ …।आन्दोलनरत नेकपका नेताहरुको ‘हाइपोथेसिस’ फेलमात्र भएन, ओलीले राजीनामा दिने कुनै अवस्था नै नरहेको दावी समेत गर्न भ्याए। प्रचण्ड-नेपालले आफूलाई पदबाट हटाउन सक्ने रणनीतिलाई निस्तेज पार्ने योजना एकएक गरी तयारीमा जुटिरहे ओली। ओलीले आफू इतर गुटको योजना विफल बनाउन ‘स्टेप बाइ स्टेप’ अघि बढ्ने रणनीतिमा रहे। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई अविश्वासको प्रस्तावबाट अलग राख्नेदेखि नेकपाको संसदीय दलमा बहुमत पुर्‍याउनेसम्मको गृहकार्यमा ओली समूह सक्रिय रहिरह्यो।प्रचण्ड-नेपाल समूह संसद र संसदीय दलमा कसरी अगाडि बढ्छ, त्यही अनुसारले अघि बढ्ने प्रधानमन्त्रीको तयारी भएको ओली समूहका एक नेताले बताए।

‘प्रचण्ड-नेपालको क्लियर चित्र आएन’
प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीबारे आफूहरु जानकार रहेको ओली समूहबाट शुक्रवार संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी सम्हालेका केन्द्रीय कमिटी सदस्य विशाल भट्टराईले बताए।प्रचण्ड-नेपाल समूह अविश्वासको प्रस्तावमा प्रष्ट नभएकाले आफूहरुको रणनीति पनि तय नभइसकेको उनको भनाई थियो। अहिले ‘पर्ख र हेर’को अवस्थामा रहेको भट्टराईले बताए।’संसदमा अर्को पक्ष कसरी प्रस्तुत हुन्छ भन्ने क्लियर चित्र नआइकन के तयारी गर्नु?,’ उनले भने। उनले आफू सरकारी पक्षको भएकाले नियमित गतिविधिमै व्यस्त भएको बताए।

ओली पार्टीको केन्द्रीय कमिटीदेखि संसदीय दलमा समेत अल्पमतमा देखिएको भए पनि उनी निकट नेताहरुले भने त्यसलाई ठाडै इन्कार गरिरहेका छन्।
‘प्रधानमन्त्रीका पक्षमा बहुमतका लागि पनि खास अप्ठेरो छैन। उनको पक्षमा आम जनता छन्। सांसद मार्फत् त्यसको प्रतिविम्ब हुन्छ। त्यसैले हामीले खासै ठूलो तयारी गरेको छैनौं। हामीसँग बहुमत छ,’ भट्टराईले निर्धक्क भएर सुनाए।अविश्वासको प्रस्तावमा कसलाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरिन्छ, त्यसैका आधारमा अघि बढ्ने तयारीमा छ ओली समूह।’के भनेर प्रस्ताव ल्याउन लागिएको हो? पात्र को हो? कसलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्ने भनेर उहाँहरुलाई अप्ठेरो छ,’ भट्टराईले भने।

‘पार्टीको निर्णय लागू हुन्छ’
प्रचण्ड-नेपाल समूहले ओलीलाई संसदीय दलको नेताबाट पुस ८ मै हटाएको थियो। तर, ओलीले नेकपा संसदीय दलको नेता आफू नै भएको दाबी गर्दै उल्टै प्रचण्ड-नेपाल समूहका नेता तथा प्रमुख सचेतक देवप्रसाद गुरुङलाई हटाएका थिए।ओलीले आफूलाई संसदीय दलको नेताबाट हटाएको प्रक्रिया नै नमिलेको भन्दै प्रक्रिया पुर्‍याएर हटाउन चुनौती दिएपछि प्रचण्ड-नेपाल फेरि परामर्शमा जुटेको छ। कतै दाहाल नेपालले ओलीलाई संसदीय दलको नेताबाट हटाउने काम ‘तातै खाउँ, जल्दी मरुँ’ त भएको होइन?ओलीलाई हटाउने निर्णयले यतिखेर प्रचण्ड-नेपाल समूहलाई अप्ठेरो पुर्‍याएको छ। पार्टीबाट साधारण सदस्य समेत नरहने गरी कारवाही गरिसकेकाले अब बैठक बोलाउन र फेरि निवेदन दिएर हटाउन नैतिक रुपले अप्ठ्यारो हुने भएकाले उक्त समूह आफैँ अन्यौलमा छ।

प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते शनिवार