• २०८१ भाद्र ३१ गते सोमवार
  • Preeti To Unicode

बादल एमाले उपाध्यक्ष र सुदूरपश्चिम इन्चार्जमा लेखराज भट्ट


काठमाडौं । नेकपा एमालेले उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’लाई मनोनित गर्ने तयारी गरेको छ । यस बारे पार्टीमा अनौपचारिक छलफल भएको छिट्टै पार्टीको बैठक बसेर निर्णय गरिने एमाले नेता विशाल भट्टराईले जानकारी दिए । उनका अनुसार महासचिव एक दुई दिनभित्र बैठक

राखेर निर्णय गर्ने तयारी भएको छ । यस्तै एमालेले लेखराज भट्टलाई सुदूरपश्चिम इन्चार्जमा मनोनित गर्ने तयारी गरेको छ । थापा र भट्ट दुवै माओवादी केन्द्रबाट निर्वाचित सांसदको हैसियतमा ओली सरकारमा सामेल भएका हुन् । सर्वोच्च अदालतले नेकपा खारेज गरेर साविकको एमाले र माओवादी केन्द्र ब्युँताएपनि बादल र भट्ट माओवादीमा फर्किएका छैनन् । सर्वोच्चको फैसला अनुसार तत्कालीन नेकपाको प्रचण्ड समूहमा रहेका माधव नेपाललगायतका पूर्वएमाले आफ्नै घर फर्किए पनि बादल, भट्टलगायतका पूर्व माओवादी नेताहरु भने अझै एमालेमै रहेका हुन् । उनीहरु फर्किने नफर्किने अस्पष्ट रहेकै बेला एमालेमा जिम्मेवारी दिने तयारी भएको हो ।

धनगढीमा केपी ओली र माधव नेपाल पक्षबीच झडप
कैलाली । धनगढी स्थित प्रदेश कार्यलयमा बोर्ड राख्ने र हटाउने विषयमा एमालेका केपी ओली र माधव नेपाल पक्षका कार्यकर्ताबीच झडप भएको छ । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको नेकपाको प्रदेश कार्यलयको बोर्ड परिवर्तन गर्ने क्रममा दुवै पक्षका कार्यकर्ता बीच झडप भएको हो ।

अहिले स्थिति तनावपूर्ण भएको छ । बुधबार बिहान नेपाल पक्षका कार्यकर्ताले कार्यलय प्रवेश गरी भीम रावल प्रदेश इन्चार्ज र भानुभक्त जोशी अध्यक्ष भएको नेम प्लेट सहित नयाँ बोर्ड राखेका थिए । त्यसको केहीबेरमा ओली पक्षका प्रदेश अध्यक्ष कर्ण थापाको नेतृत्वमा गएको जुलुसले माधव पक्षले राखेको बोर्ड च्यातेर नयाँ बोर्ड राखेको थियो । सो समूहले रावल प्रदेश इन्चार्ज र जोशी अध्यक्ष भन्ने नेम प्लेट पनि हटाएको थियो ।

त्यसलगत्तै रावल पक्षका कार्यकर्ता आएर ओली पक्षले राखेको बोर्ड र नेम प्लेट हटाएका थिए । त्यस क्रममा दुवै पक्षबीच भनाभन र झडप समेत भएको हो । झडपलगतै प्रहरीले हस्तक्षेप गरेर स्थितिलाई नियन्त्रणमा लिएको छ । अहिले प्रदेश कार्यलय प्रहरीको कब्जामा छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार