• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

माधव नेपालहरुले एमाले कब्जा गर्छन्, नभए विद्रोह : प्रचण्ड


बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपालहरुले एमाले कब्जा गर्ने वा विद्रोह गर्ने अवस्था आउने दाबी गरेका छन् । संसद विघटनपछि नेकपा विभाजित हुँदा प्रचण्ड र माधव समूह एकातिर भएका थिए । तर सर्वोच्च अदालतले नेकपा

खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँताएपछि माधव नेपालहरु एमालेमा छन् भने प्रचण्डहरु माओवादी केन्द्रमा ।तर माधव नेपालहरु अहिले पनि कम्युनिस्ट एकताका लागि पहल गर्नुपर्छ भन्नेमा रहेका प्रचण्डले बताए । शुक्रबार बुटवलमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले एमालेका नेताहरुलाई पार्टीमा तानेर ल्याइहाल्ने हतार नगर्न निर्देशन दिए । यसमा केन्द्रमा पिन्च पर्न सक्ने भन्दै उनले भने, ‘फेरि एकतातिर लैजानुपर्छ भन्ने भएकाले पूर्व एमालेका जिम्मेवार कमरेडहरु फर्किएर एमालेमा जान्नौं भन्नुभयो भने हेडक्वाटरसँग सल्लाह गरेर मात्र टुंग्याउनुहोला ।’उनले एमाले यही स्थितिमा रहन नसक्ने दाबीसमेत गरे । ‘या त माधवजीहरुले छिट्टै एमाले कब्जा गर्ने र केपी ओलीलाई हटाउने स्थिति हुन्छ,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘होइन भने माधवजीहरुले विद्रोह गर्ने स्थिति बन्छ ।’माधव नेपालहरुले एमालेबाट विद्रोह गरे मिलेर आन्दोलनकारी शक्ति बनाउने उनले बताए ।

यद्यपि अहिले आफूहरुको जोड पार्टीलाई संगठित गर्ने र आफ्नै खुट्टामा उभिने भनेको उनले बताए । त्यसका लागि अब आफू पनि काठमाडौंमा कम बस्ने, जिल्ला–जिल्लामा जाने उनले सुनाए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अघि भने, ‘दुई–तीन वर्ष दुःख गर्ने हो भने एक नम्बर पार्टी बन्नसक्छ, त्यो तागत अझै हामीसँग छ ।
बादलहरुलाई प्रचण्डको सन्देश : माओवादीमा फर्किनुपर्दैन, उतै बसे हुन्छ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साविकको नेकपामा ओलीतिर लागेका नेताहरुलाई फकाउन नलाग्ने बताएका छन् ।

साविकको नेकपा दुई खेमामा विभाजित हुँदा माओवादी पृष्ठभूमिका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापालगायतका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका थिए । सर्वोच्च अदालतले पार्टी एकता नै खारेज गरेपछि उनीहरु माओवादी केन्द्रमा फर्किएका छैनन् । शुक्रबार बुटवलमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले उनीहरुलाई फकाउन नलाग्ने बताएका छन् । विगतमा बिग्रिएका, भत्किएकाहरुलाई फकाउँदा हुन्छ कि भन्नु आफ्नो गल्ती भएको भन्दै उनले भने, ‘यत्रो बदमासी गरेकालाई ल्याएर गृहमन्त्री बनाएर त … (हलमा हाँसो) । बाबुरामजीसँग वैचारिक संघर्ष भयो । जे होस टोपबहादुरजीले साथ दिनुभयो भनेर सब गरेँ भन्दा त यो गति ।’

‘अरु त अरु, दुई जना मान्छे नभएकालाई स्थायी समिति बनएको त अहिले मन्त्री’ प्रचण्डले अघि भने, ‘के गरेँ भनेर अहिले आफ्नै आत्मसमीक्षा गर्न थालेको छु । त्यस्तालाई भन्दा दृढतापूर्वक लड्ने र प्रचण्ड बनाउन भूमिका खेल्ने आफ्नै साथीहरुलाई भरोसा गरेको भए यो दिन देख्न पर्दैनथ्यो नि भन्ने महसुस भएको छ ।’ साथै उनीहरुलाई फकाउन मन लाग्न छाडेको उनले सुनाए । कतिपयले तपाईंले फकाउने हो भने फकिन्छन् नि भनेर सुनाउने गरेको भन्दै प्रचण्डले भने, ‘भो ती फर्किन परेको छैन, उतै बसे हुन्छ । यहाँ आएर रोए भने म पग्लिन्छु भन्ने डर छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते शुक्रवार