• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

प्रचण्डलाई सईको कमाण्डमा सुरक्षा तर विप्लवलाई इन्स्पेक्टरसहित १० प्रहरी !


काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्व को नेपाल कम्युनिस्ट पार्टी र सरकार बिच करिब दुई वर्ष द्वन्द्व कायमै रह्यो। जसले भेट्यो उसले ठोक्यो भन्ने नीति दुवै ले लिए। त्यसैले त प्रहरी र विप्लव समूहबिच ‘इन्काउन्टर’ हुँदा गोली चलिहाल्थ्यो । त्यसैको नतिजा थियो सर्लाही जिल्लाका

इन्चार्ज कुमार पौडेलेको हत्या।विप्लव समूहका सबै नेता भुमिगत भए। प्रहरीले उनीहरुलाई खोजी रह्‍यो। दुई वर्षमा दुई हजारभन्दा धेरै नेता तथा कार्यकर्ता समातिए। तर, अहिले परिस्थिति फेरिएको छ। गत शुक्रवार नेत्र विक्रम चन्द सार्वजनिक भए। सरकारसँग तीन बुँदे सहमति गर्‍यो उनको पार्टीले।अहिले नेत्रविक्रम चन्द विभिन्न जिल्लामा निर्धक्क भाषण गर्दै हिँडिरहेका छन्। उनी हिँड्दा अगुवा पछुवा पनि सुरक्षाको लागि खटिएका छन्। हतियार नबुझाइ वार्तामा आएका विप्लवलाई नेपाल प्रहरीका सुरक्षाकर्मीले नै सुरक्षा दिइरहेका छन्।नेपाल प्रहरीले नेत्र विक्रमचन्दको सुरक्षाको लागि १० जना सुरक्षाकर्मी खटाएको छ। सुरक्षाकर्मीको कमाण्ड इन्स्पेक्टरले गरेका छन्। जबकि माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा कमाण्डमा भने सईलाई खटाइएको छ।

अध्यक्ष दाहालको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सईको कमाण्डमा सुरक्षाकर्मी खटाइएको छ। यसअघि अध्यक्ष दाहाललाई डीएसपीको कमाण्डमा सुरक्षा दिँदै आएको थियो। सरकारले सुरक्षाकर्मीमा कटौती गरेपछि दाहालले पूर्वजनमुक्ति सेनाबाट सुरक्षा लिइरहेका छन्।तर भूमिगत भएर शुक्रवार सार्वजनिक भएपछि विप्लवमा सुरक्षा थ्रेट देखेकाले सुरक्षाकर्मी खटाइएको जनाएको छ। गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुरक्षा व्यवस्था मिलाउने निर्देशन दिएको थियो। गृहको निर्देशन अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले विप्लवलाई सुरक्षा दिएको हो।

‘भर्खरै सरकारसँग वार्तामा आएको छ। त्यसैले विभिन्न थ्रेट हुनसक्छ भनेर सुरक्षा मिलाइएको हो। काठमाडौं प्रवेश भएपछि हामीले सुरक्षा दिन्छौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले भने।परिसरले विप्लवको सुरक्षाको लागि प्रहरी निरीक्षकको कमाण्डमा १० जना प्रहरीको टोली खटाएको छ। उनी हिँड्दा अगुवा गाडीमा पाँच जनाको प्रहरी टोली सँगैसँगै हिँड्छ। उनी बस्ने निवासमा थप पाँच जना प्रहरीको टोली खटाइएको छ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) कपिलवस्तु लगायतका जिल्लामा पुग्दा त्यहीँको स्थानीय प्रहरीले सुरक्षा प्रदान गर्ने गरेको छ। नेपाल प्रहरी प्रवक्ता एसएसपी बसन्तकुमार कुँवरले विप्लवको सुरक्षा केन्द्रबाट नभएर जिल्लाले समन्वय गरेको जानकारी दिए।’जुन जिल्लामा जानुहुन्छ त्यहीँबाट सुरक्षा व्यवस्था मिलाइएको छ। हेडक्वाटरबाट कुनै पनि औपचारिक भन्ने छैन,’ एसएसपी कुँवरले भने।

गृह मन्त्रालयले तयार पारेको विशिष्ट व्यक्तिहरूको सुरक्षा निर्देशिका २०७७ अनुसार प्रधानमन्त्रीको सुरक्षा व्यवस्था मिलाइएको हुन्छ। विप्लव राज्यको विशिष्ट व्यक्तिमा पर्दैनन्। तर, पनि हालको स्थितिलाई हेरेर सुरक्षा व्यवस्था मिलाइएको हो। उनी सरकारसँगको वार्ता सफल भइसकेपछि पहिलो पटक सार्वजनिक हुँदा पनि सरकारले सुरक्षा व्यवस्था मिलाएको थियो। उनी शुक्रवार नवलपरासीबाट काठमाडौं आउँदा सुरक्षाकर्मीले स्कर्टिङ समेत गरेका थिए।

प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार