• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

ओलीले बोलाए माधब-झलनाथ सहित केन्द्रीय कमिटी बैठक


काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक चैत १ गते बस्ने भएको छ। वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको माग गरिरहेका बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले चैत १ गतेका लागि बैठक

बोलाएका हुन्।ओली समूहका केन्द्रीय कमिटी सदस्य बिशाल भट्टराईले १ गतेका लागि बैठक बोलाइएको जानकारी दिए। ओलीले बालुवाटारमै केन्द्रीय कमिटी बैठक बोलाएका हुन्। ‘अहिलेसम्म बालुवाटारमै बैठक बस्ने भन्ने छ। समसामयिक परिस्थितिका बारेमा छलफल गर्न आवश्यक भएकाले बैठक बस्न लागेको हो,’ भट्टराईले भने। बैठकका एजेण्डा भने तय भइसकेको छैन। नेपाल-खनाल समूह फेरि एमालेमै फर्किएको सन्दर्भमा पार्टी पुनर्मिलनबारे बैठकमा छलफल हुने छ। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपामा विवाद भएपछि पार्टी अध्यक्ष प्रचण्ड र नेपाल-खनाल मोर्चा बनाएर ओलीविरुद्ध उत्रिएका थिए। अदालतले नेकपाको नाम विवाद सुल्झाउँदै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि नेताहरु पुरानै पार्टीमा फर्किएका हुन्।

नेकपा एमालेमा २ सय ५ सदस्यीय केन्द्रीय कमिटी छ। जसमध्ये ९० जना नेपाल-खनाल समूहका छन्। उपाध्यक्ष वामदेव गौतमसहित ३ जना तटस्थ बसेका छन् भने विद्यादेवी भण्डारी राष्ट्रपति भएपछि एक उपाध्यक्ष पद रिक्त छ। यसअघि पार्टी वरीयतामा खनालभन्दा नेपालललाई एक स्थान तल राखेपछि नेपाल समूहले विरोध जनाएको थियो।

अदालतको पैसलापछि ओली पनि एमालेमा फर्किएकोले आफूलाई मात्रै एमालेमा फर्किएको भन्न नमिल्ने अडानमा नेपाल समूह छ। तर ओली समूहका नेताले भने प्रधानमन्त्रीलाई हटाउने गतिविधि गरेको, अहिले पनि गुटगत गतिविधि गरेको भन्दै नेपाल-खनाल समूहसँग रुष्ट बन्दै आएको छ।नेपाल समूहले पार्टीलाई एक ढिक्का बनाउन मुख्य जिम्मेवारी ओलीको रहेको भन्दै सबैले बैठकमा आत्मालोचना गर्नुपर्ने अडान राख्ने तयारी गरेको छ।

नेपाल समूहले यसका लागि आफ्नो पक्षको स्थायी कमिटीमा छलफलसमेत गरेको थियो। नेपाल समूहको गतिविधिमाथि ओली समूहले गुटगत गतिविधि सञ्चालनको आरोप लगाउँदै आएका छन्। ओली समूहका अहिलेका गतिविधि पनि पार्टीको नीतिनियम विपरित भएको नेपाल समूहका नेताहरुले आरोप लगाएका छन्।

प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते शुक्रवार