• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

शान्तिमार्गमा विप्लव : प्रधानमन्त्रीकै अगाडि विप्लवले भने, ‘हामी शान्तिप्रक्रियामा प्रतिबद्ध छौँ


हस्ताक्षर समारोहमै प्रधानमन्त्रीकै अगाडि विप्लवले भने, ‘हामी शान्तिप्रक्रियामा प्रतिबद्ध छौँ, तर जनता के चाहन्छन् ? एकपटक नयाँ फैसला गर्ने वातावरण बनाउन जरुरी छ ।’ यसअघि १ फागुनमा विज्ञप्ति जारी गर्दै विप्लवले जनमतसंग्रहको माग गरेका थिए । प्रधानमन्त्री केपी

ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँगको वार्तापछि मुलुक अन्तिम किस्तामा शान्तिपूर्ण युगमा प्रवेश गरेको दाबी गरेका छन् । सरकार र नेकपाबीच भएको सहमतिमा हस्ताक्षर गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा हिंसात्मक द्वन्द्व सकिएको दाबी गरे ।‘अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । अब नेपालमा हिंसात्मक बाटो र आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरिरहेको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाल शान्तिपूर्ण देश हो र यहाँ शान्ति छ ।’ओलीले अब शान्तिपूर्ण बाटोबाट विप्लवले आफ्ना विचारहरू कार्यान्वयन गर्ने अपेक्षा राख्दै नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तालाई थुनामुक्त गर्न सुरु गरिसकेको बताए ।

‘उहाँहरूको आफ्नै पार्टी नेपाल कम्युनिस्ट पार्टी छ । त्यसले शान्तिपूर्ण ढंगले गतिविधि गर्छ, संगठन गर्छ । शान्तिपूर्ण ढंगले गतिविधि गर्ने भइसकेपछि उहाँका नेता–कार्यकर्ताहरू प्रक्रिया पूरा गरेर हामी मिलाएर छाड्ने क्रम अगाडि बढाउँछौँ र छाड्छौँ,’ उनले भने, ‘मुद्दा–मामिला छन् भने तिनलाई अन्त्य गरिन्छ । धर्मेन्द्र त छुटिसक्नुभयो । छुट्ने क्रम सुरु भइसक्यो ।’विप्लवको अवतरणलाई ओलीले ‘फोर्स ल्यान्डिङ’, ‘क्र्यास ल्यान्डिङ’ नभएर ‘सेफ ल्यान्डिङ’ भएको टिप्पणी गरे । उनले विप्लवले वार्तामा आएर साहसिक कदम चालेको भन्दै स्वागत, धन्यवाद तथा शुभकामना व्यक्त गरे ।

‘विप्लवजीलाई बधाई भन्न चाहन्छु, स्वागत भन्न चाहन्छु र शुभकामना भन्न चाहन्छु । उहाँले जुन साहसिक कदम चाल्नुभएको छ त्यसबाट एउटा ठूलो ऐतिहासिक योगदान गर्नुभएको छ,’ उनले भने, ‘यसका निम्ति उहाँलाई राज्यका तर्फबाट र पार्टीका तर्फबाट पनि हार्दिक धन्यवाद भन्न चाहन्छु ।’ प्रधानमन्त्री ओलीले नेपालले शान्ति खोजेको भन्दै नेपाली जनताले चाहेका विषयका फेहरिस्त नै प्रस्तुत गरे ।

‘नेपाली जनतालाई चाहिएका कुराहरूमध्ये राष्ट्रियताको रक्षा, स्वाधीनताको रक्षा र सही प्रयोग राष्ट्रिय अखण्डताको रक्षा, राष्ट्रिय हितहरूको रक्षा, लोकतन्त्रको प्राप्ति, रक्षा र त्यसको सुदृढीकरण एवं प्रयोग हो । सामाजिक न्याय र समानता, अधिकारसम्म पुग्ने अवसरहरूका प्राप्ति हुन्,’ उनले भने, ‘नेपाली जनताले चाहेको त्यत्तिकै महत्वपूर्ण कुरा शान्ति अर्थात् निर्भय वातावरणमा शान्तिपूर्ण ढंगले बाँच्न पाउने सबैको अधिकार हो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते शनिवार