• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

नयाँ पाटी खोल्ने तयारीमा प्रचण्ड


सर्वोच्च अदालत ले तत्कालीन एमाले र माओवादी केन्द्र लाई ब्युँताइदिए पछि माओवादी केन्द्र का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टीको नाम परिवर्तन गर्ने मनस्थिति बनाएका छन् ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको दल निर्वाचन आयोगमा पहिला नै दर्ता रहेको भन्दै आइतबार

सर्वोच्चले नेकपाको एकता बदर हुने गरी फैसला दिएपछि पार्टीको नाम परिवर्तन गर्न प्रचण्डलाई अन्य नेताले पनि सुझाब दिएका छन् । बुधबार सम्पन्न स्थायी कमिटी बैठकमा पार्टीको नाम परिवर्तन गर्ने विषयमा छलफल भएको, तर औपचारिक निर्णय नभएको स्थायी कमिटी सदस्य जनार्दन शर्माले बताए । ‘स्थायी कमिटीमा नाम फेर्नेबारे छलफल भएको छ । पार्टी अध्यक्ष प्रचण्ड नाम फेर्ने विषयमा तयार हुनुभएको छ । तर, कमिटीमा औपचारिक निर्णय भएको छैन,’ शर्माले भने । नेता नारायणकाजी श्रेष्ठले नाम परिवर्तनका लागि विभिन्न नाम प्रस्ताव गरिएको बताए । नेता श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी वा नेपाल कम्युनिस्ट पार्टीका पछाडि कुनै उपयुक्त फुर्को राख्ने प्रस्ताव गरेका छौँ ।’ माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार र बुधबार बसेको थियो । बैठकले संगठन निर्माणको योजना बनाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा स्थायी समिति सदस्यहरू जनार्दन शर्मा, पम्फा भुसाल, गिरिराजमणि पोखरेल र वर्षमान पुन छन् । बिहीबार कार्यदलको बैठक बसे पनि यस विषयमा छलफल नभएको नेता शर्माले बताए ।

२३ फागुनमा अदालतको फैसलापछि निर्वाचन आयोगले दुवै पार्टी पूर्ववत् रूपमा ब्युँतिएको र पार्टी एकता गर्ने भए १५ दिनभित्र प्रक्रिया पु¥याएर आवेदन दिन पत्राचार गरेलगत्तै माओवादी केन्द्रमा पार्टीको नाम परिवर्तनले प्रवेश पाएको हो । पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी वा नेपाल कम्युनिस्ट पार्टीका पछाडि उपयुक्त पुच्छर झुन्ड्याएर हेरफेर गर्न सकिने प्रचण्डलाई नेताहरूको सुझाब छ । पेरिसडाँडामा झुन्डाइएको नेकपाको साइनबोर्डको निकाल्ने प्रसंगमा स्थायी कमिटी बैठकमा नेता शर्माले ऋषि कट्टेल नेतृत्वको नेकपासँग एकता गरेर नेकपालाई नै निरन्तरता दिने प्रस्ताव गरेका थिए । ‘नेकपाको साइनबोर्ड छ । अब ऋषि कट्टेललाई पार्टीमा ल्याउँ र नेकपालाई निरन्तरा दिउँ, त्यही नाम र्नै सजिलो होला,’ शर्माको प्रस्ताव थियो । लगत्तै प्रचण्डले विभिन्न व्यक्तिले पार्टीको नाम फेर्न सुझाब दिएको र त्यसमा आफू सकारात्मक रहेको सुनाएका थिए ।

त्यसपछि नेता श्रेष्ठले ऋषि कट्टेल आउँदैनन् । बरु नेपाली कम्युनिस्ट पार्टी वा नेपाल कम्युनिस्ट पार्टीका पछाडि कुनै उपयुक्त फुर्को राख्ने प्रस्ताव गरेका थिए । स्थायी कमिटीका एक सदस्यका अनुसार जवाफमा प्रचण्डले भनेका थिए, ‘सुझाब धेरै आएका छन्, नाम फेर्नुपर्छ । तर, अहिले हतार भएन, छलफल गर्दै जाउँ, उपयुक्त समयमा उपयुक्त निर्णय लिउँला ।’तत्कालीन एमालेसँगको एकता विभाजनमा परिणत भएपछि प्रचण्ड र माधवकुमार नेपालले नेकपा प्रचण्ड–नेपाल समूहको नेतृत्व गर्दै आएका थिए । तर, अदालतको पछिल्लो फैसलाले पूर्वपार्टीहरू ब्युँतिएपछि नेपाल समूह पूर्ववत् रूपमा एमालेमै क्रियाशील हुने निर्णयका साथ अघि बढेको छ भने अर्को समूहको नेतृत्व गरिरहेका अध्यक्ष ओली पनि पूर्ववत् एमाले अध्यक्षकै हैसियतमा क्रियाशील भइरहेका छन् । एमालेसँगको एकताको औचित्यलाई पुष्टि गर्न पनि माओवादी केन्द्र नाम फेर्ने निष्कर्षमा पुगेको माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले बताए । एमालेमै क्रियाशील भएको नेपाल समूहमाथि ओली समूहले विभेद गर्ने र त्यही कारण अन्तर्संघर्ष चर्किने सम्भावना देखिएकाले पार्टी एकताको औचित्य पुनस्र्थापित गर्न पनि माओवादी केन्द्रले नाम परिवर्तन गर्न लागेको हो ।

‘सांसद र जनप्रतिनिधि पूर्ववत् रूपमै पार्टीमा क्रियाशील हुनुपर्ने एउटा बाध्यता पनि होला, तर पार्टीका अरू नेता–कार्यकर्तालाई त्यस्तो बाध्यता छैन, त्यसैले पार्टी एकीकरणको लक्ष्य समाजवादसम्मको यात्रा भएकाले त्यसलाई पुष्टि गर्न पनि नाम परिवर्तन गरेर नयाँ नाम राख्ने प्रस्ताव गरेका हौँ,’ ती सदस्यले भने, ‘कम्युनिस्ट आन्दोलनलाई एकीकृत रूपमा अगाडि बढाउनुको कुनै विकल्प छैन ।’माओवादी केन्द्रले शान्तिप्रक्रियामा आएपछि तीनपटक पार्टीको नाम परिवर्तन गरिसकेको छ । शान्तिप्रक्रियापछि नेकपा माओवादी, पूर्व एकता केन्द्र मशालको नारायणकाजी श्रेष्ठसँगको ०६५ मा एकतापछि एकीकृत नेकपा माओवादी तथा पछिल्लोपटक विभिन्न साना वामघटकलाई पार्टीमा भिœयाएपछि नेकपा (माओवादी) केन्द्रका रूपमा उसले पार्टीको नाम परिवर्तन गरिसकेको छ ।

तत्कालीन प्रचण्ड नेतृत्वको एकीकृत (माओवादी)सहित क्रान्तिकारी माओवादीको असन्तुष्ट समूह, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माओवादी), नेकपा (माओवादी विद्रोही), नेकपा (फुर्पा–अनिल समूह), गौरवशाली पार्टी, नयाँ शक्तिबाट आएको समूह, तिलक परियार र जयपुरी घर्ती नेतृत्वको समूहबीच एकता भई ६ जेठ ०७३ मा माओवादी केन्द्र बनेको थियो । यही एकतामा रामबहादुर थापा बादल, मणि थापा र मात्रिका यादव पनि प्रचण्डको पार्टीमा समाहित भएका थिए । तर, पछि माओवादी केन्द्र र एमालेबीच ३ जेठ ०७५ मा एकता भई नेकपा बनेको थियो । तर, अदालतले दुई पार्टीको एकता बदर गरिदिएपछि प्रचण्ड आफ्नो नेतृत्वको नेकपा माओवादी केन्द्रको नाम परिवर्तन गर्ने निष्कर्षमा पुगेका हुन् । नेकपा विभाजनपछि बादल र थापा केपी ओली नेतृत्वको नेकपामा लागेका छन् ।

किन पार्टीको नाम फेर्न थाले प्रचण्डले ?

नेपाली कम्युनिस्ट पार्टी वा नेकपाको पछाडि उपयुक्त फुर्को झुन्ड्याउने प्रस्ताव

शान्तिप्रक्रियापछि नाम परिवर्तनका शृंखला

– नेकपा माओवादी र एकता केन्द्र मशालबीच ०६५ पुसमा एकतापछि पार्टीको नाम एकीकृत नेकपा माओवादी

– माओवादी समूहका विभिन्न १० घटकको एकतापछि ६ जेठ ०७३ मा माओवादी केन्द्र

– माओवादी केन्द्र र एमालेबीच एकतापछि ३ जेठ ०७५ मा नेपाल कम्युनिस्ट पार्टी नेकपा

– सर्वोच्च अदालतले २३ फागुन ०७७ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता बदर हुने गरी फैसला दिएपछि एमाले र माओवादी केन्द्र अस्तित्वमा

– २६ फागुन ०७७ को माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नाम परिवर्तनबारे छलफल सुरु, उपयुक्त समयमा नाम परिवर्तन गर्ने प्रचण्डको भनाइ

प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते शुक्रवार